logo
२०८० चैत्र १६ शुक्रवार



जानकीनगर साझेदारी वनमा सालको रुख तस्करी

खुला |
प्रदेश |


जानकीनगर साझेदारी वनमा सालको रुख तस्करी


जनार्जन खत्री
सर्लाही, चैत १९ गते । सर्लाहीको जानकीनगर साझेदारी वनमा व्यापक रुपमा सालका रुखहरुको चोरी तस्करी बढेको छ । साझेदारी वनका पदाधिकारी र वनका कर्मचारीको मिलोमतोमा सालका रुखहरु कटान गरेर तस्करी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

रातारात वनका रुखहरु कटान भइरहँदा समेत वन कार्यालय र साझेदारी वनका पदाधिकारीहरु भने मौन बसेको स्थानीयको भनाइ छ । तस्करी भएको गुनासो आउँदा वन कार्यालयले गस्ती बढाएको छैन् । हरिपुर नगरपालिका –१, जानकीनगर र हरिवन नगरपालिका –६, घुर्कौलीको बीचमा रहेको करिव एक हजार दुई सय हेक्टरमा फैलिएको जानकीनगर साझेदारी वनमा यसरी तस्करले बारम्बार काँचो सालका रुख कटान गरेर लाने गरेको स्थानीयवासीको भनाइ छ ।

तस्करले सालका रुख काटेर टुना बनाई साइकल, ट्याक्टर, टायरगाढा लगायतका साधनमा लोड गरेर चोरी तस्करी गर्दै आइरहेको स्थानीयको भनाइ छ । वन क्षेत्रमा गस्ती नभएकै कारण यसरी चोरी तस्करी मौलाएको हरिपुर नगरपालिका –१, जानकीनगरका एक स्थानीयले बताउनुभयो । सम्वन्धित निकायको मिलेमतोमा काठ तस्करी मौलाएको उहाँले आरोप लगाउनुभयो ।

“वन कर्मचारी र साझेदारीका पदाधिकारीको सहमतिबिना काठ तस्करी सम्भव नै छैन्,” नाम नबताउने शर्तमा उहाँले गोरखापत्रसँग भन्नुभयो, “सहज स्थानमा पनि गस्ती नगर्नु र जङ्गलको काठ चोरी तस्करी हुनुमा कर्मचारी अनि पदाधिकारीको मिलेमतो रहेको स्पष्ट हुन्छ ।” घुर्कौलीतर्फको जङ्गलमा अहिले जताततै सालका रुखहरु कटान भएको ठूटा भेटिन्छन् ।

तस्करले सालका टुना बनाइ साइकलमा ओसारेर सुरक्षित स्थानमा पुर्याउने र ट्याक्टर तथा टायरगाडामा लोड गरेर लाने गरेको स्थानीयहरु बताउँछन् । जङ्गलबाट ल्याइएका सालका टुना घर तथा सुरक्षित स्थानमा लुकाएर राख्ने र पछि त्यसको फल्ली बनाई महँगोमा बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

जङ्गल छेउछाउका बस्तीकै स्थानीयहरु यस कार्यमा संलग्न छन् । जानकीनगर साझेदारी वनका अध्यक्ष रामविश्वास रायले पर्याप्त वन हेरालु राख्न नसक्दा तस्करी नियन्त्रण गर्न नसकिएको बताउनुभयो । साझेदारी वनले अहिले तीन जना वन हेरालु राखेको छ । “यसअघि नौ जना वन हेरालु थिए, प्रदेशको वन मन्त्रालयबाट बजेट आउन छाडेपछि अरुलाई हटाएर अहिले तीन जना मात्रै राखेका छौँ,” वनका अध्यक्ष रायले भन्नुभयो, “पर्याप्त वन हेरालु नभएकै कारण पछिल्लो समय काठ चोरी तस्करी बढेको छ ।”

रायले वन तस्करीमा आफूहरुको संलग्नता अस्वीकार गर्नुभएको छ । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले जानकीनगर वनक्षेत्रमा तस्करी बढेको गुनासो आफूकहाँ पनि आएको बताउनुभएको छ । झाले सबडिभिजन वन कार्यालय जानकीनगरलाई गस्ती बढाउन निर्देशन दिएको बताउनुभयो । तर जानकीनगरको सवडिभिजन वन कार्यालयले भने कर्मचारी अभावको कारण देखाउँदै वन तस्करी हुँदा गस्ती बढाउन चासो देखाएको छैन् ।

“कर्मचारीको अभाव देखाएर जिम्मेवारीबाट पन्छिन पाइँदैन्,” डिभिजन वन प्रमुख झाले भन्नुभयो, “तस्करीको अत्यधिक गुनासो आएपछि मैले गस्ती बढाउन निर्देशन दिइसकेको छु, आफैँले पनि निगरानी गरिरहेको छु” डिभिजन वन प्रमुख झाले एक साताअघि जानकीनगर क्षेत्रबाट तस्करी हुँदैगरेको एक ट्याक्टर काठ नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?