logo
२०८१ बैशाख १४ शुक्रवार



सुरक्षा समितिद्वारा मतदानस्थल र केन्द्रहरुको अनुगमन

खुला |
प्रदेश |


सुरक्षा समितिद्वारा मतदानस्थल र केन्द्रहरुको अनुगमन
जिल्ला निर्वाचन कार्यालय दार्चुला । तस्बिर - लोकेन्द्र जोशी



लोकेन्द्र जोशी
दार्चुला, चैत २८ गते । जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गरेको छ । २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सुरक्षा समितिको टोलीले मतदानस्थल, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ठाउँहरुमा सुरक्षाको अवस्था र भौतिक पूर्वाधारको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

सुरक्षा समितिको टोलीले आइतबार दुहुँ गाउँपालिका र सोमबार व्यास गाउँपालिका अन्तरगतका केही मतदानस्थल र मतदान केन्द्रहरुको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको हो । ‘अनुगमन गरिएका केन्द्र र स्थलहरुमा शान्ति सुरक्षामा समस्या छैन’, प्रजिअ उपाध्यायले भन्नुभयो, ‘भौतिक पूर्वाधार पनि राम्रै छ ।’

सुरक्षा समितिको टोलीमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) त्रिभुवन विष्ट, गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टलगायतको सहभागिता रहेको थियो ।

दार्चुलामा ११० वटा मतदानस्थल र १३९ वटा मतदान केन्द्रहरु रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनुभयो । जिल्ला भरी वैशाख ८ गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनमा पुरानै मतपेटिका प्रयोग गरिने पनि जनाइएको छ । निर्वाचन सम्बन्धी आवश्यक सामाग्रीहरु आउने क्रम जारी रहेको धामीले बताउनुभयो ।
पाँच वर्षमा १५ हजार मतदाता थपिए

दार्चुलामा पाँच वर्षमा झण्डै १५ हजार मतदाता थपिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुलाका नौ वटै स्थानीय तहहरुमा कुल ७३ हजार ५० मतदाता रहेका थिए । करिब पाँच वर्षपछि जिल्लामा मतदाता संख्या ८८ हजार २८५ पुगेको छ । दार्चुलामा ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी ८८ हजार २८५ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गएकाले निर्वाचन शिक्षा र अरु निर्वाचन तयारीका कार्यक्रम अगाडि बढाउने तयारीमा निर्वाचन कार्यालय छ । दार्चुलामा १४ राजनीतिक दलले चुनाव चिन्ह पाउने भएका छन् । जिल्लामा चार राजनीतिक दल राष्ट्रिय मान्यता प्राप्त रहेको र १० राजनीतिक दलले निर्वाचन चिन्हका लागि यसअघि नै निवेदन दिएकाले १४ दललाई चुनाव चिन्ह दिन सकिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?