logo
२०८१ बैशाख १३ बिहीवार



सुनसरीमा पाँचदलीय गठबन्धनले वडा तहदेखि चुनावी तालमेल गर्ने

खुला |
प्रदेश |


सुनसरीमा पाँचदलीय गठबन्धनले वडा तहदेखि चुनावी तालमेल गर्ने



जयकृष्ण गोइत
इनरुवा, चैत २४ गते । सुनसरीमा सत्तारुढ पाँचदलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्ने गरी कार्यदल गठन गरेको छ । जिल्लामा तालमेलको निर्णय गर्न नेपाली काँग्रेस सचिव वीरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहनुभएको कार्यदल गठन गरेको हो ।

कार्यदलले स्थानीय नगर तथा गाउँपालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरी चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । गठबन्धनमा आबद्ध सबै दलको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको गठबन्धनको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

पाँचदलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरी वडा तहसम्मै संयुक्त चुनाव प्रचार–प्रसार गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिनुभयो ।

वि.सं. २०७४ को निर्वाचनमा स्थानीयदेखि सङ्घको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली काँग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदम अघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको छ । बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस सुनसरी सभापति केदार भण्डारी, नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले संयुक्त विज्ञप्ति मार्फत गठबन्धनको घोषणा गरेको निर्णय सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?