गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । राजनीतिमा महिला प्रतिनिधित्व बढाउन सरोकारवाला दलहरूका नेतृत्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिइएको छ ।राष्ट्रिय महिला आयोगद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले हाल दलहरूबीच जारी गठबन्धनको माहोलले राजनीतिमा महिला प्रतिनिधित्वमा कमी आउन सक्ने भन्दै राजनीतिक दलका नेतृत्वलाई स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य महिलाको प्रतिनिधित्व हुने वातावरण सुनिश्चित गराउन दबाब दिनुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदका उम्मेदवारी दिन राजनीतिक दलले सहयोग र हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न राजनीतिक दलको नेतृत्व सम्हालेका र विगतको निर्वाचनबाट प्रमुख र उपप्रमुखको भूमिकामा राम्रो काम गरेर जनताको मन जितेर महिला नेत्रीहरूले साबित गरेकाले उहाँहरूलाई अब प्रमुखको भूमिकामा पुग्न सक्ने गरी दलले टिकट दिने विश्वास व्यक्त गर्नुभयो । आयोगका अध्यक्ष कमला पराजुलीले एकै दल निर्वाचनमा सहभागी हुँदा प्रमुख र उपप्रमुखमध्ये एक महिलालाई दिनुपर्ने बाध्यकारी प्रावधान गठबन्धन गर्दा लागू भएन भने महिलाको प्रतिनिधित्व स्वतः घटेर जाने सम्भावना रहने बताउनुभयो ।
पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले राजनीतिमा मात्र नभई, उद्योग, व्यवसाय, विभिन्न संस्थालगायत घरमै पनि नेतृत्व लिने वातावरणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले पनि महिलामाथिको विभेदको खाडल पुर्न राजनीतिमा महिलालाई जनसङ्ख्याका आधारमा सहभागिता दिनुपर्नेमा जोड दिनुभयो । बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष सुशीला श्रेष्ठले सो कमिटीले महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्ध जागरणमूलक काम गर्ने क्रममा शिक्षा, स्वास्थ्य, हरेक क्षेत्रको सहभागिताको सुनिश्चित गर्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।