logo
२०८१ बैशाख २१ शुक्रवार



नेपाली पर्यटन पूर्वाधारमा ध्यान

विचार/दृष्टिकोण |




निनाम कुलुङ ‘मङ्गले’

नेपाल सरकारले केही वर्षअघि मात्रै औपचारिक रूपमा पर्यटनलाई उद्योगको मान्यता दिएको छ । विश्वका अधिकांश देशका पर्यटन व्यवसायी र ती देशका सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा सुरु गरिने र आम्दानीको धेरै राम्रो स्रोतका रूपमा लिने गरिन्छ पर्यटन उद्योगलाई ।
विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको लगभग एक सय आठ दशक भइसकेको छ । विश्वमा पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र सङ्गठित रूपले भ्रमण व्यवसाय सुरु गरेका थिए । सुरुमा उनले निश्चित रकम लिएर आफ्नै देशका भ्रमणप्रेमी नागरिकलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मानिसले अनेकखालका भ्रमणहरू विश्वभरिका कुनाकाप्चासम्म नै गर्थे÷गरेका थिए । तर, ती मानिसले गर्ने भ्रमणहरू निश्चित उद्देश्यसहित फरक–फरक ढङ्गले हुने गथ्र्यो ।
थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो त ? भन्नेतर्फ सानो मन्थन गरौ ।
थोमसले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटनका रूपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौँ घुम्ने÷बिदा मनाउनेबाहेक अरू कुनै राजनीतिक, जासुसी उद्देश्य थिएन । यसरी कुनै निहित वा निर्देशित स्वार्थ नलिई गराइएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई नै विश्वको पहिलो ‘पर्यटकीय टोली’ मानियो । स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटनको सुरुवातकर्तामात्रै होइन, ‘पर्यटन क्षेत्रको पिता’ नै मान्ने गरिएको छ ।
तर, सुरुमा उनले पनि दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाएका थिए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनका आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । आन्तरिक रूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकलाई लिएर स्वयम् पर्यटकीय उद्देश्यसाथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । अहिले विश्वका अधिकांश मुलुकका अर्बांै मानिसले पर्यटकीय भ्रमण गरिसकेका छन् ।
यता, लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशी नागरिकलाई (कूटनीतिक र सिकारको उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाइएकाले गर्दा नेपालमा पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । नेपालमा विक्रम संवत् २००७ को राजनीतिक परिवर्तनदेखि विसं २०१५ को सङ्क्रमणकालीन अवस्थामा पनि अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । तर, तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा राजनीतिक ‘कू’ गरेपछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरेको देखिन्छ । जे भए तापनि विदेशमा नेपाली पर्यटनको प्रचार–प्रसार र बजारको विस्तार विदेशीहरूबाटै सुरु भएको स्वीकार्नुपर्ने हुन्छ ।
विसं २०४६ (सन् १९८९÷९०) मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपालमा आएका विदेशी पर्यटकहरूको सङ्ख्याले पनि लाखको सङ्ख्या नाघ्न थाल्यो । सन् १९८९÷९० मा नेपालमा आएको प्रजातान्त्रिक व्यवस्थासँगै नेपाली पर्यटनले पनि केही बढी महŒव पाएको, पैmलिएको मान्न सकिन्छ । नयाँ र प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि गर्न सक्नेजति काम गरेन । तत्कालीन श्री ५ को सरकारले पर्यटन क्षेत्रमा गर्व गर्न लायक कामै गरेन, सिवाय नेपाल पर्यटन बोर्ड गर्नेबाहेक । तर, हिमाल आरोही, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (¥याफ्टिङ)मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे सलामी दस्तुर लिने, शुल्क असुल्ने, त्यस्तै निषेधित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गरिन्थ्यो भने अझै पनि नेपाल सरकारले नेपालका केही निषेधित क्षेत्रबाट केही महँगो शुल्क लिने गर्छ, सो क्षेत्रमा भ्रमण गर्न जाने विदेशी पर्यटकबाट ।
विसं २०६२÷०६३ को तेस्रो जनआन्दोलन भयो । सो आन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या पनि लगातार बढिरहेको थियो । तर पनि ती पर्यटकहरूले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको दैनिक नेपाल बसाइ अवधिमा भने प्रगति हुन सकेको छैन । त्यसैले हामीले नेपाल आउने पर्यटकको सङ्ख्यामात्रै होइन, उनीहरूले गर्ने दैनिक खर्च र नेपाल बसाइ अवधिमा कसरी बढोत्तरी गर्ने ? यता विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
सन् २०१५ को तथ्याङ्कअनुसार नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति, प्रतिदिन औसतमा ७३ अमेरिकी डलर खर्च गरेका थिए । तर, त्यसपछिका वर्षहरूमा प्रतिव्यक्ति, प्रतिदिन औसतमा ४१ डलर, ४४ डलर, ४९ डलर, ५५ डलरमात्रै खर्च गरेको तथ्याङ्क रहेको देखिन्छ ।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई (हुवई) प्रान्तको राजधानी वुहानबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिलेसम्म विश्राम लिने अवस्था नदेखिएकाले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटक सङ्ख्या बढ्ने सम्भावना देखिँदैन । त्यसैले अबको तीन÷चार वर्षसम्म नेपाल आउने विदेशी पर्यटकहरूको पनि न त सङ्ख्या नै भनेजस्तो बढ्ला, न त गुणस्तर र बसाइ अवधि नै बढ्ला ! तर, के त्यसबेलासम्म हामीले पूर्वाधार बलियो बनाउन सक्दैनौँ र ? 
(लेखक पर्यटन मजदुर हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?