logo
२०८१ बैशाख १३ बिहीवार



आगलागी घटना नियन्त्रणबारे कला प्रदर्शन

खुला |
प्रदेश |


आगलागी घटना नियन्त्रणबारे कला प्रदर्शन


शेरबहादुर राई
ओखलढुङ्गा, चैत २१ गते । ओखलढुङ्गामा आगलागी नियन्त्रणबारे कला प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायतले आगलागीका घटना न्यूनीकरण र नियन्त्रणसम्बन्धी सचेतनामूलक कला प्रदर्शन गरेका हुन् ।

सगरमाथा जनता माध्यमिक विद्यालयको खेल मैदानमा गरिएको सो प्रदर्शनमा आगलागी भइहालेमा ठूलो क्षति हुन नदिनेबारे कृतिम अभ्यास प्रदर्शन गरी नागरिकलाई सचेत गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुङ्गाको आयोजनामा अरिदमन गण ओखलढुङ्गाबाट कला प्रदर्शन गरिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र नेपाल रेडक्रस सोसाइटीले पनि आगलागी नियन्त्रण र क्षति न्यूनीकरणका विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

आगलागी भए कसरी छिटो नियन्त्रण गर्ने, आगोमा फसेकाको सफल उद्धार कसरी गर्ने, घाइतेको उद्धार र प्राथमिक उपचार गर्ने विधि प्रदर्शन गरिएको अरिदमन गण ओखलढुङ्गाका प्रमुख सेनानी ईमेशमेहर श्रेष्ठले बताउनुभयो । सुख्खा मौसममा आगलागीको घटना बढ्न थालेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, डिभिजन वन कार्यालय, सिद्धिचरण नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायतले विपद् प्रतिकार्यको लागि नागरिकलाई सचेत गराएका छन् ।

वन डढेलो तथा घर, गोठमा जुनसुकै समयमा आगलागी हुने भएकाले कृत्रिम घटना अभ्यासले सम्भावित मानवीय क्षति तथा धनसम्पत्ति हानि नोक्सानी कम गर्न कृत्रिम घटना अभ्यासले महत्वपुर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । आगलागीजन्य घटनाबाट जोगिन सबै नागरिक सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?