logo
२०८१ बैशाख १३ बिहीवार



किसानलाई स्याउ र ओखरका बिरुवा वितरण

खुला |
प्रदेश |


किसानलाई स्याउ र ओखरका बिरुवा वितरण


राजन रावत
हुम्ला, चैत २७ गते । उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले व्यवसायिक रुपमा स्याउ खेती गर्ने किसानलाई निशुल्क रुपमा बिरुवा वितरण गरेको छ । स्याउ पकेटक्षेत्र कार्यक्रम अन्तर्गत फर्मका रुपमा स्याउ खेती गर्ने किसानलाई दुवै गाउँपालिकाले बिरुवा वितरण गरेका हुन ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले स्याउ र ओखरका गरी नौ हजार बिरुवा वितरण गरिएको बताउनुभयो । उहाँले बिगत तीन वर्षदेखि स्याउ तथा ओखर पकेट क्षेत्र विकासका लागि बिरुवा बितरण गर्दैआएकोमा यसवर्ष चार हजार स्याउ तथा पाँच हजार बिरुवा ओखरका बोट वितरण गरिएको बताउनुभयो ।

यसअघि सबै बिरुवा निशुल्क वितरण गर्दैआएकोमा यस वर्षबाट ८५ प्रतिशत अनुदान र पन्ध्र प्रतिशत किसानले लागत साझेदारी गर्नेगरी बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो । यसवर्ष मात्र सिमकोट गाउँपालिकाले डेढ सयभन्दा बढी किसानलाई न्यूनतम पचास र बढीमा दुईसय बिरुवा वितरण गरेको छ ।

कृषि शाखाका प्राबिधिक सर्मिला शाहीले साढे बाह्र हजार बिरुवा जिल्ला बाहिरबाट खरिद गरी किसानलाई वितरण गरिएको बताउनुभयो । व्यवसायिक किसानलाई कम्तीमा पचास र बढीमा दुई सय बोट बिरुवा वितरण गरेर व्यवसायिक स्याउ खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम सहयोगी हुने बताउनुभयो । शाखाले यसअघि नै व्यवसायिक रुपमा खेती गर्ने किसानलाई निवेदन र जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जा संकलन गरेको थियो ।

बिरुवा जिल्ला बाहिरबाट ढुवानी भएर आइपुगे लगत्तै बितरण सुरु गरिएको उहाँले बताउनुभयो । नाम्खा गाउँपालिकाका वडा १ देखि ५ सम्मका किसानलाई उक्त बिरुवा बितरण गरिएका हुन । यसबाट डेढ सयभन्दा बढी किसान लावान्भित हुनुभएको छ ।

दुवै गाउँपालिका गरी साढे एक्काईस हजार बिरुवा वितरण गरिएको छ । किसानलाई वितरण गरिएका स्याउका बोटमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातिका स्याउका बिरुवा छन् । यी बिरुवा गाउँपालिकाद्वारा जुम्ला जिल्लाबाट खरिद गरेर ल्याइएका हुन । यसका लागि खरिद र ढुवानी गरेर ल्याएका छन् । यसवर्ष हिमपात भएकाकारण जमिनमा हिउँले चिस्यान बनाइराखेका कारण बिरुवा लगाउन समेत किसानलाई सहज भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?