logo
२०८१ बैशाख ११ मंगलवार



हेली कम्पनीलाई सगरमाथा निकुञ्जको अल्टिमेटम

खुला |
प्रदेश |


हेली कम्पनीलाई सगरमाथा निकुञ्जको अल्टिमेटम


सन्तोष राउत
सोलुखुम्बु, चैत ३० गते । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फछ्र्यौट गर्न हेलिकप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यसअघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा निकुञ्जले चैत २९ गते हेलिकोप्टर कम्पनीलाई सो अल्टिमेटम दिएको हो ।

तोकिएको समयावधिभित्रमा बेरुजु फछ्र्यौट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । यसअघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानविन समितिका संयोजक मनोजकुमार मण्डलले पेश गर्नुभएको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको बताउनुभयो ।

पटक पटक ताकेता गर्दासम्म ११ वटा हेलिकप्टर कम्पनीले उडान अवतरणको बेरुजु रकम फछ्र्यौट गर्न तदारुकता नदेखाएपछि जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले उडान अवतरणमा रोक लगाउने निर्णय गरिएको थियो । निकुञ्जले सिम्रिक एयर, कैलास, मनाङ, माउण्टेन, फिस्टेल, हेलि एभरेष्ट, डाईनेष्टि अल्टिच्यिुड, प्रभु, श्री एयरलाईन्सलाई राजश्व दाखिला गर्न अन्तिम पटक पत्राचार गरेको छ ।

कैलाश एयरले आ.व. २०७५–७६ कै आठ लाख ६१ हजार रुपियाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र एयर डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्याङ्क छ ।

अन्य सात कम्पनीहरूको भने चार लाख रुपियाँभन्दा कम बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको दाबी गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?