logo
२०८१ बैशाख १२ बुधवार



सुझाव पेटिकाले बालबालिकालाई दुर्व्यबहारबाट जोगाउँदै

खुला |
प्रदेश |


सुझाव पेटिकाले बालबालिकालाई दुर्व्यबहारबाट जोगाउँदै


जानु पाण्डे
कपिलवस्तु, चैत १८ गते । दोस्रो पिरियड छोडेर सरला (नाम परिवर्तन गराएकी एक १५ वर्षीय बालिका) विद्यालयबाट बाहिरिनुभयो । विद्यालयबाट एक किलोमिटर टाढा परालको टौवामा उहाँ पुग्नुभयो । बालिकालाई एकान्तमा बोलाउँदै एक भारतीय नागरिक कुरेर बसेका रहेछन् । मामाघर आएका ती भारतीय युवाले बालिकालाई दुई सातादेखि प्रेमजालमा पार्ने प्रयासमा रहेछन् । सरलाको एक साथीले सरलामाथि भएको घटनाको सबै सूचना विद्यालयमा रहेको सुझाव पेटिकामार्फत विद्यालयलाई दिंदा सरलामाथि न्याय भयो ।

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानाध्यापकको पहलमा सुझाव पेटिकामा राखिएको गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्त सम्बोधनको प्रक्रियामा गएपछि सरलालाई भारतीय युवकको चङ्गुलबाट उन्मुक्ति मिल्यो । बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएपछि अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको एक विद्यालयले जनाएको छ ।

सरला मात्र होइन, विद्यालयमा सुझाव पेटिका राखेपछि कपिलवस्तुका बालिका विभिन्न प्रकारका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिएका छन् । ‘सरले कक्षामा केटीलाई जिस्काउनु हुन्छ । केटीको ढाडमा मुसारेर पिट्नु हुन्छ’ भनेर एक शिक्षकले छात्राप्रति गरेको दुव्र्यवहारको घटना विद्यार्थीले सुझाव पेटिकामार्फत प्रअसँग पुर्याएका थिए । विद्यालयले शिक्षकलाई घटनाको विषयमा सोधपुछ गरेपछि शिक्षकले गलत व्यवहार गर्न छाडेका छन् ।

शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी मा.वि.मा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको प्र.अ. लीला खनालले बताउनुभयो । नियमित रुपमा सुझाव पेटिकका सूचना हेर्न थालिएपछि बालबालिकाले उजुरी गर्नमा सहभागी हुन थालेको विद्यालयका शिक्षकको बुझाई छ ।

सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्वन्धित विद्यार्थी, अभिभावक, गुनासो सुनुवाई समिति राखेर समाधान गर्ने गरेको गुनासो सुनुवाई फोकल शिक्षक शान्ता अर्यालले बताउनुभयो । समयमै गुनासोको सुनुवाइ गर्दा हिंसाको जोखिमबाट मुक्त हुनुभएका विद्यालयको छात्रछात्राले धन्यवाद दिनेगरेको शिक्षकको भनाई छ ।

शुद्धोधन गाउँपालिका मा.वि.का फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा पुनः भर्ना गराउन सफलता मिलेको बताउनुभयो । शिवराज नगरपालिका ९ बानियाभारका प्रअ विक्रम केसीले २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै गुनासो पेटिका राखेको बताउनुभयो ।

युनिसेफ नेपाल र एजुकेशन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधिबारे प्रशिक्षण गरिएको थियो । एजुकेशन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्र.अ. र फोकल शिक्षकलाई गुनासो सुनुवाइ कार्यविधिको विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने विषयमा जानकारी भएको प्र.अ. केसीले बताउनुभयो ।

प्रअकाअनुसार विद्यालयमा अहिले २ स्थानमा गुनासो पेटिका राखिएको छ । एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा छ । गुनासो पेटिका गोप्यरुपमा खोल्ने गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई कुनै समस्या नपर्ने कुरामा विद्यालयले ध्यान दिनेगरेको उहाँको भनाई छ ।

सरस्वती मा.वि. सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीकाअनुसार गुनासो सुनुवाई समितिमा बाल समुहमार्फत बालबालिकाको सहभागिता भइरहेको छ । हाम्रा समस्या सुनुवाई भएको कक्षा ९ मा अध्ययनरत सचिवकुमार आलेले बताउनुभयो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पालिकाले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिका लाभान्वित भएको एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लबराज ओलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?