logo
२०८१ बैशाख २२ शनिवार



नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

खुला |


नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण



गोरखापत्र समाचारदाता

मध्यपुर (थिमी), चैत २९ गते । थिमीको बोडेमा हुने जिब्रो छेडाउने जात्रामा यस पटक पनि बोडेका बुद्वकृष्ण बागश्रेष्ठले नै जिब्रो छेडाउने हुनुभएको छ । उहाँले निरन्तर आठ पटक जिब्रो छेडाएर जात्रामा सहभागिता जनाउँदै आउनुभएको छ ।
चैत मसान्तमा बोडेको महालक्ष्मी स्थानमा जात्राको लिङ्गो ठड्याएपछि निराहार रहेका श्रेष्ठले वैशाख २ गते जिब्रो छेडाएर चन्द्राकार महाद्वीप बोकी बोडे परिक्रमा गर्ने प्रचलन छ । थिमी नगरपालिकाका अधिकृत धनकृष्ण श्रेष्ठका अनुसार थिमी नगरपालिकाले यो जात्रा सञ्चालन गर्न एक लाख २५ हजार रुपियाँ जात्रा सञ्चालन समितिलाई दिएको छ । बोडेको यो मौलिक जात्रा विश्व प्रसिद्व छ । रोजगारको सिलसिलामा बोडेभन्दा पर पुगेका छोरीचेली तथा बोडेवासी जात्रा मनाउन थिमी आउन थालेका छन् ।

भक्तपुरको जात्रामा २० घाइते
भक्तपुर तौमढीमा भइरहेको भैरवनाथ र भद्रकाली रथयात्रा बीचमा अड्किएपछि रथ तान्नेबीच ढुङ्गा हानाहान हुँदा २० जना जात्रालु घाइते भए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर नवदुर्गा उपशाखाका संयोजक तुल्सीनारायण दण्डेख्याका अनुसार आइतबार मध्यरातिदेखि सोमबार बिहानसम्म यो घटना भएको थियो । केही उद्दण्ड बाह्य मानिसबाट यो घटना हुन गएको भन्ने ठम्याइँ भक्तपुर नगरवासीको छ । प्रहरी सहायक निरीक्षक नारायण चौहानसमेत घाइते हुनुभएको छ ।
भैरवनाथ र भद्रकालीको रथलाई बिस्काः जात्राको लिङ्गो ठड्याउने स्थान भेलुखेल लैजाँदा भने यस्तो घटना हुन नदिन पूर्वसतर्कताको तयारी भएको दण्डेख्याले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?