logo
२०८१ बैशाख १७ सोमवार



निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन स्थलगत अनुगमनमा सुरक्षा निकाय

खुला |


निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन स्थलगत अनुगमनमा सुरक्षा निकाय


अमृतप्रसाद पौडेल
बेनी, चैत २९ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सञ्चालन गर्नका लागि हिमाली जिल्ला म्याग्दीमा सुरक्षा निकायहरुले ध्यान केन्द्रीत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तीलक भारतीले जिल्ला भित्र रहेका ७४ स्थानका ११४ मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले टुङ्ग्याएको हुनाले सुरक्षा चुनौतिका विषयमा अध्ययनका लागि सुरक्षा निकायको टोली स्थलगत अनुगमनमा पुग्न थालेको बताउनुभयो ।

डीएसपी भारतीका अनुसार सुरक्षा समितिको टोलीले जिल्लामा रहेका छ वटै स्थानीय तहका मतदान स्थलमा स्थलगत रुपमै पुग्ने योजना बनाइएको र धेरै स्थानमा पुगि सकीएको छ । पुग्न बाँकी रहेका मतदान स्थलमा पनि छिट्टै पुगेर विश्लेषण गरिने डीएसपी भारतीको भनाइ छ ।

म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक जना अन्य गरी ८५ हजार ३७५ मतदाता कायम छन् । जिल्ला निर्वाचन आयोग म्याग्दीको तथ्याङ्क अनुसार हाल सबैभन्दा कम अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानीस्थित सर्वोदय माध्यमिक विद्याय मतदान केन्द्रमा ९९ पुरुष र १०४ महिला गरी २०३ मतदाता रहेका छन् ।

त्यस्तै, सबैभन्दा धेरै मंगला गाउँपालिका–३ बरंजाको महेन्द्र रत्न माध्यमिक विद्यालय मतदान केन्द्रमा १ हजार २८५ पुरुष एक हजार ३३० महिला गरी कुल दुई हजार ६१५ मतदाता रहेका छन् ।

म्याग्दी जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलसहित अरु अरु १४ वटा दलहरु दर्ता भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ती पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राप्रपा नेपाल, राप्रपा, नेपाली काँग्रेस विपी, नेपाल दलित पार्टी, समाजवादी पार्टी नेपाल, विवेकशिल साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतन्त्र पार्टी र सामाजिक एकता पार्टी स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?