logo
२०८१ बैशाख ८ शनिवार



एकसय ५० जना किसानलाई टिनको ड्रम वितरण

खुला |
प्रदेश |


एकसय ५० जना किसानलाई टिनको ड्रम वितरण


दिपकप्रसाद गौतम
वीरगञ्ज, चैत २८ गते । कृषि ज्ञान केन्द्र पर्साले गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका एक सय ५० जना कृषकलाई गहुँको बिऊँ जोगाएर राख्न एक एक थान ड्रम वितरण गरेको छ । पर्साको पर्सागढी नगरपालिका २ झब्राहामा आयोजित कार्यक्रममा गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका कृषकलाई गहुँको बिऊँ जोगाएर राख्न ड्रम वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलालप्रसाद साहकाअनुसार स्थानीय सुनाखरी कृषि सहकारी संस्था मार्फत गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका कृषकले किरा तथा मुसाबाट जोगाएर राख्न टिनको ड्रम वितरण गरेको बताउनुभयो । गहुँ ब्लक खेती क्षेत्र कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदानमा ड्रम वितरण गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख साहले बताउनुभयो ।

सुनाखरी कृषि सहकारी संस्था झब्राहा झुलिटारकी अध्यक्ष सरस्वती भट्टराईले पहिलो चरणमा १५० जनालाई ड्रम वितरण गरिएको बताउनुभयो । थप १ सय जना गरी २५० जनालाई वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । सहकारीले कृषक भेला गरी गहुँ खेतीका लागि आवश्यक रहेका कृषि उपकरण तथा सामग्रीको बारेमा छलफल गरी आवश्यक कागजात संकलन गरी कृषकलाई ड्रम वितरण गरेको बताउनुभयो ।

अहिले किसानले २८ देखि ३० रुपियाँ किलोमा गँहु बिक्री गरिरहेको तर बिऊ किन्दा ६४ देखि ७० रुपियाँ पर्ने गरेकाले ड्रममा सुरक्षितसाथ गहँु राख्न सकिने कृषकहरुको भनाई छ । यसरी राखिएको गहुँलाई आवश्यकताअनुसार अन्य प्रयोग तथा बिऊका लागि प्रयोग समेत गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।

टिनको ड्रम १६ सय ३४ रुपियाँमा खरिद गरी कृषकलाई ८५ प्रतिशत अनुदानमा २ सय ४५ रुपियाँमा वितरण गरिएको उहाँले बताउनुभयो । रामटोल , झब्राहा , झुलिटार , बिरुवा टोल लगायत २३ टोल रहेको पर्साको पर्सा गढी नगरपालिकाको वडा नम्बर ३ मा ८५ क्वीन्टल अर्थात करिब १ सय २५ बिघा क्षेत्रफलका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । ब्लक क्षेत्रमा २ सय २० बिघा रहेपनि मल तथा बिऊको अभावले अन्य जग्गामा गहुँ बाहेक अन्य खेती गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?