logo
२०८१ बैशाख १७ सोमवार



कला संस्कृतिको जगेर्ना गर्दै आँधीखोला

खुला |


कला संस्कृतिको जगेर्ना गर्दै आँधीखोला


अर्जुन काफ्ले
स्याङ्जा, चैत २९ गते । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पालिका भित्रका ६ वटा वडाका आठ बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ ।

विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजा दिएको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो ।

पालिकाले दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली बाजाँ समुहलाई प्रदान गरेको हो । आठ लाख रुपियाँको लागितमा खरिद गरिएका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो ।

पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र आयआर्जनमा सहयोग पुग्ने अपेक्षासहित बाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । पालिकाले वडा नम्बर १ र २ मा दुई दुई थान र अन्य वडामा एक–एक सेट बाजा प्रदान गरिएको हो ।

पालिकाले सिरुवारी बाजा समूह, माझकटेरी बाजा समूह, उखुवारी बाजा समूह, मडुवा नौमति बाजा समूह, पाख्रीबोट बाजा समूह, पंचासे बाजा समूह, सेपत बाजा समूह, अरिङ्गाले बाजा समूहलाई बाजा उपलब्ध गराएको हो ।

वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएकोमा अरिङ्गाले बाजा समूह आँधीखोला–५ का अध्यक्ष ठाकुर परियारले खुशी व्यक्त गर्नुभयो ।

बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरुको संगालो स्वेतपत्र बिमोचन तथा सार्वजनिकीकरण, विद्यालय स्वच्छ खानेपानी कार्यक्रमअन्तर्गत सम्पूर्ण विद्यार्थीहरुको लागि युरोगार्ड र पानी ट्याङकी हस्तान्तरण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?