logo
२०८० चैत्र १५ बिहीवार



पुनहिलमा आन्तरिक पर्यटकको भीड

खुला |
प्रदेश |
पर्यटन |


पुनहिलमा आन्तरिक पर्यटकको भीड


ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १७ गते । पाखाभरी लालिगुँरास फुलेर राताम्मै भएको म्याग्दीमा आन्तरिक पर्यटकको भीड लागेको छ । वरिपरि हिमशृङ्खलाको लहरले पर्यटकलाई लोभ्याउने गरेको छ । पहाडको टुप्पो पुनहिल प्रख्याल पर्यटकीय स्थल हो । पर्यटकीय सिजन सुरु भएसँगै घोडेपानी र पुनहिलमा पर्यटक पुग्न थालेपछि स्थानीय खुशी भएका छन् ।

अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेपछि होटलव्यवसायीहरु उत्साहित बनेका छन् । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय सिजन सुरु भएसँगै पर्यटकको आगमनले व्यवसायीलाई राहत मिलेको छ ।

पाखाभरी फुलेको लालिगुँरासमा फोटो खिचाउन, टिकटक बनाउन र हिमालको दृश्यावलोकन गर्न यतिबेला यहाँ आन्तरिक पर्यटकको भीड लाग्नेगरेको छ । हप्ताको शुक्रबार र शनिबार सरकारी कर्मचारी र विद्यार्थीको भीड लाग्ने गरेको छ । बेनी, पर्वत, काठमाडौंं, पोखरा लगायतका ठाउँबाट आन्तरिक पर्यटक विदा मनाउन घोडेपानी र पुनहिलको भ्रमण गर्न आएपछि यहाँ चहलपहल बढेको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र कोरोना संक्रमणमा कमी भएसँगै म्याग्दी र मुस्ताङ घुम्न आउने विदेशी तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । विदेशी पर्यटक आउनेक्रम बढेसँगै जिल्लाका पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् ।

पर्यटकको संख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण संकटमा परेका होटेल तथा पर्यटन व्यवसायीमा आशा पलाएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरन पुनले बताउनुभयो । पछिल्ला केही हप्ता घोडेपानी र पुनहिलमा पर्यटकको आगमन वृद्धि भएसँगै उत्साह थपिएको उहाँले बताउनुभयो ।

गतबर्षको चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो उहाँले भन्नुभयो, ‘अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनायो, यसपाली कोरोनाको संक्रमण केही घटेकाले पर्यटक आउन थालेका हुन ।’

समुन्द्री सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, बिभिन्न हिमाल र लालीगुँरासको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गरेको स्थानीयको भनाई छ। ‘म पहिलो पटक पुनहिलमा आएको हुँ, निकै राम्रो लाग्यो बिहानको सुर्योदय र वरपर टलक्क टल्किने हिमालले मन नै लोभ्यायो’ बेनीदेखि पुनहिल पुग्नुभएकी म्याग्दी बहुमुखी क्याम्पसकी छात्रा सुजता बरुवालले भन्नुभयो ।

चैत–वैशाख महिनामा यहाँका वरपरका पाखामा फूलेका लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिने व्यवसायीको भनाई छ । यहाँ १६ प्रजातिका लालीगुँरास पाईन्छ । घोडेपानीमा स्वदेशी पर्यटकलाई आकर्षित गर्न होटल बसाईमा सहुलियत व्यवस्था गरेको व्यवसायीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?