logo
२०८१ बैशाख १४ शुक्रवार



ज्येष्ठ नागरिकको भवनमा नगरपालिका कार्यालय सञ्चालन

खुला |
प्रदेश |


ज्येष्ठ नागरिकको भवनमा नगरपालिका कार्यालय सञ्चालन


जनार्जन खत्री
सर्लाही, चैत १४ गते । सर्लाहीको लालबन्दी नगरपालिका –८, मा निर्माण गरिएको ज्येष्ठ नागरिक भवनमा नगरपालिका कार्यालय राखिएको छ । सहाराविहीन ज्येष्ठ नागरिकलाई संरक्षण दिएर राख्ने उद्देश्यले निर्माण गरिएको सो भवनमा नगरपालिकाको कार्यालय राखिएको हो ।

सङ्घीय सरकारले छ करोडमा ठेक्का आह्वान गरेकोमा निर्माण कम्पनिले तीन करोड ८२ लाख रुपियाँमा नै ठेक्का सकार गरी केही महिनाअघि ज्येष्ठ नागरिक आवासगृह भवन निर्माण पूरा गरेको थियो । ठेकेदारले भवन हस्तान्तरण गरेको महिनौँसम्म पनि कुनै प्रयोजनमा नआएकाले नगरपालिकालाई भवन अभाव भइरहेको अवस्थामा कार्यालय सारिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले बताउनुभयो ।

नगरपालिकाभित्र वडा २ जुटपानीमा पहिलेदेखि वृद्धाश्रम रहेको र सो आश्रमलाई नगरपालिकाले सहयोग गरेर सञ्चालनमा ल्याएकाले नवनिर्मित ज्येष्ठ नागरिक भवनलाई नगरपालिकाको कार्यालयका लागि प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले बताउनुभयो ।

प्रयोगमा नल्याउँदा भवन झनै खराब हुने भएपछि नगरपालिका कार्यालय राखिएको प्रशासकीय अधिकृत तिमल्सिनाको भनाइ छ । “हामीसँग जुटपानीमा पहिलेदेखि आश्रम छ, त्यहाँ नगरले सहयोग गरिरहेको छ, त्यसैले वृद्धवृद्धालाई राख्ने ठाउँको अभाव छैन्,” प्रशासकीय अधिकृत तिमल्सिनाले भन्नुभयो, “नगरपालिकाको वडा ४ हरिभवनमा निर्माण भएको अर्को ज्येष्ठ नागरिक भवन अलपत्र भएको देखेर वडा ८ को भवन पनि अलपत्र हुन नदिन नगरपालिका कार्यालय सारेका हौँ ।”

पूर्व–पश्चिम राजमार्गस्थित बजारमा रहेको नगरपालिका कार्यालयका सामग्री अहिले वडा ८ स्थित नयाँ भवनमा सार्ने क्रम भइरहेको छ । नगरप्रमुख मानबहादुर खड्काले गाविस कार्यालयको पुरानो र अत्यन्तै साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भइरहेको अवस्थामा प्रयोगमा नआएको ज्येष्ठ नागरिक भवनलाई नगरपालिकाको नयाँ भवन निर्माण नहुञ्जेल प्रयोग गर्ने निर्णय भएको बताउनुभयो ।
नगरप्रमुख खड्काले नगरपालिका भवन निर्माण नहुञ्जेल ज्येष्ठ नागरिक भवनमा कार्यालय राखिने बताउनुभएको छ । “भवनलाई प्रयोगविहीन राख्नुभन्दा नगरपालिकाको कार्यालय राखेर भए पनि प्रयोगमा ल्याएका हौँ, नगरपालिकाको आफ्नै भवन भएपछि यहाँबाट पनि हट्छौँ,” नगरप्रमुख खड्काले भन्नुभयो ।

नगरपालिकाको शिक्षा, कृषि र पशु शाखाबाहेक नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतको कक्षसहित अन्य सबै शाखाहरु नयाँ भवनमा सारिएको छ । वडा ८ को वडा कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखा पनि नजिकै रहेको नगरपालिकाकै अर्को दुईवटा नयाँ भवनमा सारिएको नगरपालिकाका प्रवक्ता एवं वडा ८ का वडाध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

“हस्तान्तरण भएको महिनौँसम्म पनि भवन प्रयोग हुन सकेको थिएन्, कम्तीमा नगरपालिका कार्यालय बसेर भए पनि भवनको प्रयोग हुनु राम्रै हो,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “नगर कार्यपालिकाको बैठकबाट कार्यालय सार्ने निर्णय गरेका हौँ ।”

लालबन्दी नगरपालिकाको ८ मा निर्माणाधीन भवन भने वर्षौदेखि अलपत्र रहेको छ । नगरपालिकाको भवन निर्माण गर्ने ठेक्का पाएका ठेकेदार ५० लाख रुपियाँभन्दा बढी भुक्तानी लिइसकेको छ । ठेकेदार सम्पर्कमा नआएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  परेकाले नगरपालिकाको भवन निर्माणकार्य अलपत्र परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?