logo
२०८० चैत्र १६ शुक्रवार



आगलागी पीडितले घर बनाउन नसक्दा दिनचर्या कष्टकर

खुला |
प्रदेश |
समाज |


आगलागी पीडितले घर बनाउन नसक्दा दिनचर्या कष्टकर



भोटराज राई
उदयपुर, चैत २९ गते । एकजना वृद्धाको मानवीय क्षतिसहित आगजनी भएका आठ घरका पीडितहरुको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरका अग्नि पीडितहरुले आगलागीपछि घर उभ्याउन नसक्दा दिनचर्या कष्टकर बनेको हो ।

पीडित मनमाया राईले घटना भएको दुई हप्ता बितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन नसकेको बताउनुभयो । गत चैत १३ गते दिउँसोको आगजनीबाट बिचल्ली परेका आठ घर परिवारलाई खान राहत मिले पनि बस्ने राम्रो व्यवस्था नभएको उहाँले बताउनुभयो । बालबालिका र महिला त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको हो । पीडित गम्बर मगरले आफूहरुको मुख्य चाहना घर बनाउन रहेको बताउनुभयो ।

पीडित धनमाया मगरका अनुसार मनमा पीडा हुन्छ, हातमा काम आउँदैन, पीडितहरुले भुइँमा पात पकाएर बिहान–बेलुकाको भोक टार्ने गरेका छन्, हावा चल्ने मौसम भएकाले त्रिपालभित्र पनि आगो लाग्ने जोखिम छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुईहप्ता अघि एकै बस्तीका आठ घरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षीया वृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो ।

आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरव बहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर र मनमाया मगरको घर जलेर पूर्णरुपले क्षति भएको थियो । घरसँगै अन्नपात, लत्ताकपडा, भाडाँकुडा पूर्णरुपले जलेको र खसी, बाख्रा, बङ्गुरलगायत चौपाया मरेर क्षति भएको थियो ।

यसैबीच, प्रदेश सांसद नारायण बुर्जा मगरले आठ पीडित घरपरिवारलाई प्रतिघर १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ । घटनापछि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाले विभिन्न राहत तथा सहयोग पु¥याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?