राजन रावत
हुम्ला, चैत २१ गते । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुुगुु हुम्ला जोड्ने एक सडक प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (-याप–थ्री)ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेलीदेखि हुम्ला जिल्लाको देउलीसम्म निर्माण सम्पन्न गरेको सडक खण्डलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
हुम्लास्थित चंखेली गाउँपालिका–१ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिङ्क रोडका टिम लिडर विष्णुराम विष्टले कणाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले निर्माण सम्पन्न भएको ३० किलोमिटर उक्त सडकको अपनत्व र जिम्मेवारी लिनका लागि हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमले मुगु जिल्ला सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो । जसमा मुगु खण्डको ३७ किलो मिटर सडक मध्य गमगढी–दर्खे २६ किलोमिटर र दर्खे–चंखेली ११ किलोमिटर सडक कणाली प्रदेश सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेको थियो । कार्यक्रमका टोली नेता विष्टले गमगढीदेखि देउलीसम्म सडक निर्माण सम्पन्न थर्न एक अर्ब ५७ करोड ८८ लाख ४६ हजार ८३३ रुपियाँ लागत लागेको बताउनुुभयो ।
उहाँका अनुुसार यो लागतलाई प्रति किलोमिटरमा हेर्दा प्रतिकिलोमिटर दुुई करोड ३५ लाख ६४ हजार ८७८ रुपियाँ लागत लागेको थियो । जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७ करोड १९ लाख ५१८ रुपियाँ र हुम्ला तर्फको ३० किलोमिटरमा ७० करोड ६९ लाख ४६ हजार ३६६ रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ । अर्ध मेसिनरी र पूर्ण जनताको सहभागितामा निर्माण भएको यो सडक निर्माण गर्दा चार लाख ८२ हजार २५३ जना पुरुष र तीन लाख २३ हजार ३२७ जना महिला गरि कुल आठ लाख पाँच हजार ५८० जना कामदारले प्रत्यक्ष रुपमा रोजगारी पाउनुभएको थियो ।
चङ्खेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले सडकको मापदण्ड पूर्ण रूपमा पालना गरेर निर्माण सम्पन्न गरेको यो सडक हस्तान्तरणपछि सरकारको व्यवास्ताका कारण मर्मत सम्भार नभएर जीर्ण हुँदै जाने हो कि भनेर आफूहरू चिन्तित भएको बताउनुुभयो । उहाँले अब कर्णाली प्रदेश सरकारले सडक नियमित सुचारु गर्न मर्मत सम्भारका लागि बजेटको व्यवस्था गर्न र जनशक्तिको नियमित व्यवस्था गर्नुपर्ने बताउनुुभयो । मुगु–हुम्ला लिङ्क सडकको गुणस्तर देख्दा सन्तुुष्ट रहेको, सडकको गुणस्तर कायम राख्न प्रदेश सरकारले आवश्यक काम गर्ने र मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई आवश्यक योजना पेश गर्ने कर्णाली प्रदेश सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रतिनिधि तथा विशेष अतिथि विशेष शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सडक सञ्चालनमा आएपछि औषधि उपचार गर्न, गाउँघरमा उत्पादित फलफूल, अन्न, जडीबुटी बिक्री गर्न मुगु सदरमुकाम गमगढी, सिमकोटलगायत विभिन्न जिल्लामा ढुवानी गर्न सहज भएको छ । सडक निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि मुगु–हुम्ला सडकमा पर्ने लुम खोला, दर्खे खोला, लेव्रा खोला र मेल्छाम खोलामा साना पुल बनाउने कार्य सम्पन्न नभएकाले यी पुल निर्माण भने ग्रामीण पहुँच कार्यक्रमले जारी राख्ने जनाएको छ ।