logo
२०८१ मंसिर १२ बुधवार



नेपालमा आयुर्वेद

विचार/दृष्टिकोण |




डा. गोविन्द टण्डन

आयुर्वेद संस्कृत भाषाबाट निःसृत भएको शब्द हो । यसको प्रख्याति यति छ कि विश्वमा आयुर्वेदलाई नचिन्ने र नबुझ्ने शायदै छन् । यद्यपि यसलाई सम्बोधन गर्न‘पर्दा आआफ्नो भाषामा विभिन्न शब्द चयन हुन सक्छ । आयुर्वेदको अर्थ हुन्छ मानिसको आयुको रक्षा गरी स्वस्थ राख्ने प्राचीन प्रणालीसम्बन्धी ज्ञानको भण्डार । आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धति हो ।
आयुर्वेदको प्रारम्भिक ज्ञाताको रूपमा अश्विनीकुमारलाई मानिन्छ । अश्विनीकुमारबाट इन्द्रले, इन्द्रबाट धनवन्तरीले यो ज्ञानलाई प्राप्त गरे । त्यसपछि काशीराज, दिवोदास, सुश्रुत, अत्रि, भारद्वाज, चरक आदि ऋषि–महर्षिहरूले ज्ञानार्जन गरेर निरन्तरता दिए । प्रारम्भिक कालतिर श्रुति परम्पराबाट चलेको ज्ञानभण्डारलाई पछि लिपिबद्ध गर्ने काम भयो । चरकसंहिता, सुश्रुतसंहिता र भेदसंहिता आयुर्वेदसम्बन्धी ज्ञानराशिको भण्डार मानिन्छ ।
आयुर्वेदलाई ऋग्वेदअन्तर्गतको उपवेद मानिन्छ । यसका आठ अङ्ग मानिन्छन् – शल्य(चिरफार), शालाक्य (तताएको फलाम आदिको प्रयोग), कायचिकित्सा (ज्वरो, अतिशार आदिको उपचार), भुतविद्या (झारफुक आदि), कौमारतन्त्र (बाल्यउपचार), अगततन्त्र (विषसम्बन्धी उपचार), रसायन (रसादि उपचार), बाजीकरण (कामोत्तेजक वा बलबद्र्धक) । अश्वायुर्वेद, गजायुर्वेद, गवायुर्वेद, शान्तार्य‘र्वेद र वृक्षार्य‘र्वेद आदि भेदहरू आयुर्वेदअन्तर्गत नै मानिन्छन् । यसबाहेक अरू पनि भेद आयुर्वेदका छन् । यसको विशद् उल्लेख विष्णुधर्मोत्तरपुराण, गरुडपुराण, अग्निपुराण र अन्य पुराणमा पाइन्छ । आयुर्वेद चिकित्सा प्रणाली वैदिककालभन्दा पहिले सुरू भएको विश्वकै प्राचीन चिकित्सा प्रणाली हो । अहिले विश्वमा जे–जति चिकित्साप्रणाली छन् ती सबैको जननी नै आयुर्वेद हो भन्दा फरक पर्दैन । आयुर्वेद सनातन धर्म–दर्शन र संस्कृतिमा आधारित चिकित्सा पद्धति हो । नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति पनि यही हो ।
पञ्चमहाभूत अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाशबाट यो ब्रह्माण्ड बनेको छ । ब्रह्माण्डमा भएका प्राणीजगत्को खाना, औषधि यिनै पाँच आधारभूत तìवहरूले बनेका हुन्छन् । आयुर्वेदको शरीरक्रिया विज्ञानअनुसार हाम्रा शरीर तीन दोष (वात, पित्त र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल ( मूत्र, पुरीष र स्वेद) ले बनेको हुन्छ । यी घट्दा वा बढ्दा रोग लाग्ने र सन्तुलनमा रहँदा स्वस्थ भई बाँच्न सकिन्छ भन्ने आयुर्वेदको मान्यता रहिआएको छ ।

विधि
प्राकृतिक आहार, विहार, आचार र औषधिको विधि अपनाउने हुनाले यो ज्ञानका विज्ञ कविराज, वैद्य, आम्ची आदिको मार्गदर्शनमा गरिने आयुर्वेद चिकित्सालाई हानिरहित मानिन्छ । रोगको स्वभावलाई जानेर औषधि सेवन, स्नेहन (शरीरमा तेल लगाउने विधि), स्वेदन (शरीरको सेकाइ गर्ने विधि), पञ्चकर्म, क्षारसूत्र, अग्निकर्म, जलौका प्रयोग, दिनचर्या र ऋतुचर्या पालन गर्न‘, स्वास्थ्य रक्षाका लागि गर्न हुने–नहुने विधि पालन गर्न‘, आचार, रसायन, योग, ध्यानअन्तर्गतका विधि पालन गर्न‘ आयुर्वेद चिकित्सा विज्ञानका मुलभूत प्रचलित चिकित्सा विधिहरूमा पर्छन् । नसर्ने रोग न्यूनीकरणका लागि यी विधि अत्यन्त प्रभावकारी छन् । यद्यपि अहिलेको प्रतिस्पर्धात्मक समयमा औषधिविज्ञानका अरू विधाहरूसँग दाँजिन आयुर्वेदमा जति अध्ययन – अनुसन्धान हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने तथा आतुर (रोगी) को रोग हटाउनु नै आयुर्वेदको मूल उद्देश्य हो । प्राणी, वनस्पति र खनिज आयुर्वेद औषधिका मूल स्रोत हुन् ।
अग्नि, धातु, मलक्रिया सामान्य रहनु, आत्मा, मन र इन्द्रिय प्रसन्न रहेर जीवन्त जीवन जिउनुलाई स्वस्थ जीवन मानिन्छ ।

नेपालमा आयुर्वेद
नेपालमा आयुर्वेदको इतिहास खोतल्दै जाने हो भने लिच्छविकालदेखि नै स्पष्ट उदाहरणहरू देखापर्छन् । त्यसअघिको किराँतकाल, महिषपालकाल, गोपालवंशीकाल तथा त्यसभन्दा अघिको अवस्था कस्तो थियो भन्न सकिने प्रमाणहरू छैनन् । तर आयुर्वेद नै औषधोपचारको एकमात्र विकल्प रहेको परिप्रेक्ष्यमा विकसित र अविकसित जेसुकै अवस्थाको भए पनि आयुर्वेदलाई आत्मसात् गरिएको थियो होला भनी अनुमान गर्न गाह्रो पर्दैन । लेलेको शिवदेव (अंशुवर्माको संवत् ५२६ (वि.सं. ६३२) को अभिलेखमा विभिन्न गोष्ठी अर्थात् गुठीहरूको उल्लेख गर्दै जाँदा ‘आरोग्यशाला गोष्ठी’ को उल्लेख आएको छ । त्यहाँ विभिन्न गुठीलाई राज्यको तर्फबाट सहयोग राशि छुट्टयाउँदा आरोग्यशाला गोष्ठीलाई सबैभन्दा बढी २०० मानिका अनुदान दिने व्यवस्था गरिएको छ । आरोग्यशाला भनी स्पष्टसँग उल्लेख गरेकोले यो जनताको स्वास्थ्योपचारका लागि नियत गरिएको संस्था थियो भनी अनुमान गर्न गाह्रो पर्दैन ।
इतिहासकार धनवज्र ब्रजाचार्यले लिच्छविकालका अभिलेख नामक आफ्नो पुस्तकमा त्यसरी नै स्वीकार्न‘भएको छ । त्यसको झण्डै सय वर्षपछिको संवत् ६९ (वि.सं. ७३३) नरेन्द्रदेवको पालाको विश्वसेनकी पत्नी सुवर्ण गोमिनीले पशुपतिक्षेत्रमा राखेको एउटा शिलालेखमा दानपाशुपताचार्यहरूको औषधोपचारका लागि ‘ग्लानभैषज्यार्थ दत्तं’ भनी केही आम्दानी हुने व्यवस्था मिलाएको पाइन्छ । यी उल्लेखहरूले त्यसबेला रोगीहरूको सुविधाका लागि सार्वजनिकरूपले ठाउँ–ठाउँमा औषधालयहरू स्थापना गरिएका हुन्थे भन्ने बुझिन्छ । सातौँ शताब्दीमा चिनियाँ यात्री वाङ्युन्चेको वर्णनमा नेपालीहरू औषधिको काममा सिपालु छन्
भन्ने विवरण छ ।

कसरी भयो विकास
नेपालको मध्यकाल, मल्लकालताका आयुर्वेदको के कस्तो अवस्था थियो भन्न सकिने थोरैमात्र सन्दर्भ पाइन्छन् । वंशपरम्परामा कलाकौसल एवं सीपजन्य कार्यहरू हस्तान्तरण हुँदै जाने परिपाटीलाई हेर्दा आयुर्वेदको पनि त्यसरी परम्परा चलेको भएको हो । नेपाल हिमाल, पर्वत, पहाड एवं तराईका फाँटहरूले वेष्टित भूभाग र भूवनोट भएको अनुपम स्थल भएकोले यहाँ अनेकौँ प्रकारका विलक्षण जडीबुटीको खानी नै रहेको कुरा प्राप्त अनेकौँ पौराणिक ग्रन्थबाटै थाहा पाइन्छ । उबेला सेनामा वैद्यको दरबन्दी हुन्थ्यो । युद्धको समयमा वैद्यहरू सँगसँगै जान्थे र घाइतेहरूको आवश्यक उपचार गर्थे ।
नेपाल संवत् ७८९ (वि.सं १७२६) मा संस्थागतरूपमा वैद्यखानाको स्थापना भयो । सिंहदरबार परिसरमा यसको स्थापना भएकोले यसलाई जनजिब्रोले सिंहदरबार वैद्यखाना भन्न थाल्यो र त्यही नामबाट आजसम्म व्यवहृत छ । सुरुमा यो वैद्यखानाबाट उत्पादित औषधिहरू राजा–महाराजा एवं पहुँचवालाहरूले मात्र प्रयोग गर्न पाउँथे । वि.सं. १९४७ मा वीर अस्पतालको स्थापना हुनुअघि राजादेखि भाइभारदार आवश्यक पर्दा वैद्यखाना (आयुर्वेद) कै माध्यमबाट उपचार गरिन्थ्यो । यद्यपि यसको पहुँच सबैतिर थिएन । व्यवस्थापकीय पक्ष पनि त्यति प्रभावशाली र व्यवस्थित थिएन । तैपनि गाउँघरमा ससाना रोगव्याधिको उपचारका लागि घरेलु पद्धतिहरूबाट रोगलाई समन गर्न परम्परागत अनुभव आर्जेकाहरू यत्रतत्र हुनाले सजिलो थियो । बिस्तारै गाउँघरमा जडीबुटीबाट बनेका औषधिहरू पाइने औषधालयहरू खुले ।
कृषिप्रधान देश भएकोले वस्तुभाउहरू बिरामी पर्दा या बिसन्चो हुँदा पनि जडीबुटीकै भर थियो । राजा रणबहादुर शाहले आफूले संरक्षण एवं रेखदेख गरेका साँढेहरूको आवश्यक परेको बखत उपचार गर्ने उद्देश्यले साँढे वैद्यको रूपमा लक्ष्मीनारायण दाहाल नामका व्यक्तिलाई नियुक्ति गरेको अभिलेख पाइएको छ । साँढे वैद्यका सन्ततिहरू हौँ भन्नेहरू काठमाडौँको गोठाटारमा
अझै पाइन्छन् ।
आयुर्वेदअन्तर्गतको उपचारमा क्रियाशील हुनेहरूले आफ्नो थर पनि ‘वैद्य’ राख्थे । हिजोआज नेवार समुदायमा विद्यमान वैद्यहरूको पुर्खाहरू आयुर्वेदक्षेत्रकै वैद्य, कविराजका सन्ततिहरू हुन् । पहिले नेपालमा वैद्यहरू नेवार समुदायदेखि बाहेक अरू समुदायमा विरलै पाइन्थ्यो । यद्यपि केही वज्राचार्यहरू लामो समयदेखि यो पेसामा भएको छिटपुट देखिन्छ । वर्णाश्रम र जातिपातिको कट्टरताले गर्दा पनि त्यसो हुन गएको हो । सात सालको प्रजातन्त्रपछि भने जो कोहीका लागि यो विद्या खुला भयो । काठमाडौँको देवपाटनमा रहेका एकथरि वैद्यहरू आफूलाई श्रीलङ्काका वीर रावणको उपचारमा संलग्न वैद्य खलक भनेर चिनाउँछन् । उनीहरू आयुर्वेद उपचारमा महौषधि मानिने ‘हलेदो’ रावणले उपहार दिएर नेपालमा आफ्ना पुर्खाहरूले ल्याएको भनी गर्व गर्छन् ।

धागोको सहारा
वि.सं. २००७ को प्रजातन्त्रअघि पराइ लोग्नेमानिसले जो कोही नारीको हातसमेत छुनु हुँदैन भन्ने प्रचलन भएकोले कथंकदाचित राजा–महाराजाका श्रीमती, छोरी–बुहारी बिरामी परे भने गाह्रो थियो । आयुर्वेद उपचार पद्दतिमा हातको नाडी छोएर कफ, बात, पित्त केको असर हो ? जान्नुपर्ने र त्यहीअनुसार औषधि चलाउनुपर्ने हुन्छ । यस्तो बेला तल्लो कोठामा बिरामीको नाडीमा धागो बाँधेर माथिल्लो तलामा बसेको वैद्यले त्यही धागोको चालमा रोग पत्ता लगाउनुपर्ने अवस्था हुन्थ्यो । यसरी जाँच्दा रोगमा तलबितल प¥यो भने दोषको भागी बनिने हुनाले जो पायो त्यही वैद्य पुगीसरी आएका महिलाहरूको उपचारमा आँट गर्दैनथे । तिनताका काठमाडौँका नामी वैद्य कहलिएका ‘अफिम्ची वैद्य’ त्यसरी पनि रोगको निदान गर्नेमा माहिर मानिएका थिए रे !
नेपालमा जङ्गबहादुर राणाको प्रयासले साधारण शिक्षाको प्रचार÷प्रसार हुने अवसर पाउँदै जाँदा पनि आयुर्वेद शिक्षामा त्यति ध्यान गएको देखिँदैन । बरु जान्ने धामी, झाँक्री कतै पाइए दरबारमा पठाइदिनू भन्ने इस्तिहार जारी भएको पाइन्छ ।
धेरै पछि काठमाडौँस्थित भीमसेनस्थान नजिक विष्णुमतीको किनारामा वि.सं १९७३ चैत २० गते अक्षय तृतीयाको दिन एक शैय्यायुक्त नेपाल राजकीय आयुर्वेद औषधालयको स्थापना भयो । आयुर्वेदीय पद्धतिबाट उपचार गर्ने अस्पतालको सुरुवात नै यही हो भने हुन्छ । पं. कविराज हरिप्रसाद खकुरेल त्यसका हाकिम वैद्य थिए । त्यसकै केही समयपछि वि.सं. १९७४ मा त्यही अस्पताललाई चार शैय्यायुक्त बनाइयो । त्यसपछिको एकै वर्षमा अर्थात् वि.सं. १९७५ मा त्यसलाई नरदेवीमा स्थानान्तरण गरियो । वि.सं. २००८ मा त्यसलाई आठ शैय्यायुक्त बनाइयो । क्रमशः शैय्या बढाउँदै जाने नीतिअनुसार वि.सं. २०१७ मा पुग्दा १६ शैय्याको भयो । वि.सं. २०१९ देखि आयुर्वेद विद्यालय र चिकित्सालयलाई एकै ठाउँमा गाभियो र एउटै नामबाट सञ्चालनमा आयो । वि.सं. २०१९ मा केही शैय्या थपेर २५ शैय्याको बनाइयो । वि.सं. २०३८ मा आयुर्वेद विभागको स्थापना भयो । यसले सामान्यरूपमै भए पनि भावी योजनाहरूको केही परिकल्पना गर्ने काम गरेको मान्नुपर्छ । यसैक्रममा वि.सं. २०५२ मा ‘राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति’ आयो । यही नीतिले परिकल्पना गरेका आयुर्वेद विभागका महाशाखाहरू, आयुर्वेद चिकित्सा परिषद् नेपाल, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद चिकित्सालय (हाल ११८ शैय्यायुक्त देशको एकमात्र केन्द्रीय आयुर्वेद अस्पताल), ३० शैय्यायुक्त मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ निर्माणाधीन ५० शैय्यायुक्त क्षेत्रीय आयुर्वेद अस्पताल, पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद अस्पताल, लखनपुर, झापा र सुदूरपश्चिमाञ्चल अस्पताल, गेटा, कैलाली स्थापना भइसकेका छन् ।

शैक्षिक अवस्था
नेपालमा सुरुवातमा गुरु–शिष्य या वंशपरम्पराबाट आयुर्वेदको अध्ययन–अध्यापन हुने गरेकोमा औपचारिकरूपमा प्राविधिक जनशक्ति उत्पादन गर्न श्री ३ चन्द्रशमशेर जबराबाट वि.सं. १९७९ पुसदेखि दुई लाख बराबरको प्रोमिसरी नोट गुठी राखेको उल्लेखनीय मान्नुपर्छ । यहाँ आयुर्वेदको औपचारिक शिक्षाको प्रारम्भ वि.सं. १९८५ मा नेपाल राजकीय आयुर्वेद विद्यालयको स्थापनासँगै भएको हो । संयोगकै कुरा हो, वि.सं. १९८४ मा बनारस हिन्दु विश्वविद्यालयअन्तर्गत आयुर्वेद कलेजको स्थापना भएको थियो । नेपाल राजकीय आयुर्वेद विद्यालयमा वि.सं. १९९० देखि वैद्यविनोद, वैद्यभूषण, वैद्यरत्नका लागि क्रमशः दुई वर्षे, चार वर्षे र छ वर्षे अवधिका तीन पाठ्यक्रम पढाइन्थ्यो । यो क्रम वि.सं. २००८ सम्म चल्यो ।
वि.सं. २००८ देखि वि.सं. २०३०–३३ सम्म त्यही पाठ्यक्रमलाई आयुर्वेद मध्यमा, आयुर्वेद शास्त्री र आयुर्वेदाचार्यमा परिणत गरी सञ्चालन गरियो । वि.सं. २०२८ देखि प्रारम्भ भएको नयाँ शिक्षा योजनाले नेपाल राजकीय आयुर्वेद विद्यालय त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत रह्यो र यसलाई ‘आयुर्वेद क्याम्पस’ नामकरण गरियो । त्यसअघिका आयुर्वेद मध्यमा, आयुर्वेद शास्त्री, आयुर्वेदाचार्य कार्यक्रम बन्द भए । वि.सं. २०३७ देखि वार्षिक परीक्षा प्रणालीअन्तर्गत आयुर्वेद तथा सामान्य चिकित्सा प्रवीणता प्रमाणपत्र तह तीन वर्षको अध्ययन अवधि राखी सञ्चालन गरियो । वि.सं. २०४४ सालमा सहायक आयुर्वेद कार्यकर्ता, प्रवीणता प्रमाणपत्र तह र बीएएमएस (स्नातक) तहको कार्यक्रम प्रारम्भ गरियो । वि.सं. २०४४–४५ सालमा सहायक आयुर्वेद कार्यकर्ता तहको कार्यक्रम दुई व्याच सञ्चालन भएपछि स्थगित भयो । वि.सं. २०५३÷५५ सम्म आयुर्वेद विभागले तीन वर्ष सञ्चालन ग¥यो । त्यो पनि बन्द भयो । प्रवीणता प्रमाणपत्र तह वि.सं. २०५१ पछि स्थगित गरियो । बीएएमएस (स्नातक)तहको कार्यक्रमका विद्यार्थीले २०४६–४७ को आन्दोलनपश्चात् बीएएमएमएसमा परिणत गराएपछि बन्द भयो । वि.सं.२०५३ देखि बीएएमएस (स्नातक)तहको शिक्षा पुनः सुरु भयो, जुन अद्यापि चालू छ ।

विश्वप्रभाव
आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदलाई पनि महìवका साथ हेर्ने मुलुकहरूमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मोरिसस, थाइल्याण्ड, म्यानमार, इण्डोनेशिया, हङ्गेरी एवं जर्मन पर्दछन् । लामो समयदेखि भएको अध्ययन–अनुसन्धानले आयुर्वेदिक ‘फर्म‘लेसन’ हरूको अत्यन्त शक्तिशाली र प्रभावकारी तागत भनेकै शरीरको कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तìवहरू शरीरलाई उपलब्ध गराउन खानाकै प्रकृतिको औषधीय गुणयुक्त पदार्थको विकास गरिनु हो । जहाँ जुन–जुन तìवहरूको खाँचो शरीरलाई परिरहेको छ, त्यो उपलब्ध हुने अवस्थामा रहने निश्चित गरी प्रारम्भिक अवस्थामै त्यसको इन्जिनियरिङ (नापजोख)गर्ने प्रविधिको विकास हो भनी स्वीकार्न थालिएको छ ।
अहिले कोभिड १९ जस्तो महामारीले संसारलाई त्रस्त तुल्याउँदा मानिसलाई जिउने आशाको रूपमा स्वस्थ्य जीवनयापनका लागि आयुर्वेदिक जीवनशैली, प्रकृतिमैत्री जीविका, खानपान र जडीबुटीहरूको फाइदा, उपादेयता र प्रभावकारिताबारे विश्वलाई नै सकारात्मक पाठ मिलेको छ । हाम्रो आफ्नै कमीकमजोरी, अज्ञानता र अनभिज्ञताले संसारलाई आयुर्वेदिक पद्धति र निदानका उपायहरूको बारेमा राम्ररी अध्ययन÷अनुसन्धान गरेर जानकार बनाउन नसक्नु ठूलो कमजोरी हो । हामीकहाँ भएको जडीबुटीहरूको उपयोग गरेर औषधिहरू तयार पार्ने हो भने नेपालमा यसै फ्यालिइरहेका या सिन्कीको भाउमा बिक्री भइरहेका जडीबुटीहरूबाट आर्थिक तरक्की गर्न सक्ने ठूलो सम्भावना छ । नेपाललाई आयुर्वेदको ‘जननीभूमि’ को रूपमा गौरवान्वित
गर्न सकिनेछ ।
(लेखक संस्कृतिविद् हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?