logo
२०८१ जेष्ठ ७ सोमवार



गणतन्त्रका लौह पुरुषहरू !

लौहपुरुष गणेशमान सिंहको विशेषता– लोकतन्त्रप्रति निष्ठा, इमानदारी र अविचलित सङ्घर्षको प्रतीक !

विचार/दृष्टिकोण |


गणतन्त्रका लौह पुरुषहरू !


 

कृष्णमुरारी भण्डारी


नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक अन्तर्वार्तामा नेपाली राजनीतिको समस्याको चुरो पहिल्याउनुभएको छ । जसले सत्तासीन नेकपामात्र होइन, प्रमुख प्रतिपक्षी काँग्रेस र अन्य दलभित्र गिजोलिइरहेको राजनीतिलाई पनि पटाक्षेप गरेको छ । के कम्युनिस्ट, के काँग्रेस र के अन्य दललाई बहुदलीय व्यवस्था स्थापनापछि पिरोलिरहेको पिलो फोर्नुपर्ने र खिल निचोरेर राजनीतिक घाउ निको पार्नुपर्ने सत्य उजागर गर्नुभएको छ उहाँले ।
एक निजी क्षेत्रको टेलिभिजन कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री गुरुङले व्यक्त गर्नुभएको सूत्र हो– सरकार र पार्टीको सीमा कहाँ सुरु हुन्छ र कहाँ गएर सकिन्छ ? स्पष्ट हुनुपर्छ । पार्टी विधान र नेताहरूको आदेशअनुसार सरकार सञ्चालन गर्ने हो वा पार्टीले नै उम्मेदवार बनाएको र संसदीय दलको नेता चुनिएपछि प्रधानमन्त्री बनेको नेताले सरकारको गठन र सञ्चालन गर्ने हो ? यसको छिनोफानो हुुनुपर्छ । उहाँले उठाउनुभएको अर्को सवाल हो– देशको कार्यकारी प्रमुख भइसकेकाहरू पुनः कार्यकारी पदमा रहन नपाउने प्रावधान हुने हो भने तीन दशकदेखिको कचमच भइरहेको पिलो सदाका लागि समन हुनेछ ।
नेकपामा एक वर्षदेखि बल्झिरहेको विवादलाई यस सूत्रबाट हल गर्न खोज्ने हो भने सदनमा झन्डै दुईतिहाइ बहुमत रहेको गौरवशाली पार्टी पुनः स्थापनाकालको जोश, जाँगर र लयमा फर्किन सक्छ । नेकपामात्र होइन, काँग्रेस र अन्य दलहरू पनि यथार्थ धरातलमा अवतरण हुनेछन् अनि आफ्नो क्षेत्राधिकारमा रहेर अगाडि बढ्ने मार्गप्रशस्त हुनेछ । यसो भयो भने, देश र जनताका चुनौती र सम्भावनाबारे दत्तचित्त भएर इस्यु (विषय)मा अगाडि बढ्ने यात्राको शुभारम्भ हुनेछ किनभने त्यसपछि नीति–कार्यक्रम र योजनामा प्रतिस्पर्धा गर्ने युगको प्रारम्भ हुनेछ । जालझेल, व्यक्तिगत तथा पारिवारिक स्वार्थको किचकिचको युग समाप्त हुनेछ । जनताले पनि पार्टीका योजना र कार्यक्रमका आधारमा प्रतिनिधि चुन्नेछन् । धनवाद, डनवाद, ठेकेदार, बिचौलिया, अपराधी र माफियाको राजनीतिमा भइरहेको बोलवाला सदाका लागि अन्त्य हुनेछ । राजनीतिक नेता र अगुवाहरू बिचौलियाहरूको फाइल र व्यक्तिको लाभका लागि अल्मलिने संस्कृतिको पनि अन्त्य हुनेछ । फेरि पनि जनताले निष्ठा, आस्था, प्रतिबद्धता, आदर्श, पारदर्शिता, मूल्य–मान्यता र सदाचारको राजनीति गर्नेलाई मात्र मतदान गर्नेछन् । हैन भने अमेरिकी जनताले शक्तिशाली भनिएका ट्रम्पलाई भर्खरै सकिएको चुनावमा झैँ धुलिसात पारिदिन सक्नेछन् ।
मुख्यमन्त्री गुरुङले औँल्याएको सूत्र कार्यान्वयन हुन नसकेकाले झन्डै दुईतिहाइ मतले विजयी केपी ओली नेतृत्वको सरकार आफूले बनाएका योजना र लक्ष्य पूरा गर्नेतिर होइन, आफ्नै पार्टीका पूर्वनेताहरूको किचलोमा अस्तव्यस्त बनेर बाँकी समय पनि लफडाबाजी र पौँठेजोरीमै नारायणहरि हुने निश्चित छ । नेकपाबाट पटक–पटक प्रधानमन्त्री भइसकेका नेताहरूमा बाँचुन्जेल पुनः पदासीन हुने तृष्णाले नयाँ पुस्ताले जिम्मेवारीसहित खारिन पाएको छैन । अभैm पनि अर्को पुस्ता अलमलमा रहेको छ ।
यही महारोग प्रजातान्त्रिक भनेको नेपाली काँग्रेसमा पनि व्याप्त छ । सधैँ हजुरबाहरूले नै फुटबल मैदान कब्जा गरेपछि खेल प्रतिस्पर्धी होइन, भुत्तेमात्र हुने निश्चित छ । त्यस्तो नेतृत्वले नयाँ पुस्तालाई आकर्षित पनि गर्दैन र आस पनि जगाउँदैन ।
अति भइसक्यो, यो रोकिनुपर्छ र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनुपर्छ । यो विषयमा प्रधानमन्त्री ओली अर्को निजी क्षेत्रको टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा प्रस्ट रूपमा बोल्डली (स्पष्टतः) प्रस्तुत हुनुभएको छ । यसले के कुराको सङ्केत गर्छ भने प्रधानमन्त्री ओली गणतन्त्रको लौहपुरुषका रूपमा रूपान्तरित हुन प्रयासरत हुनुहुन्छ । उहाँ आफूमात्र होइन, सबै भूतपूर्व प्रधानमन्त्रीहरू र लामो समय शासन सत्तामा रहेका बूढा पुस्ताका प्रतिनिधिहरूलाई राजनेता र लौहपुरुषमा रूपान्तरण गर्न खोजिरहनुभएको भान हुन्छ । साँच्चै ओलीले भनेजस्तो र चाहेजस्तो बारम्बार राज्यसत्ताको बागडोर सम्हालेकाहरू राजनेतामा रूपान्तरण हुने र लौहपुरुष बन्ने हो भने समृद्ध नेपाल सुखी नेपाली महाअभियान यो पुस्ता आफैँले देख्न र भोग्नसमेत पाउँछ । सरकार र पार्टीहरूको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ ।
पार्टीका नेता तथा कार्यकर्ता आफ्ना प्रधानमन्त्रीलाई सफल बनाउन लागिरहनुपर्छ, खुट्टा तान्न होइन । लोकतन्त्रमा आमनिर्वाचनको महŒव यहीँनेर छ । विश्वव्यापी सर्वस्वीकृत मान्यता नै हो आवधिक निर्वाचन । आमनिर्वाचनले ट्रम्पलाई धुलिसात पा¥यो । नरेन्द्र मोदीलाई पुनः सत्तामा पु¥यायो । प्रधानमन्त्री ओलीले एउटा पुस्तालाई नै राजनेता र लौहपुरुषका रूपमा रूपान्तरण गर्न खोजेको देखिन्छ । तर, उहाँको शक्ति गरिबी, अशिक्षा, अभाव र दुर्बलता हटाउँदै समृद्ध नेपाल सुखी नेपाली महाअभियानमा हुनुपर्नेमा तपसिलमै अल्मलिनुपरेको देखिन्छ । वर्ष दिनदेखि नेकपा यस्तै छिनाझप्टीमा अल्मलिएको र जगहँसाइ बनेको छ !
लौहपुरुष गणेशमान सिंहको विशेषता– लोकतन्त्रप्रति निष्ठा, इमानदारी र अविचलित सङ्घर्षको प्रतीक ! कठोर अनुशासन । पार्टीमा सधैँ फरकमत तर पार्टीले निर्णय गरेपछि दह्रो बनेर त्यसको पक्षमा उभ्भिने । बोली नफेर्ने । जतिसुुकै दुःख–कष्टमा पनि नलकपकाउने ! प्रधानमन्त्री पद अस्वीकार गर्दा पनि उहाँको कद घटेन । बढिरह्यो । त्यसैले नेकपाका बूढा पुस्ताका नेताहरूलाई गणतन्त्रका लौहपुरुष बन्ने अवसर आइपुगेको छ । यो अवसर उपयोग भएन भने जनताले सदाका लागि वामपन्थीहरूलाई अविश्वास गर्नेछन् । समाजवादको परिकल्पना गरेर राजनीतिमा प्रवेश गरेका नेताहरू जनतालाई सङ्गठित गर्दै, जनमत आर्जन गर्दै गणतन्त्रको अभियानसँगै दुईतिहाइ मत प्राप्त गर्न सफल भए ! जब सफलता प्राप्त भयो, नेताहरू यही सफलता व्यवस्थापन गर्न चुके । सफलताको व्यवस्थापन गर्न नसक्दा विकासको गति र लयले गति लिन नसकेको हो ।
सरकार पार्टी विधानअनुसार चल्ने कि संविधानअनुसार सरकार चल्ने हो ? कुरो प्रस्ट छ, प्रधानमन्त्री ओली नेकपाको मात्र होइन, सिङ्गो मुलुक र जनताका प्रधानमन्त्री हुन् । संविधानले त्यही भनेर चिन्छ । भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो विजयसभामा दिएको अभिव्यक्ति यहाँ मननीय छ । उहाँले भन्नुभयो, ‘मलाई मतदान गर्ने झन्डै आठ करोड अमेरिकीलाई धन्यवाद । विपक्षमा मत दिनेलाई पनि धन्यवाद । निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाता र यो अभियानमा होमिने संसारभर रहेका अमेरिकी नागरिकलाई पनि धन्यवाद । अब मेरो भूमिका सम्पूर्ण अमेरिकीलाई एकताबद्ध गर्न र सबैको हितमा काम गर्नमा केन्द्रित हुनेछ । सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुँ म । राष्ट्रपतीय पदसँगसँगै मेरो जिम्मेवारी रूपान्तरण भइसकेको छ ।’
बाइडेनको यो भनाइ सम्पूर्ण लोकतन्त्रवादी र आवधिक निर्वाचन प्रणाली अवलम्बन गर्नेहरूका लागि अनुकरणीय र सदैव स्मरणीय छ । हाम्रो मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र अवलम्बन गरेको र मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय प्रतिस्पर्धाका आधारमा आवधिक निर्वाचनमार्फत सरकार बनाई मुलुक सञ्चालन गर्ने राजनीतिक दर्शन बोकेको नेकपा र त्यसका उत्तराधिकारी केपी ओलीलाई पनि प्रातःस्मरणीय छ । यसमा अलमल र द्विविधा हुनुपर्ने छैन ।
नेपालको इतिहासमा सात सालदेखि यता एउटा पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न पाएको छैन । देशी–विदेशीहरू नेपाललाई असफल राष्ट्र बनाउन लागिरहेका छन् । त्यसो हो भने प्रधानमन्त्री ओलीलाई त्यो बिरलाकोटीको अवसर प्राप्त होला ? उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुहोला ?
२०१७ सालमा बीपीले १८ महिना शासन गरेपछि राजाबाट सत्ताच्युत गरिनुुभयो । पञ्चायतकालभरि राजाको आशीर्वाद पाउनेहरूले मात्रै सरकारमा बस्न पाए । प्रजातन्त्र पुनःस्थापना भएपछि ०४८ सालमा निर्वाचित पूर्ण बहुमतको सरकारलाई ०५१ सालमा गिरिजाप्रसाद कोइरालाले देशलाई मध्यावधि निर्वाचनमा होम्नुभयो । यसको परिणाम काँग्रेस सत्ताच्युत हुनुप¥यो । ०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणापछि चुनाव जितेको काँग्रेसले भट्टराईलाई आफ्नो कार्यकाल पूरा गर्न दिएन । जसको परिणाम मुलुकले सदैव राजनीतिक दुष्परिणाम बेहोर्नुप¥यो ।
२०४६ सालको परिवर्तनपछि बनेको कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारदेखि २०७४ मा बनेको केपी ओली सरकारको दिन गन्ती गर्दै जाने हो भने नेपालमा २८ वर्षमा २७ वटा सरकार बने । कति दिन प्रधानमन्त्री बने ? जो यसप्रकार छ ः (१) कृष्णप्रसाद भट्टराई, ४०२ दिन । (२) गिरिजाप्रसाद कोइराला, १२८४ दिन । (३) मनमोहन अधिकारी, २८६ दिन । (४) शेरबहादुर देउवा, ५४७ दिन । (५) लोकेन्द्रबहादुर चन्द, २०९ दिन । (६) सूर्यबहादुर थापा, १९० दिन । (७) गिरिजाप्रसाद कोइराला, ४११ दिन । (८) कृष्णप्रसाद भट्टराई, २९६ दिन । (९) गिरिजाप्रसाद कोइराला, ४९१ दिन । (१०) शेरबहादुर देउवा, ४३५ दिन । (११) ज्ञानेन्द्र शाह, सात दिन । (१२) लोकेन्द्रबहादुर चन्द, २३७ दिन । (१३) सूर्यबहादुर थापा, ३६४ दिन । (१४) शेरबहादुर देउवा, २४३ दिन । (१५) ज्ञानेन्द्र शाह, ४४८ दिन । (१६) गिरिजाप्रसाद कोइराला, ७६४ दिन । (१७) गिरिजाप्रसाद कोइराला, ८२ दिन । (१८) पुष्पकमल दाहाल, ‘प्रचण्ड’ २८० दिन । (१९) माधवकुमार नेपाल, ६२२ दिन ।
(२०) झलनाथ खनाल, २०४ दिन । (२१) बाबुराम भट्टराई, ५६३ दिन । (२२) खिलराज रेग्मी, ३३४ दिन । (२३) सुशील कोइराला, ६०८ दिन । (२४) केपी ओली, २९६ दिन । (२५) पुष्पकमल दाहाल ‘प्रचण्ड’, ३०७ दिन । (२६) शेरबहादुर देउवा, २५३ दिन । (२७) केपी ओली, ....(स्रोत ः विकिपिडिया) ।
६५ वर्षको राजनीतिक यात्रामा झन्डै दुईतिहाइ सिट जितेर प्रधानमन्त्री बन्नुभएका केपी ओली ०७४ फागुन ३ गतेदेखि शासन सत्तामा हुनुहुन्छ र उहाँलाई पूरै कार्यकाल अर्थात् पाँच वर्ष प्रधानमन्त्री बन्न दिने वा नदिने रस्साकस्सी चरमचुलीमा छ । प्रधानमन्त्री ओली आफूसँगसँगै पुराना पुस्ताका नेताहरूलाई राजनेता र लौहपुरुषमा रूपान्तरण गर्न र नयाँ पुस्तामा पार्टी नेतृत्व र सत्ता हस्तान्तरण गर्न सफल हुनुभयो भने उहाँले अवलम्बन गरेको विदेशनीति ओली डक्ट्रिन पनि सार्थक हुनेछ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?