logo
२०८० चैत्र १५ बिहीवार



पशु उत्पादनका लागि पकेट क्षेत्र छनाेट

खुला |
प्रदेश |


पशु उत्पादनका लागि पकेट क्षेत्र छनाेट


राजन रावत
हुम्ला, चैत १८ गते । एक गाउँपालिका एक पशु उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाभरिका छ वटा गाउँपालिका छनाेट भएर कार्यक्रा लागु भएको छ । बाख्रा पालन व्यवसायलाई व्यावसायिक रुपमा बिस्तार गर्न पकेट क्षेत्र छनाेट भएका हुन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढाथापाका अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एक गाउँपालिका एक पशु उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र छनाेट भएर कार्यक्रम लागु गरिएको छ ।

यसका लागि छ वटै गाउँपालिकाका लागि एक एकवटा वडाबाट सिमकोटमा ८२, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली गाउँपालिकामा ७० र ताँजाकोट गाउँपालिका ७१ घरधुरी छनाेट भएको उहाँले बताउनुभयो । छनाेट भएका सबै गाउँपालिका वडाका ४३३ घरधुरीलाई कार्यक्रमबाट प्रतिघरधुरी तीनवटा बाख्रा स्थानीय उपभोक्ता समितिबाट खरिद गरेर वितरण गरिने बताइएको छ । कार्यक्रमका नियमअनुसार गाउँपालिकाले केही प्रतिशत मिनाल कोषबापत बजेट हाल्नुपर्ने र त्यसका लागि अधिकांश गाउँपालिकाले सहमति जनाएकाले सङ्ख्यामा बृद्धि हुने बताइएको छ ।

बाख्रा पालन हुने गाउँपालिकामा बोकासमेत वितरण गरिनेछ । स्थानीय उपभोक्तासँग कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको कारण अब खरिद प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ । छनौट भएका सबै गाउँपालिका बाख्रा पालनका लागि राम्रो सम्भावना भएको र त्यसमा पनि कार्यालयले स्थलगत अध्ययन गरेर वडा छनाेट गरेको जनाएको छ ।

बहुवर्षीय योजना भएको कारण वडाका सबै घरधुरीलाई कार्यक्रमले समेट्ने विश्वास गरिएको छ । पहिले भेडाबाख्रा पालनका लागि हिमाली जिल्ला उपयुक्त भए पनि बिस्तारै त्यसमा कमी आउने क्रम जारी छ । यसलाई रोक्न र बाख्रा पालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन नयाँ कार्यक्रम सञ्चालन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?