logo
२०८१ बैशाख १४ शुक्रवार



असिनापानीले किसानको बालीमा ठूलो क्षति

खुला |
प्रदेश |


असिनापानीले किसानको बालीमा ठूलो क्षति


बिष्णुप्रसाद पोखरेल
दमक, चैत २९ गते । आईतवार दिउँसो झापामा आएको हावाहुरीसहितको असिनापानीले किसानले लगाएको बालीमा ठूलो असर गरेको छ । किसानले लगाएको मकै र चैते धान, बेमौसमी तरकारी खेतीमा असर गरेको हो । किसानहरुका बाख्रा तथा कुखुरा फर्महरु पनि हावाहुरी र असिनाले भत्काइदिएको कृषकको भनाई छ ।

जिल्लाका १५ वटै पालिकामा हावाहुरीसहितको असिनापानीले क्षति गरेपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र झापाकाअनुसार स्थानीय पालिकामार्फत क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । जिल्लामा भएको क्षतिको विवरण भने तयार भइनसकेको केन्द्रको भनाई छ ।

झापाको कचनकवलका अगुवा किसान नबराज भट्टराईकाअनुसार घोगा निस्कन शुरु गरेको मकै र पसाउन लागेको अगुवा धानमा क्षति पुगेको छ । लगातर आधा घण्टाभन्दा बढी समय आएको असिनापानीले खेतीबारीमा लगाएको बाली नाश गरेको छ, भट्टराईले भन्नुभयो ।

झापा दमकका किसान नारायण योङहाङ्गकाअनुसार १० कठ्ठामा लगाएको कुरिलो खेतीमा पनि असिनापानीले असर पुगेको छ । दैनिक ७० केजीसम्म उत्पादन हुँदैआएको कुरिलो अहिले आधा घटेको छ । टुसाएर बाहिर निस्किएको कुरिलो सबै असिनाले भाँचेर नाश गरेको उहाँले बताउनुभयो ।

झापाको कमल गाउँपालिकामा पनि सबैजसो वार्डमा असिनापानीको असर परेको जनाइएको छ । गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलकाअनुसार किसानले लगाएको मकैबाली, धानबाली र तरकारी खेतीमा धेरै असर गरेको छ । कमल गाउँपालिका ६ का खोमप्रसाद निरौलाले ५ कठ्ठाभन्दा बढी जमिनमा लगाएको काँक्रो खेती सोत्तर बनेको छ । हावाहुरी र असिनाकाकारण किसानको ठूलो क्षति भएको भन्दै किसानलाई क्षतिपुर्ति दिन स्थानीय राजनीतिक दलहरुले स्थानीय सरकारसँग माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?