logo
२०८१ मंसिर ६ बिहीवार



प्रहरी महानिरीक्षक क्षेत्रीबाट मौलो पूजा

खुला |


प्रहरी महानिरीक्षक क्षेत्रीबाट मौलो पूजा


काठमाडौं, चैत २६ गते। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैतेदशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नुभएको छ।

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निसानमा पञ्जा छापसमेत लगाउनु भएको थियो। साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो।

उक्त अवसरमा अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत समेतले मौलो परिक्रमा गर्नुभएको थियो। पूजा विसर्जनपछि मूलकोत हुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। जसमा दुई वटा निशान हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्तिसुरक्षाका साथै अमनचैन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?