logo
२०८१ जेष्ठ ५ शनिवार



कपिलवस्तुमा इँट्टा बनाउँदै स्कुले बालबालिका

खुला |


कपिलवस्तुमा इँट्टा बनाउँदै स्कुले बालबालिका
फोटो : फाइल


चन्द्रौटा, चैत २१ गते । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँट्टा बनाउने साँचोमा हाल्न उनी व्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँट्टा बनाउन व्यस्त छन् ।

उनी विद्यालय र कापी किताबबारे अनभिज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इट्टा उद्योगमा इँट्टा बनाउने काम गर्छ । सकिल दिनभिर इँट्टा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँट्टा उद्योगमा परिवारसँगै उनीहरु पनि इँट्टा बनाउने गर्छन् ।

विद्यालय जाने उमेरका बालबालिका इँट्टा बनाउनमा व्यस्त देखिन्छन् । खासगरी भारतीय बालबालिका इँट्टा उद्योगमा मजदुरी गर्दैआएका छन् । भारतको बरेलीबाट सपरिवार मजदूरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँट्टा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए ।

नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँट्टा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । बालबालिकालाई काम गर्न लगाउने इँट्टा उद्योगको नवीकरण नगरिने उहाँ बताउनुहुन्छ । दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुहुन्छ । शिवराजसँगै महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाका इँट्टा उद्योगमा ४०० भन्दा बढी बालबालिका काम गर्छन् । शिवराज नगरपालिकाले इँट्टा उद्योगमा कार्यरत बालश्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीनमहिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?