logo
२०८१ बैशाख १४ शुक्रवार



अलपत्र नायकवाडा सिँचाइ आयोजना ३६ वर्षपछि पुनः निर्माण हुने

खुला |
प्रदेश |


अलपत्र नायकवाडा सिँचाइ आयोजना ३६ वर्षपछि पुनः निर्माण हुने



सहदेव बस्नेत
जाजरकोट, चैत २७ गते । जिल्लाको बारेकोट गाउँपालिकामा रहेको ठूलो सिँचाई आयोजना निर्माणकार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ । बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो ।

तत्कालीन सहायक वनमन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिए तापनि यो सिँचाइ आयोजनामा ध्यान नदिँदा अलपत्र परेको थियो । गृह जिल्लाका कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मन्त्रालय सम्हाले पछि यो आयोजना पुनः सन्चालनमा आउन थालेको हो । मन्त्री सिंहले पदभार ग्रहण गरेलगत्तै आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिनुभएको थियो । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने भनेर निष्कर्ष निकालेपछि काम सुरु हुने भएको हो ।

नायकवाडा सिँचाइ आयोजना निर्माण भएमा यहाँका दुई वटा वडाहरूको ठूलो भूभाग सिञ्चित हुनेछ । वर्षेनी खाद्यान्न अभाव झेल्ने बारेकोटमा यो सिँचाइ आयोजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रुपमा बलियो बनाउने स्थानीयबासी रुपबहादुर शाहीले जानकारी दिनुभयो । अहिले आकाशे पानीको भरमा नायकवाडा, मैना लगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकाशे पानी हेरेर मात्र रोपाइँ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै  छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले लगानी धेरै लाग्ने भएपछि यो आयोजना बीचमै अलपत्र परेको बताउनुभयो । करिव १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी ल्याउनुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यो आयोजनामा विशेष चासो छ । यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पाएलगत्तै स्थानीयबासी खुसी भएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले आश मारिसकेको आयोजना निर्माण सुरु हुन लाग्यो भन्दा स्थानीयहरु निकै हर्षित रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?