logo
२०८१ बैशाख १३ बिहीवार



गाउँ पसेको चितुवाको पासोमा परेर गयो ज्यान

खुला |
प्रदेश |


गाउँ पसेको चितुवाको पासोमा परेर  गयो ज्यान



चाँदनी आचार्य
घोडाघोडी(कैलाली), चैत १७ गते । कैलालीमा आहारा खोज्दै गाउँ पसेको चितुवा पासोमा परेर मरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेर चितुवा मरेको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

सब डिभिजन प्रमुख विश्वराज पण्डितले बिहीबार बिहान चितुवा पासोमा परेको खबर आउनसाथ आफूहरु घटनास्थल पुगेको र उद्धारको प्रयास गरेको बताउनुभयो ।
जिउँदै अवस्थामा रहेको चितुवा उद्धारमा थप सहयोग चाहिने भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराबाट उद्धार टोली बोलाइएको थियो । टोलीले उद्धार गर्न नपाउँदै चितुवा मरेको प्रमुख पण्डितले जानकारी दिनुभयो ।

गाउँमा उक्त चितुवाले बङ्गुर खाएर फर्किने क्रममा पासोमा परेको जनाइएको छ । सोही गाउँमा चितुवाले कुकुर बाख्रालाई समेत आक्रमण गरेको स्थानीयको भनाइ छ ।
मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाड्ने तयारी भएको जनाइएको छ ।

उक्त पासो कसले के प्रयोजनका लागि राखेको हो, सो विषयमा अनुसन्धान गरिने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताउनुभयो ।

त्यस क्षेत्रका सामुदायिक वनमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् । दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर थाह्रा सामुदायिक वन र मौहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?