logo
२०८१ बैशाख १२ बुधवार



धनुषामा गहुँ उत्पादनमा कमी आउने

खुला |
प्रदेश |


धनुषामा गहुँ उत्पादनमा कमी आउने


विजयकुमार साह
ढल्केवर, चैत १५ गते । धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा यस वर्ष कमी आउने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।

जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँ बालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन मात्र गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताउनुभयो ।

यद्यपि उहाँले गहुँ बाली खेतमै भएकाले यति नै उत्पादन हुन्छ भनेर भन्न नसिकने भन्नुहुँदै किसानले घर भित्रियाएपछि मात्र तथ्याङ्ग आउने बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख साहले भन्नुभयो, “हिउँदे खेतीअन्तर्गत किसानले गरेको गहुँबालीमा मल छर्ने बेलामा रासायनिक मलको चर्को अभाव भएको थियो ।” उत्पादन बढाउन बोटविरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा किसानले मल नपाएका कारणले पनि गहुँ उत्पादनमा कमी आउने उहाँको भनाई छ ।

माघको हिउँदे वर्षाले शहीद, सबैला, कमला र नगराइन नगरपालिकालगायत जिल्लाको दक्षिणी बेल्टका किसानले लगाएका गहुँबाली धेरै दिनसम्म डुबानमा परेकाकारण पहेँलो भएर क्षति पुगेको छ । जिल्लाको उत्तरी भू–भाग तथा सिँचाई सुविधा नपुगेको सुख्खा क्षेत्र मिथिला, गणेशमान नगरपालिका र बटेश्वर गाउँपालिकामा लगाइएको गहुँ बालीलाई फाइदा पुगेको किसानको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?