logo
२०८० चैत्र १५ बिहीवार



रुपन्देहीमा ३८ दल चुनावी प्रतिस्पर्धामा

खुला |
प्रदेश |


रुपन्देहीमा ३८ दल चुनावी प्रतिस्पर्धामा


लक्ष्मण पौडेल
भैरहवा, चैत २२ गते । रुपन्देहीमा आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार राष्ट्रिय दलको मान्यता नपाएको जनमत पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टीले पनि निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् ।

यस्तै, समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली काँग्रेस (बीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

अघिल्लोे निर्वाचनको तुलनामा रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले बढेर एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । मतदातामध्ये तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला छन् ।

९० मतदान केन्द्र थपिए
अघिल्लो पटकको निर्वाचनको तुलनामा रुपन्देहीमा अहिले ९० वटा मतदान केन्द्र थपिएका छन् । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा २०८ वटा मतदान स्थल र ६१० मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र बढेर ७०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक हजार मतदाताको लागि एक मतदान केन्द्र बनाउने योजनाअनुरूप मतदान केन्द्र बढेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगले रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरा र १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?