logo
२०८१ बैशाख ६ बिहीवार



निर्वाचन लड्ने तयारीमा कैलालीका महिला जनप्रतिनिधि

खुला |
प्रदेश |
समाज |


निर्वाचन लड्ने तयारीमा कैलालीका महिला जनप्रतिनिधि



चाँदनी आचार्य
घोडाघोडी (कैलाली) चैत १७ गते । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा कैलालीमा स्थानीय तहका अधिकांश महिला जनप्रतिनिधिले आगामी चुनावमा उम्मेदवार बन्ने बताएका छन् । कैलालीका १३ वटै स्थानीय तहमा उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक कार्यकाल बिताइरहेकाले कार्यकाल सकिनै लाग्दा पुनः चुनाव लड्ने बताएका हुन् । शुरुको कार्यकाल र नयाँ अभ्यास भएको बताउने उनीहरुले पाँच वर्षमा गर्न नसकिएका कार्यहरुलाई अर्को कार्यकालमा पूरा गरेर देखाउने भन्दै चुनावको तयारीमा जुटेको बताएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव जितेर गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी कमलाकुमारी ओझाले आगामी निर्वाचनमा उपप्रमुख पदका लागि पार्टीमा लबिङ गरेको बताउनुभयो । वडाध्यक्ष ओझाले भन्नुभयो ‘अधुरा योजना पूरा गर्न पनि एक कार्यकाल अझै चुनाव लड्ने सोच बनाएकी छु ’। उहाँले उपमेयरमा दावी गरे तापनि पार्टीको निर्देशनानुसार पुनः वडा अध्यक्षमा लड्नुपरे पनि दोहोरिने सोच बनाएको बताउनुभयो।

गौरीगङ्गा नगरपालिकामा ११ वटा वडा मध्ये २ वटा वडामा महिला वडाअध्यक्षले नेतृत्व गर्नुभएको छ । उहाँले पनि नगरपालिकाको उपप्रमुख पदमा आगामी चुनावमा उम्मेदवारी दिने सोच बनाउनुभएको छ । वडा अध्यक्ष विष्टले भन्नुभयो ‘आकाङ्क्षी धेरै छन्, यही पद भन्ने नभए पनि पार्टीले जित्नसक्ने उम्मेदवार छनाेट गर्नेछ, पार्टीले गरेको निर्णयलाई मान्य हुनेछ’।

कैलालीको पूर्वी क्षेत्रमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर ५को वडाध्यक्ष माया विष्ट हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले पनि आउने चुनावमा उम्मेदवारी दिने बताउनुभयो । वडाध्यक्ष विष्टले भन्नुभयो ‘पहिलो कार्यकालमा वडामा धेरै काम भएका छन्, बाटो नपुगेको ठाउँमा बाटो पुगेको छ, ग्राभिल सडक पिच भएको छ, धेरै धुलाम्मे सडक ग्राभिल भै चौडा भएका छन्,भौतिक विकास भए पनि सामाजिक विकास भने धेरै हुनसकेको छैन त्यसका लागि पनि दोहोरिने तयारीमा छु ।’

अधिकांश पालिकामा उपप्रमुखहरु प्रमुख र वडाअध्यक्ष महिलाहरु उपप्रमुखमा चुनाव लड्ने बताए पनि भने जस्तो नभएमा पार्टीले निर्देशन गरेमा यथावत पदमा पुनः चुनाव लड्ने मनसाय बनाएको बुझिएको छ ।

बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती डंगौराले आउदो चुनावमा गाउँपालिकाको अध्यक्ष पदमका लागि पार्टीमा भनसुन गरेको बताउनुभयो । उपाध्यक्ष भएर गाउँपालिकामा धेरै काम गरे पनि समान भौतिक पूर्वाधार विकास, सुशासन र नमुना गाउँपालिका बनाउन आफ्नो उम्मेदवारी रहने उपाध्यक्ष डंगौराले बताउनुभयो । ‘गाउँपालिकामा कर्मचारी अनुशासन, भ्रष्टाचार हटाउन र सुशासन कायम गर्न महिलाको नेतृत्व आवश्यक छ, चुनावमा अध्यक्ष पदको दावी गरेको छु’ उपाध्यक्ष डंगौराले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?