logo
२०८० चैत्र १५ बिहीवार



आचारसंहिता लागु हुनुपूर्व नगरप्रमुख शाहद्वारा सरकारी गाडी फिर्ता

खुला |
प्रदेश |


आचारसंहिता लागु हुनुपूर्व नगरप्रमुख शाहद्वारा सरकारी गाडी फिर्ता


नारद कोहार
तौलिहवा, चैत २४ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले आफूले चढ्दैआएको सरकारी गाडी फिर्ता गर्नुभएको छ । निर्वाचन आचारसंहिता लागु हुनुपूर्व नै आफूले चढ्दै आएको सरकारी गाडी उहाँले फिर्ता गर्नुभएको हो । सेतो प्लेटको लु १ झ ३९८ नम्बरको स्कारपियो गाडी शाहले नगरपालिकालाई फिर्ता गर्नुभयो ।

नगरप्रमुख शाहले स्थानीय तहको निर्वाचन घोषणा भइसेकेको अवस्थामा आफूले सरकारी सेवाको दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्वाचन घोषणा भइसकेको छ, आचारसंहीत पनि लागु हुनेबेला भएको छ, त्यसैले सरकारी सेवाको दुरुपयोग हुन नदिन मैले गाडी फिर्ता गरेका हुँ, ।’

त्यस्तै, चैत र २०७९ वैशाख महिनाको तलब भत्तालगायतका सुबिधा समेत नलिने सञ्चारकर्मीसँग उहाँले घोषणा गर्नुभयो । ‘अब मैले तलब भत्तालगायतका कुनै पनि सरकारी सेवा सुविधा लिन्न’ उहाँले भन्नुभयो । २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र बाट चार हजार बढी मत अन्तरले नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । केही महिना पहिले मात्र नगरप्रमुख शाह नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

गत आइतबार नगरप्रमुख शाहले कार्यालय समयमा गाडी फिर्ता गरेको नगरपालिका योजना शाखा प्रमुख साकिर अहमद शाहले बताउनुभयो । नगर प्रमुखमा फेरि चुनाव लड्न चाहेका उहाँले पार्टीले टिकट दिए उम्मेदवार बन्ने बताउनुभयो । अर्को एउटा गाडी उपप्रमुख सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने शाहले जानकारी दिनुभयो । स्थानीय निर्वाचन २०७८ को आचारसंहिता लागु भएसँगै जनप्रतिनिधिले लिने सेवा सुविधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?