सिराज खान
नेपालगञ्ज, चैत १८ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै बाँके प्रशासनले चैत मसान्तभित्र हातहतियार बुझाउन जिल्लावासीलाई निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचन भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यले वैध तथा अवैध हातहतियार बुझाउन निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिसकेको जानकारी दिनुहुँदै प्रजिअ खत्रीले जिल्लामा इजाजत प्राप्त र बिना इजाजतका हातहतियार नजिकैको प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको बताउनुभयो ।
खत्रीका अनुसार इजाजत पाएर वा बिना इजाजतका अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन दिइएको निर्देशन विपरित निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिनेछ ।
‘हामीले सूचना जारी गरि आफूलाई पाएक पर्ने प्रहरी मातहतका कुनै पनि एकाइमा बुझाउन आग्रह गरेका छौं,’ प्रजिअ खत्रीले भन्नुभयो, ‘निर्वाचनका समयमा वैध तथा अवैध हतियारको दुरुपयोग हुनसक्छ । त्यसैले हतियार बुझाउने सूचना प्रवाह गरेका छौं । समय अवधिभित्र नबुझाएको भेटिए कारबाही गरिनेछ ।’
बुझाइएका इजाजत प्राप्त हातहतियार स्थानीय तहको निर्वाचनपछि इजाजत प्राप्त व्यक्तिलाई फिर्ता गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि बताउनुभयो । उहाँले निर्वाचनमा विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार बुझाउन सूचना जारी गरिएको बताउनुभयो ।