logo
२०८१ बैशाख १४ शुक्रवार



जनजातिका नमुना गाउँले दर्शक लोभ्यायो

खुला |
प्रदेश |


जनजातिका नमुना गाउँले दर्शक लोभ्यायो


अमरराज नहर्की
तनहुँ, चैत १७ गते । आठौं तनहुँ महोत्सवमा पदर्शन गरिएको जनजाति नमुना गाउँले दर्शकलाई लोभ्याएको छ । महोत्सव परिसरमा राखिएको जनजाति नमुना गाउँमा निर्माण गरिएका आदिवासी जनजातिको नमुना घरहरु राखिएकाले दर्शकको मन जितेको हो । लोपोन्मूख घरमा बसेर फोटो खिच्ने टिकटक बनाउनेको भिड लाग्नेगरेको छ ।

आदिवासी जनजातीको मौलिक घरहरु मासिँदै गएकाले नमुना घर देख्दा स्थानीय दङ्ग परेर फोटो खिचाइरहेको आदिवासी जनजाति जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले बताउनुभयो । पहिलो दिन चैत १० गते दश हजारभन्दा बढी दर्शकले नमुना घरको अवलोकन गरेको र बिहीबार सम्ममा एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घले जनाएको छ । मगर, गुरुङ, दरै, बोटे र कुमालको नमुना घरहरु महोत्सवमा प्रदर्शन र अवलोकनका लागि राखिएको छ ।

गुरुङ समाज दमौलीका अध्यक्ष ढक्कलबहादुर गुरुङले ४० हजार रुपियाँमा आकर्षक घर निर्माण गरिएको बताउनुभएकाे छ । दर्शकको मन घरले जितेकाले अवलोकन गर्नेको भीड लागेको उहाँको भनाइ छ । ‘परम्परागत घर निर्माण गरी प्राचीन सामग्रीहरु राखिएपछि दर्शक आकर्षित भएको उहाँले बताउनुभयो ।

विशेषगरी टिकटक बनाउने धेरै छन् अध्यक्ष गुरुङले भन्नुभयो । सोही समाजका सदस्य टार्जन गुरुङले पनि गुरुङको घर हेर्न दर्शकको भीड लाग्नेगरेको जानकारी दिनुभयो । सो घरको डिजाइनर आफै रहेको गुरुङले जानकारी दिनुभयो । परम्परागत उक्त घर ढुङ्गा, माटो, प्लाइउड, खर, भाटा र कपडाबाट निर्माण गरिएको उहाँले बताउनुभयो । ७ जनाले ४ दिन लगाएर सो आकर्षक घर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । बैरेनी दरै समाजले करिब ३५ हजार रुपियाँ खर्च गरी नमुना घर निर्माण गरेको जनाएको छ ।

बैरेनी दरै समाजका अध्यक्ष पुनबहादुर दरै, बैरेनी टोलका अध्यक्ष खमबहादुर दरै, वीरबहादुर दरै, भुपाल दरै, सिंहबहादुर दरै लगायतको सक्रियतामा घुमाउने घर निर्माण गरिएको छ । परम्परागत लोप हुँदैगएको घुमाउने घर निर्माण गरिएपछि दर्शकको रोजाइ बनेको छ । ढुङ्गा, बाटो, बाँस, चिमबाट निर्मित घुमाउने घरमा परम्परागत सामग्री राखिएकाे छ ।

नमुना घरहरु डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवका संयोजक पविन्द्रकुमार श्रेष्ठले जनजातिका घरबारेमा भावीपुस्तालाई जानकारी दिन र संरक्षण टेवा पु¥याउन मौलिक घरहरु दर्शकको रोजाइमा परेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?