गोपाल खनाल
कोरोना (कोभिड १९) महामारीविरुद्धको विश्वयुद्ध जारी छ । केही साता अझै यो क्रम चल्छ किनकि यो खतरा मोलेर विजय प्राप्त गरिने साहसिक खेलजस्तो होइन । त्यसैले विश्व अहिले भौतिक ‘आइसोलेसन’ मा छ तर प्राविधिकरूपमा जोडिएकै छ । शक्ति र सामथ्र्यका दृष्टिकोणले साना–ठूला र विकासका दृष्टिकोणले निर्बल र सबल सबैले सकेसम्मको शक्ति कोरोनालाई परास्त गर्न लगाएका छन् । अहिले मानवताविरुद्ध ठूलो हमला भएको छ, जसलाई उन्नत प्रविधिले पनि पराजित गर्न सकेको छैन ।
३१ डिसेम्बरमा चीनको वुहानमा यो सक्रमण देखिँदा तीन महिनाका बीचमा महामारीको आकार लिन्छ भन्ने अनुमान सायद बेइजिङलाई पनि भएन, अरू राष्ट्रको त चासोमै आएन । चीनले एक्लै परास्त गर्यो । अमेरिकाले चीनमा देखिएको बेला गम्भीरतापूर्वक लिएन । त्यसको परिणाम आज सबैभन्दा बढी सङ्क्रमण अमेरिकामा फैलिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवारमात्र दुई खर्ब डलरको राहत प्याकेज घोषणा गर्नुभएको छ । तर जतिबेला यो घोषणा भयो, अमेरिकामा कोरोना विस्तार भइसकेको थियो । ५० राज्यमा एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने अमेरिकाभर तीव्र विस्तारित भइरहेको छ ।
चीनलाई सङ्क्रमणको रिपोर्ट लुकाएको आरोप लगाउने राष्ट्रपति ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्नुभयोे जसमा चीनले रोकथाम गर्न र विस्तार रोक्न अमेरिकालाई सहयोग गर्ने बतायो । राष्ट्रपति सीले कोरोना विश्वको साझा चुनौती भएको भन्दै चीन र अमेरिकाले मिलेर सामना गर्नुपर्ने धारणा राख्नुभयो, जसमा ट्रम्प सहमत हुनुभयो । किनकि सङ्क्रमण विस्तारित हुँदैछ, नपुगेका राष्ट्रमा पुग्दैछ ।
भीड नै सङ्क्रमित भएको इटालीमा मात्र ८६ जना चिकित्सकको मृत्यु भएको छ, जो अग्रभागमा रहेर उपचारमा संलग्न थिए । केही दिनमा अझै यो सङ्ख्या बढ्दै जाने बीबीसीले जनाएको छ । त्यहाँ एकैदिनमा नौ सय जनाको मृत्यु भयो । स्पेनमा पनि तीव्ररूपमा विस्तार भएको छ । फ्रान्समा बन्दाबन्दी (लकडाउन) दुई सातालाई वस्तिार गरिएको छ । भारतमा १९ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ । रुसमा प्रारम्भिक सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।
मानव विकाससँगै महामारी पनि विकास भएको इतिहास छ । महामारीले मानवतालाई आरम्भदेखि नै आक्रमण गर्दै आएको छ । मानवताको शत्रुका रूपमा बेलाबेलामा देखापर्दै इतिहासको बाटो नै बदलेको देखिन्छ । मानव सभ्यतामाथि वारम्बार हमला गरेको छ, कतिपय बेला समाप्त पनि भएका छन् ।
तीन हजार बीसी (ईपू) अघिको चीनमा देखिएको सिर्कादेखि अहिले चीनमै देखिएको कोरोनासम्म आइपुग्दा २० वटा यस्ता महामारीले विश्वका सबै भूगोललाई प्रभावित पारेका छन् । यस्ता महामारीले वर्गीय विभेद गरेका छैनन्, न उमेरप्रति आग्रह राखेका छन् । स्वाइन फ्लु (एचवान एनवान), इबोला, जिका लगायतका महामारी पछिल्ला दृष्टान्त हुन् ।
रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरू महामारीबाट बढी प्रभावित भएका छन् । यो महामारीले विश्व नै ‘लकडाउन’ भएका बेला केही महत्वपूर्ण सन्देश विश्व समुदायले लिनुपर्छ । जतिसक्दो छिटो यथार्थ महसुस गरेर अघि बढ्न सक्यो, त्यति मानवतामाथिको आक्रमणविरुद्ध लड्न सकिन्छ । समाजको तीव्र विकाससँग आएका मानव व्यवहारका सबै पक्ष सकारात्मकमात्र हुँदैनन्, त्यहाँ अवैज्ञानिक पक्ष पनि छन् भन्ने ‘नमस्ते’ को अन्तराष्ट्रिकरणले प्रमाणित गर्छ । पूर्वीय सभ्यताको पुनःस्थापनाको युग आगमन भएको देखाउँदैछ, योगको विश्वव्यापीकरण होस् वा अहिले नमस्तेको अन्तर्राष्ट्रिय अभ्यासले ।
महामारीको सन्दर्भमा दुई विषय पेचिलो रूपमा देखिएका छन् । पहिलो, नवउदारवादी विश्वमाथि गम्भीर प्रश्न र धक्का । दोस्रो, राष्ट्रवादमाथि अन्तर्राष्ट्रियवाद हावी । हेरौँ —
अहिलेको विश्व मूलतः नवउदारवादी विश्व हो, यसलाई चीनजस्तो कम्युनिष्ट शासन पद्धतिले समेत स्वीकार गरेको छ । त्यही भएर चीनले समेत राजनीतिक व्यवस्थालाई तुलनात्मक अनुदार राखेर आर्थिक व्यवस्थालाई उदारवादी ढाँचामा ढालेको छ । त्यही मिश्रित मोडेलका कारण चीनले ठूला आर्थिक सङ्कटलाई सहजै पार गर्दै आएको छ । सन् २००८ मा विश्व आर्थिक मन्दीमा जाँदा चीन खासै प्रभावित भएन । सामाजिक सुरक्षाको मोडल मानिने पुँजीवादी उत्तरी युरोपेली राष्ट्रसमेत महामारीको सामना गर्न अपेक्षित सक्षम देखिँदैनन् ।
नवउदारवादी विश्वभित्र खुलाबजार सबैभन्दा महत्वपूर्ण हुन्छ र कल्याणकारी राज्यको भावना समाप्त हुन्छ । कोरोना नियन्त्रणका सन्दर्भमा चीनले आफ्ना नागरिक केन्द्रित जुन नीतिलाई तत्कालै अख्तियार गर्यो, त्यसको परिणाम चीनमा तुलनात्मक छिट्टै नियन्त्रणमा आयो । अहिले चीनले आफ्नो अनुभव र रोकथामका लागि एसिया, युरोप, दक्षिण अमेरिका र अमेरिकासम्मलाई आवश्यक पर्ने सहयोग गरिरहेको छ । राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति सीले सहयोग गर्न चीन तयार रहेको बताउनु त्यही हो ।
किन इटाली र अमेरिकामा यो भाइरस तीव्र विस्तार भयो ? किनभने त्यहाँ मूलतः नागरिकको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राखिएन । पहिलो, चीन यो भाइरसविरुद्ध लडिरहँदा बाँकी युरोप र अमेरिका रमिते बने । चीनमा देखिएको भाइरस चीनको मात्रै समस्या हो भन्ने ठाने । चीनले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गर्दासमेत विश्वसमुदायको ध्यान आकर्षित भएन । किनभने चीन भर्सेज अमेरिकाको वैश्विक ध्रुवले शक्ति अभ्यासलाई निर्देशित गरेको छ, जो जस्तै प्रतिकूलता अभ्यास भइरहेको छ ।
एकप्रकारले भन्दा विश्व राजनीतिक र कूटनीतिक व्यवस्थामा चीनको जबर्जस्ती स्थापित भूमिकाले चिन्तित अमेरिका र युरोप कोरोना सङ्क्रमणबाट चीन आर्थिक रूपमा कमजोर हुने आँकलनमा रहे । सायद त्यही भएर मूकदर्शक बने तर चीनले सङ्क्रमण नियन्त्रणमात्र गरेन, अहिले ऊ अर्थतन्त्रलाई सक्रिय पार्दैछ । राष्ट्रपति सी आफैँ सङ्क्रमणको केन्द्रबिन्दु रहेको वुहानको भ्रमणमा मात्र जानुभएन, देशभरका सबै नागरिकलाई आश्वस्त पार्नुभयोे र पारिरहनुभएको छ । नवउदारवादी विश्वको नेतृत्व गर्ने ट्रम्प आफैँले राजनीतिक रूपमा अनुदारवादी सोच ल्याउनुभयो–‘अमेरिका पहिला’ नीतिको नाममा । झट्ट हेर्दा ट्रम्प अमेरिकीहरूको हितसुरक्षालाई प्राथमिकतामा राख्छन् भन्ने देखिन्छ तर व्यवहारमा उहाँले आम अमेरिकी नागरिक होइन, केही अमेरिकी व्यापारी र कर्पोरेटका लागिमात्र काम गरिरहनुभएको छ भन्ने आरोप अमेरिकीहरूकै देखिन्छ । अहिले कोरोनाविरुद्धको युद्धमा जुन व्यवहार राष्ट्रपतिले सुरुमा देखाउनुभयो, त्यसले उहाँ अमेरिकी नागरिकप्रति गम्भीर रहेको सन्देश प्रवाहित गरेन । न्युयोर्कका गभर्नरले जसरी आक्रोश र बिलौना एकैसाथ सीएनएनमा राखे, त्यसको निशानामा राष्ट्रपति ट्रम्प हुनुहुन्छ । किनकि गभर्नरको गम्भीर आरोप छ– राष्ट्रपति अमेरिकी नागरिकको जीवन होइन, ‘कथित’ अमेरिकी अर्थतन्त्र बचाउने नीतिमा छन् । नागरिक मारेर अर्थतन्त्र कसरी बच्छ ? उनको प्रश्न छ । अर्थात् नागरिक कल्याणका लागि नवउदारवाद असफल हुँदैछ भन्ने यो महामारीका सन्दर्भमा पनि देखिन्छ ।
अर्को, वैश्विक सहकार्य । आजको विश्व ऐकान्तिक विश्व होइन । ‘ग्लोबल भिलेज’को अवधारणा मूलतः सहकार्यकै अवधारणा हो, जो प्रविधिले ल्याएको परिवर्तन हो तर अब त्यो प्रविधिलाई कल्याणसँग पनि जोड्नुपर्छ, जसले यस्ता महामारीमा विश्व एकत्वको भावना निर्माण गर्नसक्छ । आर्थिक रूपमा सबल भएर पनि महामारीविरुद्ध एक्लै लड्न सकिँदैन भन्ने सन्देश युरोप र अमेरिकाको अहिलेको अवस्थाले देखाएको छ । अमेरिका महाशक्ति भएकाले कोरोना भाइरस प्रवेश गर्नुहुँदैन, प्रवेश गरिहाले टिक्न सक्दैन भन्ने भ्रम अझै पाल्नुपर्छ र ? ‘अमेरिकी पहिला’ भन्ने राष्ट्रपतिले उनीहरूको रक्षा गर्न पनि अब बेइजिङतिर फर्कनुपर्ने अवस्था आयो कि आएन ? हो, मानव रक्षाका लागि यस्तो सहकार्य अपरिहार्य छ भन्ने सन्दर्भमा लचकता आवश्यक छ ।
राष्ट्रियताको मुद्दा कतिबेला प्रधान भएर आउँछ र कतिबेला कम्युनिष्टहरूले भन्ने गरेको अन्तर्राष्ट्रियवादको मुद्दा जागृत हुन्छ, त्यो विकसित घटनाक्रमले निर्धारण गर्छ । यो समय ट्रम्प र बोरिस जोन्सोनको राष्ट्रवादको समय होइन । उहाँहरूको नवउदारवादको समय पनि होइन । अहिलेको समय राज्यको तहमा हुने विश्व सहकार्य र अन्तर्राष्ट्रियवादको समय हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभ्यास गरेको राजनीति पनि राष्ट्रवादको राजनीति हो तर उहाँले कोरोनाविरुद्धको युद्धको आयतन र गम्भीरता बुझेर हुनसक्छ, क्षेत्रीय सहकार्यको अवधारणा ल्याउनुभयो । सार्क सहकार्यको खुला आह्वान गर्दै त्यसका लागि आर्थिक कोषको घोषणा गर्नुभयो, जसमा सबै सदस्य राष्ट्रले सकेको योगदान गरेका छन् । नेपालले पनि योगदान गरेको छ ।
मोदीले सार्क सहकार्यको धारणा राख्दा त्यसमा समर्थन जनाउँदै प्रधानमन्त्री केपी ओलीले विश्व सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियो । त्यसअनुसार नेपालले अहिले छिमेकीबाट मात्र होइन, अन्य राष्ट्रबाट पनि सहयोग लिएको छ र नेपालले सबैलाई एक भएर यो मानवताको अस्तित्वमा धावा बोल्ने भाइरसलाई परास्त गर्न आह्वान गरेको छ । प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य छाडेर सिङ्गो मानव समुदायको स्वास्थ्यप्रति चिन्तित रहेको सन्देश दिनुभएको छ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)