logo
२०८१ बैशाख १२ बुधवार



पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु

खुला |
प्रदेश |


पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु


रेखीराम राना
पाल्पा, चैत ३० गते । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई सहज हुने गरी पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु भएको छ । पहाडी जिल्लाका सेवाग्रहीलाई सवारी चालक अनुमतिपत्र लिन सहज हुने गरी तानसेनको बाँसटारीमा ट्रायल सेन्टरको निर्माण सुरु गरिएको हो ।

लुम्विनी प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको लगानीमा चालक अनुमति परीक्षण केन्द्र (ट्रायल सेन्टर) बनाउन सुरु गरिएको हो । ट्रायल सेन्टर निर्माणका लागि टेण्डर भएर यो वर्ष ५० लाख बजेट विनियोजन भएको छ । सोही स्थानमा ट्रायल सेन्टरसहित यातायात व्यवस्था सेवा कार्यालयको भवन समेत निर्माणका लागि जग्गा व्यवस्थापन सकिएको र डिपीआर बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । भवन निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेकाले डिपीआर बनाउने र टेण्डर प्रक्रिया अगाडि बढाउने काम सुरु भएको छ ।

साना तथा ठूला सवारीसाधनको सवारी चालक अनुमति पत्रका लागि बाँसटारीमा ट्रायल सेन्टर बनाउन लागिएको मन्त्रालयले जनाएको छ । अहिले ट्रायल सेन्टर नहुँदा चालक अनुमतिपत्रको ट्रायलका लागि पाल्पा सहित गुल्मी र अर्घाखाँचीका सेवाग्रही बुटवलमा आउने गरेका छन् ।

पाल्पामै ट्रायल सेन्टर निर्माण भएपछि चालक अनुमतिपत्र प्राप्त गर्न सहज हुने तानसेन नगरपालिका–७ का वडा अध्यक्ष मुक्तिराम जिसीले बताउनुभयो । चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर बनेपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्ने र सेवाग्रहीले पनि सहज रुपमा सेवा पाउने वडाध्यक्ष जिसीले बताउनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय र ट्रायल सेन्टर एकै स्थानबाट सञ्चालन हुने गरी द्रुतगतिमा काम भइरहेको मन्त्रालयले जनाएको छ । यहाँबाट पनि सेवाग्राहीले यातायातसम्बन्धी सबै सेवा एकै स्थानबाट एकै पटकमा पाउनेछन् ।

पछिल्लो समय सवारीसाधनको सङ्ख्या वृृद्धि भएको छ । सवारीसाधनको सङ्ख्या बढेकाले चालक अनुमतिपत्र लिने सेवाग्रहीको सङ्ख्या बढेको अवस्थामा ट्रायल सेन्टरको स्थापनाले सेवालाई सहज बनाउने मन्त्री पूर्मती ढेँगाले बताउनुभयो । ट्रायल सेन्टरको स्थापनाले समग्र यातायात क्षेत्रमा देखिएको ढिलासुस्ती, विकृति र विसङ्गतिमा कमी आउने मन्त्री ढेँगाले बताउनुभयो । जनताको चाहना र मागलाई सम्बोधन गर्न मन्त्रालयले अन्य स्थानमा समेत ट्रायल सेन्टर सञ्चालनको काम थालनी गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?