प्रा.डा. श्रीरामप्रसाद उपाध्याय
प्रत्येक एक सय वर्षमा नेपाल ठूलो युद्धमा मुछिने गरेको थियो, अब त्यस्तो नहोस् । दुई सय वर्षपहिले नेपालले आफ्नैनिम्ति अङ्ग्रेज साम्राज्यवादको विरुद्धमा लड्नुपरेको थियो । त्यसको ठीक एक सय वर्षपछि नेपालले प्रथम विश्वयुद्धमा त्यस राष्ट्रका निम्ति लड्यो, जुन राष्ट्रको विरुद्धमा उसले सय वर्षअगाडि लडेको थियो । यो घटनाले नेपालको राष्ट्रिय मनोविज्ञान र सम्पूर्ण चिन्तनको प्रतिनिधित्व गर्छ । प्रथम विश्वयुद्धका निम्ति कारकका रूपमा जर्मनी र फ्रान्स रहे पनि बेलायतको आडम्बर र अहङ्कारले गर्दा त्यस युद्धले विश्वयुद्धको रूप लियो ।
प्रथम विश्वयुद्ध हुनुभन्दा ५६ वर्षअघि सन् १८७० मा जर्मनीले फ्रान्सको भौगर्भिक दृष्टिकोणले अत्यन्त महŒवपूर्ण रहेको एल्सेस र लोरेनमाथि अधिकार जमायो । जर्मनीमा अटोभोन बिस्मार्क चान्सलर (प्रधानमन्त्री) भएसम्म फ्रान्स युरोपियन गुटबन्दीबाट अलग रहेको थियो । जर्मनीमा सम्राट विलियम प्रथमको मृत्यु भएपछि नयाँ युवा सम्राट विलियम द्वितीयलाई बूढा चान्सलर मन परेन । तिनले अटोभोन बिस्मार्कको सट्टा बर्न हर्ट भोन बुलोलाई नयाँ चान्सलर बनाए । तिनले बिस्मार्ककै जस्तो फ्रान्सलाई एक्लो पारेर राख्न सकेनन् ।
त्यसैबखत अस्ट्रियाको राजकुमार आकेड्युक फ्रान्सिस फर्डिनेन्डको हत्या बोस्नियाको राजधानी सेराजेवोमा भयो । यसको सम्पूर्ण दोष सर्बियालाई लगाएर जर्मनीले सर्बियामाथि आक्रमण ग¥यो । जर्मनीको विरुद्धमा फ्रान्स, बेलायत, जापानजस्ता देशहरू जाइलागेका थिए । त्यस युुद्धमा विश्वका धेरैजसो राष्ट्रहरू संलग्न भएको हुनाले यसलाई पहिलो विश्वयुद्ध भनिएको हो । नेपालले बेलायतको पक्षमा जर्मनीको विरुद्ध युद्धमा भाग लिएको थियो ।
त्यसबखत जर्मन सम्राट विलियम प्रथमले जर्मनी सेना संसारको जुनसुकै मुलुकसँग युद्ध गर्न तयार हुन्छ तर नेपाली सेनाको नाम सुन्नेबित्तिकै मुटु थर्किन्छ भनेका थिए । नेपालले बेलायतको तर्फबाट युद्धमा भाग लिन तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले दुई लाख नेपाली युवालाई अङ्ग्रेज सेनामा भर्ती गराएका थिए । यसबाहेक पनि चन्द्रशमशेरले बेलायत सरकारलाई युद्धका निम्ति एक करोड ३७ लाख रुपैयाँ र अलैँची, चिया, कपडा र काठ पठाएर सहयोग गरेका थिए । यस युद्धमा एक लाख छ हजार पाँच सय ४४ जना नेपाली सेनाले फ्रान्स, इराक, इजिप्ट, प्यालेस्टाइनजस्ता महŒवपूर्ण नाकामा लडेका थिए । त्यस युद्धमा २० हजार नेपाली सेना मारिएका थिए । यस युद्धमा वीरता प्रदर्शन गरेबापत राइफलम्यान कुलवीर थापाले ‘भिक्टोरिया क्रस’ (तक्मा) प्राप्त गरेका थिए । यीबाहेक पद्मध्वज गुरुङ, रामप्रसाद थापा, तेजबहादुर गुरुङ, गोपालसिंह राउत, गम्भीरसिंह गुरुङ र रणसुर राईले विभिन्न मानपद्वी प्राप्त गरेका थिए ।
त्यस युद्धमा बेलायत र फ्रान्स पक्षधर राष्ट्र विजयी र जर्मनी, अस्ट्रियालगायतका राष्ट्र पराजित भए । जर्मनीलाई युद्धको सम्पूर्ण आरोप लगाई भर्सिलिजको अपमानजनक सन्धिमा हस्ताक्षर गर्न लगाइएको थियो । त्यस्तै प्रकृतिको सन्धिमा एक सय वर्षअघि नेपालले सुगौलीमा हस्ताक्षर गर्नुपरेको थियो ।
भर्सिलिजको सन्धिले जर्मनीको आत्मसम्मानमा ठूलो चोट पु¥याएको थियो । बेलायतले मेची पूर्व र महाकाली पश्चिमको भू–भाग खोसेकोजस्तै विजयी राष्ट्रहरूले जर्मनीको ठूलो भू–भाग खोस्नुका साथै उसमाथि युद्धको क्षतिपूर्तिस्वरूप ठूलो रकम थोपरे । जर्मनीको एडल्फ हिटलरले जर्मनवासीलाई यस युद्धको हारको बदला लिने कुरामा आश्वस्त गराए । जर्मनहरूले तिनका कुरामा विश्वास गरे र आफ्नो राष्ट्रप्रमुख तथा सरकार प्रमुख बनाए ।
प्रथम विश्वयुद्ध भएको २५ वर्ष पनि नपुग्दै जर्मनीले पोल्यान्डमाथि आक्रमण गरेर द्वितीय विश्वयुद्धको थालनी ग¥यो । प्रथम विश्वयुद्धजस्तै बेलायत र फ्रान्ससम्बद्ध राष्ट्रहरू जर्मनीको विरुद्धमा ओइरिएका थिए । प्रथम विश्वयुद्धपछि आफूले चाहेकोजति भू–भाग नपाएको हुनाले यस युद्धमा जापानले बेलायतको पक्ष छाडेर जर्मनीको साथ दिएको थियो । त्यसैले नेपाली सेनाले यस युद्धमा बेलायतको पक्ष र जर्मनी तथा जापानको विपक्षमा लडेको थियो । १ सेप्टेम्बर १९३९ मा प्रारम्भ भएका द्वितीय विश्वयुद्ध पाँच वर्षसम्म निरन्तर चलिरह्यो । बेलायतको पक्षमा एक लाख ४८ हजार पाँच सय नेपाली युवालाई युद्धमा भाग लिन पठाइएको थियो । त्यस युद्धमा नेपाली सेनाले मिश्र, सुडान, एबिसिनिया, इटली, सिरिया, इरान, इराक, सिङ्गापुरजस्ता ठाउँमा लडाइँ खेलेका थिए । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर र तिनकी रानीले यस युद्धको खर्चका निम्ति चार लाख ५५ हजार रुपियाँ ‘आर्थिक सहयोग’ गरे ।
यस युद्धको समयमा नेपालले बेलायतलाई बन्दुक बनाउन हजार थान ओखरको काठ, रेलको लिक बनाउन ६ लाख क्युबिक बहुमूल्य काठ (साल), खाद्यसामग्रीका रूपमा ४५ हजार पाउन्ड चिया, चिनी र बिस्कुट उपलब्ध गराएको थियो । युद्धमा हजारौँ नेपाली युवाले जीवन गुमाए, नेपाली गाउँ तथा सहरहरू युवाविहीन हुन पुगे । त्यस्ता रणका गाथा–व्यथा हाम्रा सारङ्गीमा रेटिएका नबिर्सौं । जर्मनीको पुनः पराजय भयो । जर्मनीका तानाशाह हिटलरले पनि आफ्नी प्रेमिकासँगै आत्महत्या गरे ।
नेपाली सैनिक जवानले वीरता देखाएबापत बेलायत सरकारबाट सुबेदार लालबहादुर थापा, सिपाही लक्ष्मण गुरुङ, सिपाही तुलबहादुर पुन, हवलदार गजे घले, सिपाही गन्जु लामा, नायक अगमसिंह राई, सिपाही नेत्रबहादुर थापा, सिपाही शेरबहादुर, सिपाही कमान गुरुङ र सिपाही भानुभक्त गुरुङले ‘भिक्टोरिया क्रस’ तक्मा प्राप्त गरेका थिए ।
निष्कर्ष
नेपालीले दुई सय वर्षअगाडि ब्रिटिस–इन्डियासँग आफ्नो सीमारक्षाका निम्ति ज्यानको आहुति दिएका थिए । तर, त्यसको ठीक सय वर्षपछि नेपाली सेनाले तिनै बेलायतीका निम्ति प्रथम विश्वयुद्ध लडे ।
त्यसको २५ वर्षपछि नेपाली युवाले बेलायतको पक्षमा द्वितीय विश्वयुद्धमा जीवन उत्कर्ष गरे । यी दुई युद्धहरू यिनले अरूका निम्ति, अरूको भूमिमा लडेका थिए । एकपटकको शत्रु सधैँको शत्रु हँुदैनन् भन्ने ज्वलन्त उदाहरण बेलायतविरुद्ध र पक्षमा भएको युद्धले देखाइदिएको छ । बेलायत र बेलायती जनता हाम्रो मित्र भएका छन् ।
नेपालीले बेलायतको पक्षमा प्रथम विश्वयुद्धमा लडेको सय वर्ष पुगेको छ । नेपाली युवा बेलायती सेनामा भर्ती भइरहेकै छन् । उनीहरू त्यही सेनामा भर्ती हुन साँझ–बिहान छाती, पाखुरा तन्काइरहेका देखिन्छ । एक पक्ष भन्छ– यसलाई रोक्नुप¥यो । अर्काे पक्ष भन्छ– पहिले स्वदेशमा रोजगार र सुविधा देऊ त्यसपछि भर्ती बन्द गर ।
‘जान्न म त गोर्खा भर्ती, विदेशीको छाउनीमा...’ जस्ता गीत गाएर नेपाली नवपुस्तालाई राष्ट्रवादी बनाउने अभियन्ताहरू अहिले शासकीय हैसियतमा छन् । बेलायत सरकारले पनि भर्ती बन्द गर्ने कुरा सोचिरहेको बुझिन्छ । यससम्बन्धमा दुवै पक्षबाट धेरै गृहकार्य गर्नु आवश्यक छ ।
(लेखक इतिहासका प्राध्यापक हुनुहुन्छ ।)