आर. सी. न्यौपाने
राजनीतिक पार्टीहरूमा विभिन्न विचारको बीचमा विरोध र सङ्घर्ष चलिरहन्छ । यसलाई समाजमा विद्यमान वर्गहरूबीच तथा नयाँ पुराना चिन्तनका बीच आउने अन्तरविरोधको प्रतिविम्बनको रूपमा लिनुपर्छ । कुनै पनि राजनीतिक पार्टीमा अन्तरविरोध सिर्जना नभएमा अर्थात् अन्तरविरोध समाधानका लागि विचारधारात्मक सङ्घर्ष नभएमा त्यो पार्टी जीवन्त पार्टी रहन सक्दैन । मूलतः वस्तुगत अन्तरविरोधहरू चिन्तनमा प्रतिविम्बित भएर प्रकट हुन्छ । मानिसको चिन्तनमा आउने विविध समस्यालाई समाधान गर्ने आधार निर्माण गर्छ ।
हरेक वस्तु वा चिन्तन राजनीतिक पार्टीहरूको विकासको प्रक्रियामा अन्तरविरोध अनिवार्य मानिन्छ । कुनै पनि वस्तुको गतिको साधारण रूपमा होस् वा कठिन परिस्थितिमा नै किन नहोस्, वस्तुगत घटना होस् या विचारधारात्मक घटनामा अन्तरविरोध सर्वव्यापी निरपेक्ष हुन्छ । त्यसैले भनिन्छ – एकता सापेक्ष हुन्छ तर अन्तरविरोध निरपेक्ष हुन्छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको अन्तरविरोध समाज र प्रकृति, उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध हो । किसान वर्ग र पुँजीपति वर्गबीचको अन्तरविरोध हो । सिद्धान्त र व्यवहारबीच देखिएको बेमेलको अन्तरविरोध हो । आत्मकेन्द्रित अवसरवादी र तिनका गुटहरूबीचको अन्तरविरोध हो । नोकरशाही वर्ग र आम जनताबीच अन्तरविरोध छ । सिद्धान्ततः आम जनता र एकाधिकार दलाल पुँजीवादी शक्तिबीचको अन्तरविरोध आन्तरिक अन्तरविरोध हो ।
दोस्रो अन्तरविरोध, नेपाल र साम्राज्यवादबीचको अन्तरविरोध रहेको छ । यो हरेक वस्तु घटना अर्थात् चिन्तनमा पनि छ । कतै देश आर्थिक, राजनीतिक, सांस्कृतिक समग्र रूपबाट सङ्कटको भुमरीमा परेको
होइन ? प्रश्न गम्भीर छ । ठीक यसै स्थ्तििको गहिरो समीक्षा गर्दा सत्ताधारी नेकपा एवम् यसका नेताहरू मुलुकको अवस्थाप्रति गम्भीर हुनुपर्ने अवस्था छ । नेकपाभित्रको अन्तरविरोध अर्थात् नेपाली समाजको अन्तरविरोधलाई समग्रताबाट बुझ्नुपर्छ । नेकपाका जडसूत्रवादीहरू कुनै पनि चिजको ठोस रूपमा विश्लेषण गर्न सक्दैनन् । उनीहरू आफ्नो दिमागको सही प्रयोग गर्दैनन् । अन्तरविरोधको बुझाइ तथा समाधानमा उनीहरूका भाषण, लेखमा विषयवस्तुको ज्ञानको अभाव देखिन्छ । यसो हुनु खराब कुरा हो । पार्टीभित्र देखिएका कुनै पनि समस्या समाधानमा मनोगतवाद, एकाङ्गीपन र टपर्टुइयाँ उग्रवामपन्थ प्रवृत्ति बाधक तìव हुन् ।
मनोगतवादी हुनुको अर्थ कुनै पनि विषयलाई ठोस वस्तुगत रूपले हेर्न नसक्नु हो । समस्याहरूलाई हेर्दा भौतिकवादी दृष्टिकोणभन्दा भिन्न दृष्टिकोणले हेर्नु । एकाङ्गी हुनुको अर्थ समस्याहरूलाई सर्वाङ्गीण तवरबाट नहेर्नु, अनुकूल स्थितिलाई मात्र हेर्नु, प्रतिकूल स्थितिलाई नबुझ्नु, अतितलाई मात्र बुझ्नु, भविष्यलाई नबुझ्नु, अलग–अलग हिस्सालाई मात्र बुझ्नु तर सम्पूर्णतालाई नबुझ्नु, सम्पूर्ण चिजलाई नदेख्नु, अंशलाई मात्र देख्नु, रुखलाई देख्नु तर जङ्गललाई नेदख्नु । नेताहरूमा यस्तो प्रवृत्ति रहेसम्म अन्तरविरोध समाधानको विधि पनि पत्ता लाग्न सक्दैन र सकिँदैन ।
अहिले नेकपाभित्रका समस्याहरू नेतृत्वहरूको एकाङ्गीपनका कारण सिर्जना भएका र झ्याङ्गिएका हुन् । प्रचण्ड, माधवको हरेक वस्तु र घटनालाई हेर्ने एकाङ्गीपनका कारण पार्टीमा समस्या देखिएको छ । पार्टीभित्रका समस्याहरू समाधानमा विषयवस्तुको सर्वाङ्गीण दृष्टिगोचर पु¥याउन सके कमी–कमजोरीबाट आन्दोलनलाई जोगाउन सकिन्छ ।
टपर्टुइयाँको अर्थ हो– कुनै पनि वस्तु वा घटनाका अन्तरविरोधका विशेषताहरूमा उचित ध्यान नदिनु र प्रत्येक पक्षका विशेषताहरूमा खास ख्यान दिन नसक्नु, कुनै पनि वस्तुको गहन रूपले अन्वेषण गर्नुपर्नेमा त्यसो नगर्नु । विषयलाई टाढाबाट हेर्ने, गहन रूपले नलिने, यसरी एकाङ्गी र टपर्टुइयाँ प्रवृत्तिको अर्थ मनोगतवादी हुनु हो ।
यो निश्चित हो कि कुनै पनि घटना प्रवाहको क्षेत्रमा अन्तरनिहित विशिष्ट अन्तरविरोध विज्ञानकै नियम हो । गणितशास्त्रमा धनात्मक र ऋणात्मक अङ्कहरू, यन्त्रविज्ञानमा क्रिया र प्रतिक्रिया, भौतिकशास्त्रमा धनात्मक र ऋणात्मक, विद्युत् र रसायन शास्त्रमा विच्छेद र मेल, सामाजिक विज्ञानमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध, वर्ग तथा वर्गसङ्घर्ष, सैनिक विज्ञानमा हमला र सुरक्षा, दर्शनमा आदर्शवाद र भौतिकवाद, अध्यात्मवादी दृष्टिकोण र द्वन्द्ववादी दृष्टिकोण । यी सबै गहन अध्ययनका विषय हुन् । यी सबैमा आआफ्ना खालका विशिष्ट अन्तरविरोधहरू हुन्छन् । यी अन्तरविरोधको कारण तथा सर्वव्यापीकरणलाई नबुझिकन चिजको गति र विकासको आधार पत्ता लगाउन सकिँदैन ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको नेकपा (नेकपा) ले राष्ट्रियता, सुशासन, जनजीविकाका मुद्दा संस्थागत गरी लोकतन्त्रको संस्थागत गर्नुपर्छ । सरकार र पार्टीविरुद्धका यावत् षड्यन्त्र प्रपञ्च चिर्न पार्टीभित्रको अन्तरविरोधको उचित निकासमा सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु नेकपा नेतृत्व र सरकार बेलैमा सचेत बन्नुपर्छ । जननिर्वाचित ओली नेतृत्वको सरकारलाई विस्थापित गरी सरकार बदल्ने प्रपञ्च वस्तुगत आत्मकेन्द्रित अवसरवादी षड्यन्त्र हो । सरकारका केही सीमाका बावजुद मनगढन्ते र कपोलकल्पित दुष्प्रचारद्वारा जनतालाई भ्रम हुने, पार्टीका कार्यकर्ता पङ्क्तिलाई उत्तेजित पारी आफ्नै पार्टी र सरकारको विरुद्ध द्वन्द्वमा धकेल्ने षडयन्त्र असफल पार्नुपर्छ । आफ्नै पार्टी र सरकारको विरुद्ध विधर्मी काँग्रेससँग अपवित्र गठबन्धनको रणनीतिमा लागेकाहरूलाई सहमति र सहकार्यको सबक सिकाउन जरुरी छ ।
अतितमुखी चिन्तन र यथास्थितिवादी राजनीतिको पक्षपोषण जनताको चाहना होइन । प्रतिक्रियावादी मनोकाङ्क्षा र रणनीतिलाई गलत सिद्ध गर्न पार्टी तथा सरकारले लोकतान्त्रिक मान्यताभित्र रही जनादेशको व्यवहारतः कार्यान्वयनमा साँच्चै इमानदार बन्नुपर्छ । राष्ट्रको सुरक्षा संवेदनशीलता अन्तर्राष्ट्रिय मान्यता र संवैधानिक सर्वोच्चतामा सरकार दृढ प्रतिबद्ध बन्नुपर्छ । राष्ट्रियता र जनतन्त्रको विकासमा सरकार एवम् नेकपा (नेकपा) जिम्मेवार बनेर थप कार्ययोजना प्रस्तुत गर्नुपर्छ । आफ्नै पार्टीविरुद्ध आफ्नैले गरेका प्रदर्शन, विरोध कार्यक्रमलाई मिहीन पाराले मूल्याङ्कन गरी उनीहरूलाई सहमति र सहकार्यमा ल्याउन सक्दो प्रयास गर्नुपर्छ । नेकपामा देखिएको अन्तरविरोध विस्तारै शत्रुतापूर्ण हुँदै गएको छ । अहिले पार्टीभित्रका सहकर्मीहरूमा सबै पक्षबाट भए गरेका कमी–कमजोरी शत्रुतापूर्ण तवरबाट होइन, मित्रतापूर्ण अन्तरविरोधको माध्यमबाट हल गर्न सक्नुपर्छ । कमी–कमजोरी गरेका नेताहरूले आफ्ना कमजोरी सुधार्न सकेको खण्डमा अन्तरविरोध शत्रुतापूर्ण हुने छैन । कमजोरीबाट शिक्षा लिएर सबैले सुध्रिने मौका पाउनुपर्छ । कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोधको समाधान आलोचना र आत्मालोचनाको विधिद्वारा गर्नुपर्छ ।
नेकपाभित्र दक्षिणपन्थी, मध्यपन्थी तथा वाम अवसरवादका प्रभावहरू छन् । त्यो विकृत प्रभावलाई राजनीतिक धु्रवीकरणको माध्यमबाट एकता–सङ्घर्ष–रूपान्तरणको अविच्छिन्न शृङ्खलाको माध्यमबाट रूपान्तरणको दिशामा लैजानुपर्छ । आफ्नै पार्टीभित्रका नेतामा निहीत टपर्टुइयाँ उग्रवामपन्थ र बाहिरका विपक्षीहरूद्वारा प्रायोजित दुष्प्रचारको भ्रमबाट आम जनतालाई मुक्त राख्न ओली नेतृत्वको सरकार र नेकपा (नेकपा) जनताप्रति जिम्मेवार र जवाफदेही बन्नैपर्छ ।
(लेखक प्रगतिशील लेखक सङ्घ, नेपालका उपमहासचिव हुनुहुन्छ ।)