logo
२०८१ जेष्ठ ७ सोमवार



राष्ट्रपति, अभिभावक र हजुरबा–हजुरआमा

राष्ट्रिय झन्डा, प्रतीक, चिह्न र छापजस्तै हो राष्ट्रपति

विचार/दृष्टिकोण |


राष्ट्रपति, अभिभावक र हजुरबा–हजुरआमा


कृष्णमुरारी भण्डारी

हिजो बिहीबार (अक्टोबर १, २०२०) संसारभर तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । राष्ट्रसङ्घको आह्वानमा मनाउन थालिएको यो दिवसमा ज्येष्ठ नागरिकलाई कोभिड–१९को प्रभावबाट कसरी जोगाउने भन्नेबारे नेपालमा पनि धेरै परिचर्चा भए । राष्ट्रपतिले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गर्नुभएको छ ।
संसारभर कोभिड–१९ ले ज्येष्ठ नागरिक अत्यधिक प्रभावित र मृत्यु पनि यही उमेर समूहका व्यक्तिको भएको छ । ज्येष्ठ नागरिकको सुरक्षाप्रति चिन्ता विश्वकै एजेन्डा बनेको छ । हरेक व्यक्तिले जन्मेपछि ज्येष्ठ नागरिक बन्ने प्रक्रिया पार गर्नुपर्छ । ज्येष्ठ नागरिकको सुरक्षा गर्नु भनेको प्रत्येक व्यक्तिले आफ्नो सुरक्षाको उत्कट चाहना व्यक्त गर्नु हो ।
देशलाई एउटा परिवार मान्ने हो भने हाम्रो राष्ट्रपति देशको ज्येष्ठ नागरिक हो । राष्ट्रपति पदको गरिमा यसैमा रहेको छ । बोलीचालीमा ज्येष्ठ नागरिक भनेको बूढाबूढी, वृद्धवृद्धा, हजुरबा÷हजुरआमा हो । राष्ट्रपति सम्मानित र आस्थाको धरोहर हुन् । विश्वासको धरोहर हुन् । परिवारको मियो हुन्, जोसँग कुनै कार्यकारी अधिकार छैन !

हजुरबा — हजुरआमा
हजुरबा÷हजुरआमाको नामको लालपुर्जा छोरा÷बुहारी र नातीनातिनाकहाँ पुगिसकेको हुन्छ । ढुकुटी पनि सुम्पिइसकेका हुन्छन् । तर पनि हजुरबा÷हजुरआमा यतिबल र प्रभावशाली, यतिविघ्न आधिकारिक हुन्छन् कि उहाँहरूको सहमतिबेगर परिवारका कोही फिटिक्कै चल्दैनन् । परिवारमा अधिकारको होइन, सम्मान, विश्वास र पहिचानको प्रभाव रहेको हुन्छ । जो उहाँहरूको ज्ञान, सीप र अनुभवप्रतिको सम्मान हो । राष्ट्रपतिले सन्देशमा भन्नु पनि भएको छ–‘मातृ देवो भव, पितृ देवो भव !’ सबैमा जगजाहेर छ कि हजुरबा÷हजुरआमामा रहेको त्यो आधार, आस्था, विश्वास र जिम्मेवारी यस्तो गाम्भीर्य हो कि परिवारमा कोही कसैको विवाह÷व्रतबन्ध वा कुनै शुभकार्य गर्नुपरेमा उहाँहरूको मञ्जुरी र स्वीकृतिले निर्णयमा प्रभाव पार्छ । कुनै जग्गा बेच्नुप¥यो भने पनि सल्लाहको परिपालना हुन्छ । जब कि त्यो सम्पत्तिको धनीपुर्जा उहाँहरूको नाममा समेत हुँदैन ।
राष्ट्रपति भनेका हाम्रो राष्ट्रका हजुरबा÷हजुरआमा हुन् । एकताको प्रतीक हुन् । राष्ट्रको गरिमा हुन् । परिचय हुन् । यही भूमिका हाम्रो संविधानले पनि राष्ट्रपतिलाई दिएको छ । संविधानसभाबाट संविधान जारी हुनुअघि प्रथम राष्ट्रपति बन्नुभयो– डा. रामवरण यादव ! उहाँ सङ्क्रमणकालमा राष्ट्रपति बन्नुभएको हो । नेपालमा भएको उथलपुथल सामन्तवादविरोधी राजनीतिक–साँस्कृतिक क्रान्तिभन्दा पनि उपल्लोस्तरको युगान्तकारी परिवर्तन हो । त्यसबाट जनताका छोराछोरी देशको राष्ट्राध्यक्ष बन्ने आमूल परिवर्तनकारी थालनी भयो । राष्ट्रपति डा. यादवले संविधानसभाले बनाएको नेपालको संविधान ०७२ लाई ढोगेर असोज ३ गते संभिधानसभा भवनबाट जारी गर्नुभयो ।
नेपालमा गणतन्त्र स्थापना राजनीतिक–सामाजिक–आर्थिक क्रान्तिमात्र होइन, यो त्यसभन्दा पनि उच्चतहको महान् साँस्कृतिक क्रान्ति हो, जसको प्रतीकका रूपमा राष्ट्रपतीय संस्था स्थापना भएको छ । र यो त्यस्तो संस्था हो, जहाँ जुनसुकै धर्म, संस्कृति, वर्ग, लिङ्ग, भाषा र क्षेत्रको व्यक्ति पदासिन भएर राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न पाउँछ । प्रथम राष्ट्रपतिले संविधान जारी गर्दा राष्ट्रको मूल कानुनलाई ढोग्नु भनेको उहाँको त्यसप्रति आस्था, विश्वास र निष्ठा छ भन्ने ज्वलन्त प्रमाण हो । राष्ट्राध्यक्षको जिम्मेवारीमा रहेर, राजनीतिक–आर्थिक–साँस्कृतिक क्रान्तिको फल भनेर, उहाँले राष्ट्रपतिलाई संविधानको संरक्षक एवम् पुजारी बनाउँदै ढोगेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।
दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी देशकै प्रथम महिला राष्ट्रपति निर्वाचित हुनुुभयो । संविधानअनुरूप राष्ट्रपति बनेपछि संविधानको संरक्षक र राष्ट्रप्रमुखका रूपमा परिवारको अभिभावक, हजुरआमाको भूमिकामा हुनुहुन्छ । संविधान बनेपछि नयाँ राष्ट्रपतिको चुनावबाट उहाँले नै निरन्तरता पाउनुभयो । दुई–दुई वर्षमा राष्ट्रपति पद फेरिनु उचित हुँदैन भन्ने बहस पनि थियो ।
हजुरबा÷हजुरआमाको पदीय गरिमा नबुझ्दा ‘म कार्यकारी पो हुने हुँ’ भनेका थिए– प्रधानमन्त्री भइसकेका केही नेताले । उनीहरूले राष्ट्रपति बन्न स्वीकारेनन् । जब राजनीतिक नेतृत्वले हजुरबा÷हजुरआमाको भूमिका, राष्ट्रको जिम्मेवारी र गरिमा बुझे अनि अब कसरी र कति छिटो हटाएर आफैँ जान पाए हुन्थ्यो भन्ने हतारो गरेको पनि देखियो । यसलाई मध्ययुगीन सामन्तवादी सोचको पराकाष्ठा मान्नुपर्छ ।
केही समययता ‘सोसल मिडिया’ र जिम्मेवार सञ्चारमाध्यमहरूमा समेत जिम्मेवार व्यक्तिबाट राष्ट्रपति पदको गरिमाप्रति फरक किसिमको टिप्पणी, आलोचना र आक्षेप गरिएको छ । तर, यो यस्तो गरिमामय पद हो कि हरेक नेपालीले यसमा आफ्नो विम्ब देख्नुपर्छ । आफ्नो सन्तान भोलि देशको राष्ट्रपति बन्ने सपना र तस्बिर हरेक जात, जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ण र वर्गका प्रत्येक नागरिकले देख्न सक्छन् । त्यसैले यसको गरिमा झन् बढाउने हो । राष्ट्रपतिको गरिमा बढ्नु भनेको नागरिककै गरिमा बढ्नु हो । यो नेपालको साँस्कृतिक क्रान्तिले ल्याएको र हरेक लिङ्ग तथा समुदायले परिवर्तनमार्फत प्राप्त गरेको महान् उपलब्धि हो ।
भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको भनाइ यहाँनेर मननीय छ । उहाँले भन्नुभएको थियो– म भारतका सबै नागरिकको प्रतिनिधि हुँ । म बसिरहेको राष्ट्रपति भवन तिनै जनताको भवन हो ! त्यस्तै प्रथम भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसादले भन्नुभएको थियो– साँस्कृतिक एकताको प्रतीकका रूपमा मैले आफूलाई परिभाषित गरेको छु । म अब एउटा व्यक्ति होइन, सबै जनताको प्रतिनिधि हुँ ।

राष्ट्रिय एकताको प्रतीक
नेपालको राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक हो । हाम्रो राष्ट्रपति ‘सेरेमोनियल’ हो र हाम्रो एकताको सर्वमान्य विम्ब हो । हाम्रो राष्ट्रपतिले गरेका काम, त्यसको जिम्मेवारी, उत्तरदायित्व र जवाफदेही कार्यकारी प्रधानमन्त्री र मन्त्रिपरिषद्को हुन्छ । त्यसैले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू, कुनै अवस्थामा अविलम्ब गर्नुपर्छ, नाइँनास्ती गर्ने समय नै राष्ट्रपतिसँग हुँदैन । विषय नबताई, जानकारी नगराई प्रस्तुत भए सोधखोज, परामर्श र संविधानअनुसार भएको छ छैन भनेर राष्ट्रपतिले कार्यकारीमै पठाउने हो । हाम्रो संविधानले कस्तोसम्म प्रावधान गरेको छ भने राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभाका सदस्य पनि मन्त्रिपरिषद्ले सिफारिस गरेको व्यक्तिलाई मात्र नियुक्त गर्न सक्छ । कसलाई नियुक्ति, किन, के कारणले आवश्यक भयो, को योग्य–अयोग्य, संविधानअनुसार मिल्छ, मिल्दैन, त्यसको निक्र्यौल कार्यकारीले नै गर्ने हो, राष्ट्रपतिले होइन । संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने हो, राष्ट्रपतिले होइन ।
राष्ट्रपतिलाई रबर स्ट्याम्प (छाप) भनेर बुद्धिजीवी, प्रबुद्ध, संविधानका विख्यात ज्ञाताबाट व्याख्या गरियो तर कुरा त्यस्तो होइन । हो चैँ के भने, छाप आधिकारिक हो । छाप रबर, पित्तल, काठ, स्वर्ण जेबाट बनाए पनि त्यो आधिकारिक हो । राष्ट्रपति आधिकारिक हुन् । लगाउने त त्यही स्ट्याम्प नै हो । त्यो नलगाई कुनै पनि दस्तावेज आधिकारिक हुन्न । राष्ट्रपति संविधानअनुसार लालमोहर हो र त्यो राष्ट्रपतिबाटै प्रमाणीकरण हुने हो ।
स्ट्याम्प कतिखेर लगाउने, लगाउने कि नलगाउने, के गर्ने भन्ने कुरामा कार्यकारीले सल्लाह दिएको हुनुपर्छ । कतिपय सन्दर्भमा हामी परिपक्व हुँदै पनि छौँ तर त्यसको जस, अपजस कार्यकारीले लिनुपर्छ । त्यसैले भनिन्छ, राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हो । अरू विज्ञ, राष्ट्रपति कार्यालयमा सिर्जना गरिएका पद र तिनले निर्वाह गर्ने भूमिका भनेको राष्ट्रपतिको दैनिक प्रशासनिक काम, संविधानप्रदत्त राष्ट्राध्यक्षको भूमिका, पदीय गरिमा सुझबुझ, अतल– बितल नपर्नेगरी राष्ट्रपतिका आँखा, कानलगायत पाँच ज्ञानेन्द्रियले अनुभूत गर्ने काममा सहयोग गर्ने हो । विज्ञ सल्लाहकारहरू विषय, क्षेत्र, भित्रको काम पर्गेल्ने सहयोगीमात्र हुन् ।

राष्ट्रपतिले के गर्नुपर्छ ?
राष्ट्रपतिले हरेक दिन ७७ जिल्ला, सात प्रदेश र ७५३ स्थानीय निकायका नागरिकलाई भेट्नुपर्छ । अनि मात्र देशभर र नागरिकको मनमा राष्ट्रपति प्रतिविम्बित हुन्छ । तालको पानीमा आफ्नो प्रतिविम्ब हेर्दा देखिएजस्तै जसले हेर्दा पनि राष्ट्ररूपी पोखरीमा आफ्नो प्रतिविम्ब देख्नुपर्छ ।
राष्ट्रपतिले विषयविद्, मिडिया र ‘थिङ्कट्याङ्क’हरूलाई भेट्नुपर्छ । यो नियमित र आवधिक काम हुनुपर्छ । जनता भेट्ने र सुन्ने काम राष्ट्रपतिको प्रमुख दिनचर्या हुुनुपर्छ । राजनीतिक कूटनीतिक क्षेत्रसँग पनि नियमित भेटघाट गर्नुपर्छ ।
तक्मा र मानपद्वी राष्ट्रपतिले लगाइदिने भएकाले उसैले दिने कुरा हो भन्ने प्रचार गरिएको छ । तर, यो सत्य होइन । राष्ट्रपति त माध्यममात्र हो । राष्ट्रपतिले आफ्नै छोरीलाई तक्मा दिनुभयो भन्ने आरोप लगाउनु अज्ञानता हो । राज्यले मदन भण्डारीलाई मृत्युपर्यन्तको पद्वीले सम्मान गरेको हो र कानुनअनुसार राष्ट्रपतिले पदक वितरण गरेर सुशोभित गरिदिएकोमात्र हो । राष्ट्रपति कार्यक्रमहरूमा जानु, सरल पहिरनमा हिँडडुल गर्नुको साङ्केतिक अर्थ हुन्छ । साँस्कृतिक तथा राष्ट्रिय कार्यक्रममा राष्ट्रप्रमुखको उपस्थितिले विशेष अर्थ राख्छ । प्रत्येक नेपालीको बैङ्क खाता खोल्न राष्ट्रपति हिँड्न सकेको भए त्यसले उहाँलाई सर्वसाधारणसम्म पु¥याउने थियो । सामाजिक विकृतिविरुद्ध, छाउपडी, देउकी, बोक्सी, छुवाछूत, हलिया, कमैया, बालश्रम उन्मूलन, घरेलु हिंसाविरुद्धका अभियानहरूलाई मूल प्रवाहीकरण गर्ने अभियानमा राष्ट्रपति हिँड्नुपर्छ । सबैलाई शिक्षा, स्वास्थ्य र शैक्षिक जागरणजस्ता अभियानमा उपस्थित भई नैतिकवान, जिम्मेवार, देशभक्त नागरिक बनाउन राष्ट्रपतिको भ्रमणले विशेष अर्थ राख्छ । वातावरण परिवर्तनले पारेको प्रभाव कम गर्न, कोभिडले पारेको प्रभावबाट ग्रस्त अर्थतन्त्रलाई उकास्न व्यापारी, उद्योगपतिहरूसँग भेटघाट गर्नुको प्रभाव सकारात्मक पर्नेछ । यस्तो गर्दा सल्लाहकारहरूले प्रशस्त गृहकार्य गरी कन्सेप्ट नोट (अवधारणा) लिएरमात्र भेटघाट गर्नु प्रभावकारी हुन्छ ।

अझै भ्रम !
कतिपयमा अझै भ्रम रहिरहेको छ । वर्तमान राष्ट्रपति एमालेको उपाध्यक्ष, सांसद, मन्त्री हुनुहुन्थ्यो । मदन भण्डारीको धर्मपत्नीको हिसाबले एमालेको लिगेसी (विरासत) भनेर अथ्र्याउँछन्, व्याख्या गर्न खोज्छन् । उहाँमा त्यसैको आकृति देखिरहनु उचित होइन । किनभने राष्ट्रपति निर्वाचित भएकै क्षण उहाँबाट भूतपूर्व पद र विरासत हटिसक्यो । देशकै साझा, एकताको प्रतीकमा उहाँ रूपान्तरण भइसक्नुभयो । उहाँ पार्टीभन्दा माथि हुनुहुन्छ । उहाँमा भएको यो रूपान्तरण बुझाउन र वास्तविकता विस्तार गर्न उहाँका सल्लाहकारले नसकेको तीतो यथार्थ हो । राष्ट्रपतिलाई समष्टिमा बुझ्नुपर्छ, व्यष्टिमा होइन । राष्ट्रपति भनेको जनताको सर्वोच्च संस्था हो । राष्ट्रिय सुरक्षाको परमाधिपति हो ।
अर्को भुल्नै नहुने कुरा के भने– कार्पेट, भवन, गाडी, हेलिकोप्टर किन्ने कुरा राष्ट्रपति कार्यालयभन्दा पनि सरकारको विभागीय काम हो । कर्मचारीतन्त्रबाट निहित स्वार्थका लागि बेलाबेलामा गलत सूचना प्रवाहित गर्ने र प्रक्रियाको दुरुपयोग हुने गर्छ । यसमा सल्लाहकारहरू सदैव सचेत हुनुपर्छ । सधैँ के सम्झिरहनुपर्छ भने देशको राष्ट्रिय झन्डा, प्रतीक, चिह्न र छापजस्तै हो राष्ट्रपति ।
राजतन्त्रको समाप्ति र गणतन्त्रको सुरुवातका दिनमा राष्ट्रपति औपचारिक कार्यक्रममा हिँड्दा राजामहाराजाको कार्गेट जस्ताको तस्तै थपक्क राखिदिने गल्ती भएकाले महाराज महारानी भनेर अपव्याख्या र भ्रम सिर्जना गरिएको हो । राष्ट्राध्यक्षको सुरक्षा व्यावसायिक र राष्ट्रिय सुरक्षाको समेत सवाल हो । यहाँ व्यक्ति को र कुन पृष्ठभूमिको भन्ने होइन । पहिलो राष्ट्रपतिलाई राजाको कार्गेट र सवारीसाधनहरू पनि त्यही प्रयोग गरियो । यसलाई सरलीकरण र छरितो बनाउन सकिन्थ्यो । क्रान्ति अगाडिको राजसंस्था र राजाप्रति जनताको घृणा र आक्रोश थियो । त्यस्तै प्रकृतिको व्यवस्था गर्नाले जनआक्रोश प्रकट भएको हो ।
राष्ट्रपति राजा होइन । देशको एकताको प्रतीक हो । देशकै हजुरबा÷हजुरआमा हो । त्यसैले राष्ट्रपतिको बाँकी कार्यकाल र नयाँ आउने राष्ट्रपतिलाई सहज हुनेगरी नजिर बसाउनुपर्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?