logo
२०८० चैत्र १६ शुक्रवार



डाला, नाङ्ला र ठेकालाई बजारको समस्या

खुला |
प्रदेश |


डाला, नाङ्ला र ठेकालाई बजारको समस्या


नवीन शिशिर विक
बागलुङ, चैत २७ गते । बागलुङको बडिगाड गाउँपालिका –४ सिसाखानीका ५८ बर्षिय चन्द्रबहादुर विक विगत १५ बर्षदेखि चैते दशैको अवसर पारेर बागलुङ बजारमा नाङ्ला, डाली, डोका लिएर बिक्री गर्न आउने गर्नुभएको छ । यस बर्ष पनि चैताष्टमी मेलाको अवसर छोपेर उहाँ श्रीमतीसहित घरेलु उत्पादन लिएर मेला हेर्ने डोका, नाङला डाली पनि बेच्ने तयारीकासाथ झर्नुभयो । विगतका दुई बर्षमा कोरोनाले मेला महोत्सव रोकिएकाले यस बर्ष व्यापार राम्रो हुने अपेक्षा उहाँको थियो ।

विकले बर्षभरि घरमै निगालोबाट घरायसी प्रयोजनमा आउने सामग्री उत्पादन गर्ने र मेला महोत्सवमा बजारको खोजी गर्दै हिड्ने गर्नुहुन्छ । विगतका बर्षमा अन्न राख्ने डाली, अन्न निफन्ने नाङ्लो र घाँस दाउरा बोक्न प्रयोग हुने डोका विक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । करिव एक हप्ताको व्यापारले लगभग बर्षभरी उत्पादन गरेका सामग्रीले बजार पाउँथ्यो । तर यसबर्ष विकले ल्याएको सामग्रीले बजार पाउन मुस्किल भएको छ ।

अधिकांश उपभोक्ता बजारमा प्रशस्त पाउने प्लाष्टिकका सामग्रीप्रति आकर्षित हुँदा घरेलु उत्पादन ओझेलमा परेका हुन् । प्लाष्टिकका सामग्री चोयाकाभन्दा सस्तो हुने भएपछि घरेलु उत्पादनले बजार पाउन कठिन भएको विकको अनुभव छ ।

पछिल्ला दिनमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुन छाडेको गार्खाबाट घरेलु सामग्री लिएर आउनुभएको अर्का व्यापारी आशबहादुर मगरको भनाई छ । पहिला खुब व्यापार हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘उति बेलाको व्यापार सम्झेर आयो, अहिले भाडासमेत उठन कठिन भयो ।’

परम्परागत सीपको माध्यमले चोयाबाट निर्मित वस्तुको विक्री हुन छाडेपछि अहिलेका पुस्ताले यो काम गर्न छाडेका छन् । दुःख बढी हुने र विक्री पनि नहुने भएपछि युवाहरु यसबाट विमुख हुँदैगएको बागलुङको बडिगाड गाउँपालिका—४ जलजलाका उद्यमी मनबहादुर विकको भनाई छ । अहिलेका युवाले यो काम गर्दैनन्, उहाँले थप्नभयो– ‘बुढा पुराना मानिस सकिएपछि यो पेसा नै संकटमा पर्ने खतरा देखिन्छ ।

चोयाबाट सामग्री उत्पादन गर्ने सीप पुस्तान्तरण नहुँदा लोप हुने खतरामा रहेको उहाँको भनाई छ । पहिले चैताष्टमी मेलामा घरेलु उत्पादनका वस्तुहरु खरिद गर्नकै लागि मानिसहरु आउने गरे पनि अहिले त्यस्तो नभएको ठेका व्यापारी हर्कबहादुर विकको भनाई छ । चैते दशैं भनेकै मौलिक उत्पादनको किनवेच गर्ने ठाउँको रुपमा परिचित छ, यसलाई प्रवर्धन गर्न घरेलु सामान लिएर आएका व्यवसायीले चाहेको ठाउँमा स्टल राख्ने व्यवस्था गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?