logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २८ दल

खुला |
प्रदेश |


स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २८ दल



देवराम प्रसाद यादव
सप्तरी, चैत २२ गते । सप्तरीलगायत मुलुक भरी स्थानीय तह निर्वाचनको मिति तोकिएसँगै अहिले राजनीतिक माहाेल तातिँदै गएको छ । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते निर्वाचनको लागि मिति सरकारले घोषणा गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जिल्लामा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक २८ वटा अन्य दलले निर्वाचन कार्यालय सप्तरीमा दर्ता गरेको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (मओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक जनमत पार्टी, उनन्त लोकतन्त्र पार्टी, नेपाली काँग्रेस (वि.पी), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दल, तराई– मधेश लोकतान्त्रिक पार्टीलगायतको सप्तरीमा दल दर्ता भएको छ ।

यस्तै, मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, बहुजन समाज पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल विवेकशील पार्टी, राष्ट्रिय सद्भावना पार्टी, नेपाल जनता पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवाद–लेनिनवादी, बहुजन एकता पार्टी, नेपाल, बहुजन शक्ति पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)ले दल दर्ता गराएका छन् ।

उक्त निर्वाचनका लागि सप्तरीमा ५३६ वटा मतदान केन्द्र तोकिएको छ भने २९७ मतदानस्थल कायम गरिएको छ । निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कुल मतदाता सङ्ख्या चार लाख १२ हजार ४४५ छ ।

जिल्लामा सबैभन्दा बढी राजविराज नगरपालिकामा २१ हजार १७० पुरुष, १८ हजार ५२० महिला र २ अन्य गरी ३९ हजार ६९२ मतदाता छन् । सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा सात हजार ६२० पुरुष र छ हजार ७९८ महिला गरी १४ हजार ४१८ मतदाता छन् ।

त्यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा १९ हजार ९३७, कञ्चनरुप नगरपालिकामा ३५ हजार ३०९, खडक नगरपालिकामा ३१ हजार ३६, छिन्नमस्ता गाउँपालिकामा १७ हजार ७५७, डाक्नेश्वरी नगरपालिकामा २८ हजार ४३५, तिरहुत गाउँपालिकामा १४ हजार ६५४ मतदाता छन् ।

यता, तिलाठी कोइलाडी गाउँपालिकामा१९ हजार ६४१, बोदे बरसाइन नगरपालिकामा २७ हजार ६५५, महादेवा गाउँपालिकामा १६ हजार ८५०, राजगढ गाउँपालिकामा१८ हजार ५ सय ६०, रुपनी गाउँपालिकामा १८ हजार १६५, विष्णुपुर गाउँपालिकामा १५ हजार ६७, शम्भुनाथ नगरपालिकामा २३ हजार ८६३, सप्तकोशी नगरपालिकामा १५ हजार ४६१, सुरुङ्गा नगरपालिकामा २९ हजार ५१० तथा हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ४३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीसहित करिब दुई हजार सात सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा निर्वाचनको सुरक्षाका लागि दुई हजार ४९ नेपाल प्रहरी तथा दुई हजार ९४८ म्यादी प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाप्रबन्धमा सघाउने उहाँको भनाइ छ । जिल्लाका ५३६ वटा मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?