logo
२०८१ जेष्ठ ५ शनिवार



गर्मी बढेसँगै गाउँ पस्दै मनाङवासी, सुरु भएन चुनावी चहलपहल

खुला |


गर्मी बढेसँगै गाउँ पस्दै मनाङवासी, सुरु भएन चुनावी चहलपहल


मनाङ, चैत २१ गते । स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङमा भने चुनावी सरगर्मी बढेको देखिएको छैन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन् । तर, हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरु नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन ।

जिल्लावासी जाडो छल्न बेँसी झरेकाले पनि यहाँ चुनावी चहलपहल सुरु हुन नसकेको हो । चैतको दोस्रो सातापछि यहाँका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन् । गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने देखिएको छ । जिल्लाका नेताहरु अहिले गाउँ पुगेका छैनन् । धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरु जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ । जिल्लाका राजनीतिक दलका नेताहरु गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाएको बताएको छ ।

माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउनुहुन्छ । ‘‘अब नेताहरू आउनुहुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार चिसो छल्न काठमाडौँ–पोखरा, अन्यत्र गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन् । नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन् । स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ । गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन् ।

निर्वाचन कार्यालयको तयारी
चुनावी कार्यक्रमहरु सञ्चालन नभएको भए पनि निर्वाचन कार्यालयले तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनका लागि मनाङमा २०० कर्मचारी खटाउने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरुसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत काम भइरहेको छ । निर्वाचन आयोगले मनाङ जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । खनाललाई सदरमुकाम चामे गाउँपालिका जिम्मेवारी दिएको छ ।

निर्वाचन आयोगले मनाङको नासो गाउँपालिकामा जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ । दलहरुले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना कामअघि बढाएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसीटीभी क्यामरा, इन्टरनेट जस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ । मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमबाट प्रेषण गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरु गरिएको छ ।

पाँच दल थपिए
आगामी स्थानीय तहको निर्वाचनका लागि मनाङमा छ वटा मान्यता प्राप्त दलबाहेक पाँच वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन् । तीमध्येका अधिकांश दलले चुनावी अभियानको थालनी गर्दैछन् ।

२८ वटा मतदान केन्द्र
निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मनाङमा कूल ६ हजार ४९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ । मनाङ नेपालको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो ।

म्यादी प्रहरी मागभन्दा कम
विकट र थोरै जनसङ्ख्या रहेकाले मनाङमा माग भएभन्दा कम मात्रले म्यादी प्रहरीमा आवेदन गरे । जिल्लामा निर्वाचनका निम्ति २५८ म्यादी प्रहरीको माग गरिएकामा तोकिएको समयसम्म परेको आवेदनले माग पूर्ति नभएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । सो कार्यालयका अनुसार १४८ आवेदन मात्र परेको थियो ।

विगतमा जस्तै आगामी निर्वाचनका लागि पनि छिमेकी जिल्लाबाट सोध भर्ना गरी सुरक्षा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा माग पूर्ति नभएकाले छिमेकी जिल्लाबाट म्यादी प्रहरी सोध भर्ना गरिनेछ ।

निर्वाचन नजिकिँदा योजना सम्झौता तीव्र
मङ्सिरदेखि फागुनसम्म चिसोका कारण बेँसी झरेका मनाङवासी विस्तारै गाउँ फर्किन थालेका छन् । “चैत लागेपछि बल्ल विकास निर्माणको काम सुरु हुन्छ । गाउँपालिकातिर आउने जाने गरिरहेको छु”, माथिल्लो मनाङस्थित पिसाङ निवासी याङदुङ गुरुङ भन्नुहुन्छ, “चुनावको चर्चा भएको टीभीतिर हेरेको छु, सुनेको छु । यहाँ कुनै कार्यक्रम भएको छैन र सुनेको पनि छैन ।”

गुरुङ अहिले विकास निर्माणको कार्यमा व्यस्त हुनुहुन्छ । गाउँमा हुने विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा दिन बित्ने गरेको उहाँ बताउनुहुन्छ । बेंसीसहर–चामे सडकको तिमाङ छहरामा बन्दै गरेको पुल निर्माण हुन बाँकी छ । पुल अब १९/२० तिर बन्ने बताइएको र त्यसपछि गाउँले आउने आँकलन गरिएको छ । प्रशासनले चुनाव लक्षित गर्नुपर्ने सम्पूर्ण काम तीव्र रुपमा अघि बढाएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “निर्वाचन अधिकृत तोकिसकेको अवस्था छ । हामीले मतदानस्थलको अवलोकन गरेर पानी, बिजुली, कम्पाउन्डको अवस्था हेरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मनाङवासी अझै गाउँ फर्केका छैनन् । तिमाङ छहराको पुल निर्माण भएपछि गाडी लिएर सिधैँ गाउँघर फर्किने खबर पाएको उहाँले बताउनुभयो । “मनाङवासी फर्केपछि चुनावी माहोल बन्ने बुझिएको छ । अहिले देखिएको छैन भन्दा पनि हुन्छ”, उहाँले भन्नुभयो । मनाङमा ४ गाउँपालिका छन् ।

सबैभन्दा विकट मानिने नार्पाभूमिका गाउँ पुग्न चामे नजिकै कोतोबाट दुई दिन लाग्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नासो र नार्पाभूमिको अध्यक्ष काँग्रेसले तथा चामे र मनाङ ङिस्याङमा एमालेले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?