logo
२०८१ बैशाख ७ शुक्रवार



सुनसरीमा राष्ट्रिय कृषि गणना शुरु हुँदै

खुला |
प्रदेश |


सुनसरीमा राष्ट्रिय कृषि गणना शुरु हुँदै


जयकृष्ण यादव
इनरुवा, चैत १६ गते । सुनसरीमा राष्ट्रिय कृषि गणना शुरु हुनेभएको छ । तयारी स्वरुप सरोकारवाला निकायसँग छलफल सुरु गरिएको जिल्ला तथ्याङ्क कार्यालय सुनसरीले अभिमुखीकरण कार्यक्रममार्फत जानकारी गराएको छ । गणना आगामी शनिबारबाट गरिने आयोजकले बताएको छ ।

कार्यक्रममा कृषि गणनामा समेटिने विषयवस्तुबारे छलफल गरिएको कार्यालय प्रमुख सुभाष अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको बिषयमाथि जानकारी गराउदैँ तथ्याङ्क कार्यालय प्रमुख अधिकारीले तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन छनौट विधिबाट राष्ट्रिय कृषि गणना गर्न लागेको बताउनुभयो ।

गणनामा स्थानीय तह तथा प्रदेशको कृषि तथ्याङ्क उपलब्धता हुनेगरी गणना गरिने छ अधिकारीले भन्नुभयो । ‘विभिन्न प्रदेशसँगै स्थानीय तहमा समेत प्रश्नावलीबारे सुझाव सङ्कलन गरिने उहाँले जानकारी गराउनुभयो । नेपालमा २०१८ देखि हरेक दश वर्षमा हुँदैआएको राष्ट्रिय कृषि गणना २०७८ सातौं पटक हुन लागेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार राष्ट्रिय कृषि गणना २०७८ मा ‘महिलाको नाममा जग्गा, कृषिमा प्रयोग भएको विषादीको प्रकार, च्याउखेती, पुष्पखेती, माछा तथा मौरीपालनको तथ्यांक पहिलो पटक संकलन गर्न लागिएको छ ।

यसका साथै कृषि बीमा र अनुदान, भूकम्पीय क्षति, जलवायु परिवर्तनका असर, कृषि कामदार, हाटबजार लगायतको तथ्याङ्क गणनामा समावेश गरिने जनाएको छ । कृषि गणनामा जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता सङ्ख्या, जग्गाको उपभोग एवं उपयोग, सिँचाइको अवस्था, मलखाद तथा बीउबिजनको प्रयोग, पशुपन्छीको सङ्ख्या लगायतलाई समेटिने अधिकारीको भनाइ छ । कृषि क्षेत्रको नीति, कार्यक्रम, योजना, बजेटका बिषयमा कृषि गणनाले सहयोग गर्नेछ ।

कृषि गणनामा कृषक परिवारको लगत, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली रहने बताइएको छ । सामुदायिक प्रश्नावली कृषि क्षेत्रबारे घर–घरमा गएर तथ्याङ्क सङ्कलन गरिनेछ । अधिकारीका अनुसार तराई मधेस क्षेत्रमा आठ धुर जग्गामा कृषि खेती गर्ने वा कम्तीमा एउटा गाई वा भैंसी वा पाँचवटा भेडा वा बाख्रा पाल्नेलाई कृषक मानेर तथ्यांक सङ्कलन गर्ने तयारी भएको अधिकारीको भनाई छ ।

जिल्ला समन्वय समितिका अधिकारी त्रिलोचन न्यौपानेले प्रत्येक दश वर्षमा गणना गरिदैँआएको बताउदैँ यस पटकको गणना सफल बनाउन सबैको समन्वय आवश्यक भएको बताउनुभयो । नेपाल कृषिप्रधान देश भएको भन्दै उहाँले कृषि क्षेत्रको विकासका लागि गणनाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कृषि क्षेत्रको परिवर्तन र विकासका लागि यो गणनाको कामले भूमिका खेल्नेछ, उहाँले भन्नुभयो ।

हाल परम्परागत रुपमा कृषि गर्दैआइएको भन्दै उहाँले व्यवस्थित तरिका सोँच्न आवश्यक देखिएको बताउनुभयो । कृषिमा सबैले खासै मेहनत गरेको देखिदैँन, व्यवस्थित तरिकाले कृषि नगर्दा कृषि पेशाबाटै आम्दानी लिने कम छन् उहाँले भन्नुभयो । चुनौतीसँगै अवसर र सम्भावना छन्, उहाँले भन्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले कृषि गणना नीति योजना कार्यक्रम र बजेटिङको मुख्य जग भएको बताउनुभयो । हरेक कुरामा सूचना प्रमुख विषय भएको भन्दै हालको कृषि अवस्थाको सूचनाको काम तथ्याङ्कले गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?