logo
२०८१ बैशाख ४ मंगलवार



निर्वाचनका लागि स्वदेश फर्किने नेपालीको जमुनाह नाकामा लर्को

खुला |
समाज |


निर्वाचनका लागि स्वदेश फर्किने नेपालीको जमुनाह नाकामा लर्को
निर्वाचनका लागि स्वदेश फर्किंदै भारत गएका नेपाली । तस्विर – सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, चैत २९ गते । रोजगारीलगायत अन्य विभिन्न कामका लागि भारत गएका नेपाली स्थानीय तहको निर्वाचनका लागि स्वदेश फर्किन थालेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिजिँदै गर्दा ठूल्ठूला भारतीय सहरमा रोजगारीका लागि गएका नेपाली अहिले जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेको जमुनाहा प्रहरीले जनाएको छ ।

अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणाले बढेको जनाउँदै इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सई मिनबहादुर विष्टले उनीहरुले निर्वाचनकै लागि फर्किएको जनाएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक हजार भन्दा बढी नेपालीहरु नेपालमा भित्रिन थालेका छन् ।

‘भारतबाट फर्किने अधिकांश नेपालीले स्थानीय तह निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको बताउँछन्,’ उहाँले भन्नुभयो । अहिले भारत जाने नेपालीको संख्या एकदमै थोरै रहेको वरिष्ठ सई विष्टले बताउनुभयो । दैनिक सरदर दुई सय नेपाली मात्र कामका लागि भारत जाने गरेको उहाँको भनाइ छ ।

भारतबाट फर्किने नेपालीहरुले आफ्नो मताधिकारको प्रयोग गर्न र ठाउँ गाउँको विकास गर्न सक्ने राम्रा मान्छेलाई भोट दिन आफूहरु स्वदेश फर्किएको बताएका छन् ।
सल्यान थारमारेका रमेश थापाले आफ्नी पत्नी र छोरा छोरीसँगै स्थानीय तहको निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको जमुनाहमा बताउनुभयो । उहाँले पाँच वर्षको लागि गाउँ ठाउँलाई राम्रो र विकास गर्न सक्ने मानिसको जिम्मा लगाउन फर्किनुपरेको बताउनुभयो ।

सल्यानका थापाको जस्तै स्वदेश फर्किने अधिकांश नेपालीको भनाइ छ । केहीले त उम्मेदवार बन्ने रहरका साथ फर्किएको पनि बताएका छन् ।
सुर्खेत छिन्चुका जयवीर खड्काले आफ्नो गाउँठाउँ बनाउन यस पटक वडामा निर्वाचनमा उम्मेदवार बन्ने इच्छा बोकेर फर्किएको बताउनुभयो । तर, अन्तिम निर्णय भने गाउँमा गएर सबैसँग सल्लाह गरेर मात्रै गर्ने पनि उहाँले बताउनुभयो ।

आठविसकोट नगरपालिका ९ बटाला, रुकुमका विकास केसी पनि आफ्ना छ जना साथीहरुसँगै नेपालगञ्ज नाका हुँदै घर फर्किनुभएको छ । कामका लागि भारतको हिमाञ्चल प्रदेशको रामपुर पुग्नुभएका उहाँले पनि स्थानीय तह निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताउनुभयो ।

उहाँले यसपटकको निर्वाचनमा पार्टी हेरेर नभई व्यक्ति हेरेर भोट दिने बताउनुभयो । ‘हालसम्म पार्टी हेरेर आँखा चिम्लेर भोट हालियो, तर यस पटक गाउँको विकास घरको गर्न सक्ने र इमान्दार व्यक्तिलाई मात्र छानेर भोट दिने हो,’ जमुनाहा नाकामा भेटिनुभएका केसीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?