logo
२०८१ बैशाख ७ शुक्रवार



मस्र्याङदीका चारसय ४३ जनाले पाए रोजगार

खुला |
प्रदेश |


मस्र्याङदीका चारसय ४३ जनाले पाए रोजगार


बेलिना थापा
लमजुङ, चैत २० गते । लमजुङको मस्र्याङदी गाउँपालिकाका चारसय ४३ जना बेरोजगार व्यक्तिले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाले रोजगार पाएका हुन् ।

आर्थिक बर्ष २०७८–७९ को साउदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक नन्दराज गुरुङकाअनुसार उहाँहरुले न्यूनतम रोजगारी प्राप्त गरेका छन् । युवाहरु सय दिनका लागि काम पाएका हुन् । गाउँपालिकामा सूचिकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३ जना र महिला ९ सय ३७ जना छन् । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएको गुरुङले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेको बताइएको छ । १३ वटा योजना सम्पन्न भएको छ । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने, नाली निर्माणको काम गरेका छन् । केहीले सय दिन काम गरिसकेका छन् । केहीले काम गर्नेक्रममा रहेका छन् । एक जनाले दैनिक ५ सय ७७ रुपियाँका दरले पारिश्रमिक पाउँछन् । उहाँहरुले एकमुष्ट ५७ हजार ७०० रुपियाँ पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो ।

कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रुपियाँ रहेको छ । कामदारलाई आवश्यक सुरक्षित सामग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?