logo
२०८१ बैशाख १७ सोमवार

  स्वास्थ्य बीमा दिवस आज  



छ वर्षमा २० प्रतिशत आबद्ध, नवीकरण गर्ने ७० प्रतिशत

स्वास्थ्य |


छ वर्षमा २० प्रतिशत आबद्ध, नवीकरण गर्ने ७० प्रतिशत


काठमाडौं, चैत २५ गते । जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा छ वर्षमा २०.३ प्रतिशत आबद्ध भएका छन् ।  बीमा कार्यक्रम सुरुभएदेखि हासम्म २०.३ प्रतिशत अर्थात् ५३ लखा चार हजार २७० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको जनाएको हो ।
सरकार यो आर्थिक वर्षभित्र ५० प्रतिशत जनसङ्ख्यालाई बीमा कार्यक्रममा समेट्ने लक्ष्य लिएको थियो । तर गत असारमा कोरोनाभाइरसको सङ्क्रमणले बीमा कार्यक्रम प्रभावित भएपछि सो लक्ष्य पूरा हुन नसकेको बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाको दाबी छ ।
बीमा नवीकरण गर्ने दर ७० प्रतिशत रहेको बोर्डको तथ्याङ्क छ । ‘बोर्डको आफ्नै कर्मचारीको स्थायी दरबन्दी छैन त्यसले गर्दा सर्वसाधारणलाई बीमाको विषयमा अझै बुझाउन नसक्दा नवीकरण गर्ने बीमितको सङ्ख्यामा कमी आएको छ ।’ कार्यकारी निर्देशक बर्सौलाले भन्नुभयो ।
बर्सौलाका अनुसार २७.७९ प्रतिशत अर्थात् १५ लाख आठ हजार ५१४ बीमित परिवारवार पुगेका छन् । ३९.३९ प्रतिशत अर्थात् २० लाख ८९ हजार ५९९ जना बिमितले सेवा लिने गरेका छन् ।
अतिगरिब परिवारको बीमित सदस्य चार लाख ८८ हजार चार, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य छ लाख ३४ हजार ७३५ जना छन् ।
एचआईभी सङ्क्रमित परिवारको बीमित सदस्य सङ्ख्या २५ हजार २८९ अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य सङ्ख्या ९३ हजार ६२९, कुष्ठरोग सङ्क्रमितको परिवारको बीमित सदस्य सङ्ख्या २८ सय ४९ जना रहेका छन् ।
यसैगरी, एमडीआर क्षयरोगी परिवारको बीमित सदस्य सङ्ख्या २४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविकाका परिवारको बीमित सदस्य सङ्ख्या ८३ हजार ६२६ जना पुगेका छन् ।
२०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु भएको बीमा कार्यक्रम हाल ७७ जिल्लाका ७४५ स्थानीय तहसम्म विस्तार भएको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरु सरकारी र निजी गरी ४४१ वटा पुगेका छन् ।
पछिल्लो सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न थप चुनौती थपिएको र त्यसलाई समाधान गर्ने प्रयास आफूहरुले गरिरहेको बर्सौलाले जानकारी दिनुभयो ।
बर्सौलाका अनुसार चालु आर्थिक २०७८÷७९ वर्ष भित्रमा सबै स्थानीय तहमा बीमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।
बोर्डले शुक्रबार ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नाराका साथ छैटाैं वार्षिकोत्सव मनाउँदैछ । उक्त दिन स्वास्थ्य बीमा बोर्डबाट अनलाइन नवीकरण र एचआइभी प्रोफाइल एपको सुरुवात गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?