logo
२०८१ बैशाख ११ मंगलवार



हराइरहेका बालकको शव सेफ्टी ट्याङ्कीभित्र फेला

खुला |
प्रदेश |


हराइरहेका बालकको शव सेफ्टी ट्याङ्कीभित्र फेला


जनार्जन खत्री
सर्लाही, चैत २४ गते । सर्लाहीको गम्हरियामा पाँच दिनदेखि हराइरहेको एक बालकको शव बिहीबार बिहान छिमेकीको सौचालयको सेफ्टी ट्याङकीभित्र फेला परेको छ । सदरमुकाम मलङ्गवा नगरपालिका –१२ गम्हरिया निवासी जीतेन्द्र ठाकुरको छोरा १० वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव छिमेकीको सेफ्टी ट्याङकीबाट बरामद भएको हो ।

बालकको शव छिमेकी जगदीश ठाकुरको घरमै सटेर रहेको शौचालयको सेफ्टी ट्याङकीमा बोराभित्र हालेर लुकाएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । गएको चैत २० गते राती ८ बजे गाउँमै न्वारानको भोज खान जाँदा आकाश हराएका थिए ।

परिवारले सोही दिन राती ११ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा खबर गरेको बताएको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बालकको हत्या हुनुको कारण खुल्न सकेको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । बुधबार साँझ मात्र सदरमुकाम मलङ्गवामा गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?