logo
२०७९ असोज १६ आईतवार



निर्वाचनमा आचारसंहिताको पालना

विचार/दृष्टिकोण |


निर्वाचनमा आचारसंहिताको पालना


नगेन्द्रराज पौडेल

स्थानीय तहको निर्वाचन निकै नजिक आइसकेको छ । यतिबेला सरकार, निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि निर्वाचन सम्पन्न गर्नेतर्फ लक्षित छन् । आगामी ३० वैशाख २०७९ मा हुने स्थानीय तहका पदाधिकारीको निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएको आयोगले जनाएको छ ।

सङ्घीयता अँगालेका मुलुकमा स्थानीय तह सबैभन्दा तलको राजनीतिक एकाइ हो । यो जनतासँग जोडिएको र जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने नजिकको सरकार पनि हो । सङ्घीयतामा तीन तहका सरकारमध्ये स्थानीय तहको सरकारसँग जनताको सहज पहुँच पुग्छ । जनताको सेवालाई आफ्नो राजनीतिक अभिष्ट ठान्ने हरेक राजनीतिज्ञ÷समाजसेवीका लागि स्थानीय तहमा बसेर जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नका लागि एउटा उपयुक्त स्थल पनि हो । यसैकारण स्थानीय तहको निर्वाचन निकै महìवपूर्ण मानिन्छ । जनतासँग निकटतम रूपमा जोडिएर राजनीति गर्नेहरू स्थानीय तहलाई रुचाउँछन् ।

हरेक दृष्टिले महìवपूर्ण मानिने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष तथा पारदर्शी हुन जरुरी छ । यसका लागि निर्वाचन आयोगले पहलकदमी लिनैपर्दछ । आयोगले अघिल्लो शुक्रबार राति १२ बजेबाट आचारसंहिता लागू भएको जनाऊ दिइसकेको छ । स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न उक्त संहिता पालना गर्दै आयोगलाई सघाउनु हरेक राजनीतिक दलको कर्तव्य हो ।

खर्चको सीमा

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपियाँसम्म खर्चको सीमा निर्धारण गरेको छ । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार, उपमहानगरका मेयर र उपमेयरले बढीमा पाँच लाख ५० हजार, नगरपालिकाका मेयर र उपमेयरले चार लाख ५० हजार तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार रुपियाँसम्म निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । यो रकम थोरै भयो भनी राजनीतिक दल कराइरहेका छन् । यो व्यवस्था २०७४ को निर्वाचनमा निर्धारण गरेको खर्चकै निरन्तरता हो ।

निर्वाचन आयोगले गरेको छलफलमा दलहरूले महानगरको निर्वाचनमा कम्तीमा एक करोड रुपियाँको खर्च सीमा तोक्नुपर्ने प्रस्ताव गरेका थिए । केही दलले प्रतिनिधि सभा निर्वाचनको खर्च सीमा पाँच करोड रुपियाँसम्म बनाउनुपर्ने मागसमेत राखेका थिए । दलहरू आज पनि जति धेरै खर्च त्यति धेरै जितको सम्भावनामा विश्वास राख्दछन् । यसैकारण आमसभामा जतिसुकै कार्यकर्ता उतारेर जितलाई निश्चित भएको मनोविज्ञान प्रवाह गरे पनि कतिपय अवस्थामा सहरी चुनावको परिणाम मतदानभन्दा अघिल्लो रातको साउती गराइले उल्टिन्छ, उल्टिएका अनेकानेक उदाहरण छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले एक कार्यक्रमबीच यही पारा हो भने गाउँपालिकामा ५० लाख, प्रदेशमा चार करोड र केन्द्रमा चुनाव लड्न १० करोड चाहिने भयो, कसरी सकिन्छ यत्रो खर्च धान्ने भन्नुहुन्छ । हालै मात्र नेपाली काँंग्रेसका नेता डा. शशाङ्क कोइरालाले ‘चुनाव लड्छु भन्दासाथ पाँच/सात करोड चाहिने भयो’ भन्नुभएको छ । नेकपा (एमाले)ले पनि खर्चको सीमा कमी भएको गुनासो यसअघि नै निर्वाचन आयोगसमक्ष गरिसकेको छ ।

मतपत्रमा चुनाव चिह्नको रङ हरियो राखिएको, मनोनयन दर्ताका लागि दुई दिन समय दिइएको, विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र प्रचार गर्न निषेध गरेको भन्दै नेकपा (एमाले)ले भने आयोगको आचारसंहिताप्रति आपत्ति जनाएको छ ।

कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने आजको दायित्व हो तर राजनीतिक दलले नै निर्वाचन खर्च सीमा पाँच करोड राख्न प्रस्ताव गरेको पाइयो । यसले के देखाउँछ भने यसरी करोडाँै खर्च गरेर चुनाव जितेर जाने प्रतिनिधिले आफ्नो कार्यकालमा जनताको कामभन्दा पनि यसरी खर्च गरिएको करोडौँ रकमको सोधभर्ना गर्नतिर लाग्छन् । सेवाभन्दा पनि कमाउ धन्दामा उनीहरू लाग्छन्  ।

स्थानीय तहको हालको चारवर्षे अवधिमा महालेखाले देखाएको करोडौँको आर्थिक अनियमितता यसैको उदाहरण हो ।

अनुगमन आवश्यक

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नु सबै संवैधानिक निकाय, सरकार, राजनीतिक दल, उम्मेदवार र मतदाताको समेत कर्तव्य हो । सत्तारूढ दल अझ बढी आचारसंहिता पालनामा उदाहरणीय बन्नुपर्छ । सरकारी कार्यक्रमको सिलसिलामा भन्दै चुनावी कार्यक्रमका लागि सरकारी स्रोत तथा साधनको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न जरुरी छ । आज पनि सरकारी कामका नाउँमा हेलिकप्टर लिएर जिल्ला भ्रमण गर्ने प्रवृत्ति छ ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायत सबैले पालना गर्नुपर्ने हुन्छ । आचारसंहिता लागू भएपछि सरकारले वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।

खर्चको हिसाब किताब होस्

निर्वाचन खर्चबारे खासै लेखाजोखा गर्ने चलन नै छैन । आयोगले तोकेको खर्च सीमाको बिल भर्पाइ बुझाइसकेपछि सत्यापन गर्नेे चलन आजसम्म चलाइएको छैन । यसकारण पनि दल खर्च बढी नै गर्ने गर्दछन् । पैसा हुनेले जित्ने, नहुुनेले हार्ने निर्वाचन भ्रष्टाचारको स्रोत बन्दछ । सुशासन, लोकतन्त्र र कानुनी राज्यलाई निर्वाचनमा ठूला भनिएका दलबाट नै बेवास्ता गरिएको पाइन्छ ।

राजनीतिक दल र उम्मेदवारबाट आर्थिक गतिविधि पारदर्शी, खर्च कानुनबमोजिम बैङ्किङ प्रणालीबाट, खर्च विवरण पेस, खर्चको वैधता, चन्दाको सीमा हद र स्रोत खुलाउनेजस्ता कार्यमा ध्यान दिन जरुरी छ । निर्वाचन आयोगले पनि यी कुरामा निगरानी बढाउनैपर्छ । अनुगमन गर्नैपर्छ । गोप्य मतदानबाहेक निर्वाचनका अरू सबै प्रक्रिया पारदर्शी हुन सके मात्र निर्वाचनले वैधता प्राप्त गर्न सक्छ र सबैको सहज पहुँच पुुग्न सक्छ ।

असन्तुष्टि कायमै

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता निर्धारण गरेको छ । आगामी २०७९ सालको वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तय गरेको छ । आयोगले गरेको यो व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् ।

आयोगले कुनै जनप्रतिनिधिका नाउँमा पेस्की रहेकोमा र असुलउपर गर्ने गरी बेरुजु देखिएकोमा समेत त्यो फस्र्योट नगरी उम्मेदवार बन्न नपाउने भनेको छ तर आर्थिक सुशासन र निष्पक्ष निर्वाचनलाई भन्दा पनि आफ्नो दलका प्रतिनिधिलाई जसरी पनि जिताउनैपर्छ भनी लागेका राजनीतिक दललाई यी कुरा मन परेको देखिँदैन । उनीहरू जसरी पनि आफूले चाहेको व्यक्ति उम्मेदवार बन्नैपर्ने र चुनाव जित्नैपर्ने मान्यतामा छन् ।

यसले गर्दा निर्वाचनको स्वच्छता र समानतामा व्यवधान उत्पन्न हुन जान्छ । यसैले आयोगले जारी गरेको आचारसंहिताको पालना गरी अघि बढ्नु हरेक राजनीतिक दलको उद्देश्य हुनुपर्छ । स्वतन्त्र र निष्पक्ष ढङ्गबाट हुने निर्वाचनबाट मात्रै योग्य उम्मेदवार विजयी हुन्छन् भन्ने कुरा सबै राजनीतिक दलले ख्याल गर्न जरुरी छ । यसका लागि सबै दलले निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचन आचारसंहितालाई अक्षरशः पालना गरी निर्वाचनका हरेक कदममा आयोगलाई सघाउनुपर्दछ । 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?