logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेका उत्कृष्ट निर्यातकर्ता उद्योगी व्यवसायी सम्मानित

खुला |
प्रदेश |


बाँकेका उत्कृष्ट निर्यातकर्ता उद्योगी व्यवसायी सम्मानित


सिराज खान
नेपालगञ्ज, चैत २० गते । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले भारत र तेस्रो देशमा जडीबुटी लगायतका सामग्री निर्यात गर्ने उद्योगी व्यवसायीलाई उत्कृष्ट निर्यातकर्ता घोषित गरेर सम्मानित गरिएको छ । आयात अत्यधिक बढेको अवस्थामा निर्यातलाई प्रमुख प्राथमिकता दिएर व्यापार घाटा कम गर्न सहयोग गरेको भन्दै सबैभन्दा बढी निर्यात गर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको संघले जनाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको २९ र ३० औं वार्षिक साधारणसभाको उदघाटन समारोहमा ती उद्योगी व्यवसायीलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरुमा तेस्रो देशमा सबैभन्दा बढी जडीबुटी निर्यात गर्ने जैन नेचुरबसका सञ्चालक प्रिन्सु जैन र सत्या इन्टरनेशनलका सञ्चालक रविन्द्रनाथ शुक्ला तथा भारतमा रोजिन निर्यात गर्ने उत्कृष्ट निर्यातकर्ता गङ्गा रोजिन एण्ड टरपेनटाइनका प्रबन्ध निर्देशक विष्णुप्रसाद घिमिरे हुनुहुन्छ ।

सोही प्रकारले उत्कृष्ट महिला उद्यमीका रुपमा मानस्वी खाद्य सप्लायर्सका सरिता चौधरी र उत्कृष्ट युवा व्यवसायीका रुपमा तीर्थबहादुर थापालाई पनि मन्त्री खड्काले कदरपत्रसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री खड्काले देशलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन निर्यातमूलक उद्योग व्यवसायलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

आयात घटाउँदै निर्यातलाई बढाउने सरकारको नीतिलाई निजी क्षेत्रले अङ्गिकार गरेर बढनु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा अधिकांश उद्योगी व्यवसायीले सरकारले उद्योगी व्यवसायमैत्री नीति नियमहरु निर्माण गर्नुपर्ने माग गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?