काठमाडौँ, चैत २० गते । एक सातादेखि धुम्म भएको अझै दुई सातासम्म खुल्ने सम्भावना न्यून रहेको वातावरणविद्हरुले जनाएका छन् । पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले एक सातादेखि वायुमण्डल हलचल गर्न नसकेको वैशाखसम्मै आकाश धुम्म रहने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो
तराई र पहाडी भूभागका मुख्य शहरहरुको तल्लो तहसम्म प्रदूषण थिग्रिएर बसेकोका कारण आकाश खुल्ला वैशाख नै लाग्न सक्ने पौडेलले जानकारी दिनुभयो । प्रिमनसुन समयभन्दा अगाडि भएकाले पानी पर्ने सम्भावना नभएको र स्थानीय वायुसमेत निष्क्रिय भएकाले वायु प्रदूषणको दर समेत उच्च बन्दै गएको उहाँले बताउनुभयो । सुख्खा मौसमका कारण धेरै स्थानमा डढेलो लाग्नाले वायुमण्डल प्रदूषित भएको महाशाखाले जनाएको छ ।
अहिले पोखरा, काठमाडौं र धनकुटामा वायु प्रदूषण उच्च भएको वातावरण विभागको तथ्याङ्कले देखाएको छ । यी सहरसँगै देशका मुख्यमुख्य सहरमा प्रदूषणको दर वृद्धि भएपछि सतर्कता अपनाउन विभागले अनुरोध गरेको प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदूषण वृद्धिले आकाश धुम्मिएसँगै आन्तरिक वायुसेवा प्रभावित बन्दै आएको छ ।
३१ वटा उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ । भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए ।