logo
२०८१ बैशाख ६ बिहीवार



मर्स्याङ्दीका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

खुला |
प्रदेश |


मर्स्याङ्दीका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता


बेलिना थापा
लमजुङ, चैत २४ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार एकल पुरुषलाई मासिक पाँचसय रुपियाँका दरले भत्ता दिइनेछ । गाउँपालिकाको ९३ आंैं बैठकले एकल पुरुषका लागि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । फागुन महिनादेखि लागु हुनेगरी उक्त निर्णय गरेको अध्यक्ष गुरुङले बताउनुभयो । श्रीमतिको मृत्यु भइसकेका र अविवाहित पुरुषका लागि उक्त व्यवस्था गरेको गाउँपालिकाको भनाई छ ।

गाउँपालिकाले माघदेखि ग वर्गका अपाङ्गता भएका नागरिकलाई पनि मासिक पाँचसय रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदैआएको छ । नागरिकको इच्छा, चाहना र आवश्यकताअनुसार गाउँपालिकाले सम्बोधन गर्दै लगेको गुरुङले बताउनुभयो । नागरिकलाई सहज हुने हिसावले काम गर्दैआएको उहाँको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार ज्येष्ठ नागरिक तथा अपाङ्गता सम्मान कार्यक्रम अन्तर्गत एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ । फागुनबाट लागुहुने गरी उक्त व्यवस्था गरेको अर्यालले बताउनुभयो । ६० देखि ६९ बर्षसम्मका श्रीमती गुमाएका, अविवाहित पुरुषले सो सुविधा पाउनेछन् । उहाँले भन्नुभयो– ‘७० वर्षदेखि जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनेछन् । चैतको अन्तिममा भत्ता दिइने अर्यालले बताउनुभयो ।

गाउँपालिकाले गत माघमा एकल पुरुषको तथ्याङ्क सङ्कलन गरेको थियो । गाउँपालिकाभर ९३ जना एकल पुरुष रहेको गाउँपालिकाले जनाएको छ । तीन–तीन महिनामा भत्ता प्रदान गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८–७९ मा १० लाख रुपियाँ विनियोजन गरेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?