ज्ञाननिष्ठ ज्ञवाली
मानिस वा कुनै पनि प्राणीलाई गर्भावस्थादेखि नै खानुपर्छ । हुन त खानका लागि जन्मने पक्कै होइन तर सबथोक गर्नका लागि खानुपर्छ । खानेकला जानिएन भने केही गर्न सकिँदैन । जीवनको गन्तव्यमा पुग्न पनि मुस्किलै पर्छ ।
नेपाली वृहत् शब्दकोश (२०७५, पृ. २७५) मा ‘खानु’ शब्दका विभिन्न अर्थ दिइएका छन् । तीमध्ये खानेकुरा मुखमा हाली चपाइ वा नचपाइ निल्नु, भोजन गर्नु भन्ने अर्थ यस लेखाइको सन्दर्भमा नजिक छ । नास्ता (खाजा, अर्नी, ब्रेकफास्ट), खाना (लन्च, डिनर) र अन्य खानेकुरा मिलाएर खान जानिएन भने हामीलाई समस्या उत्पन्न हुन्छ । त्यसकारण हरेक कुरा खाँदा वा पिउँदा सबै तारतम्य मिलाउनुपर्छ ।
कुन समयमा के खाने ? कसरी खाने ? भन्ने विषयमा जान्नु नै खानेकलाबारे जान्नु हो । यो कला जानेमा हाम्रो शरीरलाई निकै फाइदा पुग्छ । समय मिलाएर खानका लागि त्यसको सङ्कलन गर्न पनि जान्नुपर्छ । निश्चित समयमा अन्न सङ्कलन गरेर त्यसलाई मिलाएर ग्रहण गर्नुपर्छ । अन्न सङ्कलनबारेमा ऋग्वेद (पृ. १०३३) मा यसो भनिएको छ– अन्नको सङ्ग्रह गरेर हामी अति राम्रो द्रव्य दान गर्न प्रस्तुत छौँ । सूत्रजस्तै यज्ञ हामी विस्तृत गर्छौं र यज्ञबाट उषादेवीको स्तुति गर्छौं
(दसौँ मण्डल सूक्त– १७२, श्लोक ३, अनु. तिलकप्रसाद लुइँटेल, २०६३) ।
त्यस्तै अन्न प्राप्तिकै लागि यजुर्वेद (पृ. १) मा यस्तो प्रार्थना रहेको पाइन्छ–
हे यज्ञका साधकहरू हो ।
अन्न प्राप्तिका लागि सविता देवताले तिमीहरूलाई
अघि सारून् ।
सृष्टिकर्ताले तिमीहरूलाई तेजस्वी बन्नका लागि
प्रेरित गरून् ।
तिमीहरू सबै प्राणस्वरूप हौ । सृष्टिकर्ताले श्रेष्ठ कर्मका लागि तिमीहरूलाई अघि सारून् ।
तिमीहरूको शक्ति विनाशक नभई उन्नतिशील होस् ।
आफ्ना उत्पादनको एक भाग इन्द्रलाई प्रदान गर ।
आरोग्य सम्पन्न भएर क्षय आदि रोगबाट मुक्त होओ ।
चोरीचकारी गर्नेहरूले तिमीहरूलाई चलाउन नसकून् ।
तिमीहरू दुष्टका संरक्षणमा नहोओ ।
मातृभूमिको रक्षाको छत्रछाँयामा रहेर सज्जनको सङ्ख्या वृद्धि गर र याचकका पशु आदि धनको रक्षा गर ।
(पहिलो अध्याय, श्लोक १, अनु. लुइँटेल २०६६ ः १४)
अथर्ववेदको एघारौँ काण्डका तीन र चारका ओदन सूक्तहरूमा अन्नसम्बन्धी विभिन्न मन्त्रहरू दिइएका छन् । ती मन्त्रहरूले कसरी खाने भन्ने कुरा पनि औँल्याएको पाइन्छ ।
ती महŒवपूर्ण मन्त्रमध्ये ओदन सूक्त चारको चौधौँ मन्त्रको आशय यस्तो पाइन्छ–
पहिलेका ऋषिहरूको भन्दा भिन्न अन्न खाएका छौ भनेदेखि तिम्रा घुँडाहरू सुकेर तिम्रो विनाश हुनेछ, भनेर अन्न प्रासन गर्नेलाई भनिदिऊँ । मैले यो अन्न अभिमुख वा पराङ्मुख भएर होइन, बरु त्वष्टादेवतारूपी घुँडाले सेवन गरेको हुँ र त्यसैबाट यस अन्नले प्रदान गर्ने वाञ्छित फल प्राप्त गरेको छु, यसमा मेरा घुँडा सुकेर मेरो विनाश हुने सम्भावना छैन । यसकिसिमले प्रासन गरिएका ओदनले सबै अङ्ग र अवयवहरूमा पूर्णता प्रदान गर्छ भनेर अन्न प्रासन गर्नेले भनोस् । यस किमिसको कुरो जसले जान्छ, उही नै सर्वाङ्गसम्पन्न भएर फल प्राप्त गर्दै पुण्यमय स्वर्ग आदि लोकहरूका सबै किसिमका अभीष्ट फल प्राप्त गर्छ (अनु. तिलकप्रसाद लुइँटेल, २०६३ ः २६३) ।
वैदिककालदेखि नै खानका लागि अन्न प्राप्ति, उत्पादन र सङ्ग्रहका बारेमा प्रार्थना गरिएको पाइन्छ । यसकारण खानु शरीरका लागि आवश्यक धर्म हो भन्न सकिन्छ । धर्मकर्म गर्नका लागि पनि स्वस्थ शरीर त चाहिन्छ नै । त्यसैले श्रीमद्भागवद्गीतामा शरीरलाई धर्म गर्ने माध्यम भनिएको छ ।
हरेक कुराको कला भएझैँ खाने क्रियामा पनि कला चाहिन्छ । कला भन्नाले ‘कुनै पनि काम राम्रोसित गर्ने सीप, कौशल आदि व्यवहारोपयोगी चौसठ््ठी कला, कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढङ्ग, जुक्ति’ (नेपाली वृहत् शब्दकोश, २०७५ ः १९७–१९८) भन्ने अर्थलाई हेर्दा खानेकला भन्नाले खाने सीप, खानका लागि पोख्त भन्ने बुझिन्छ । खान त पशुपक्षीलगायत सबै प्राणीले खाएकै हुन्छन् । चरा मुसाले पनि खाएर आफ्नो प्राण बचाएकै हुन्छन् । खाने, निदाउने, डर मान्ने र सन्तान जन्माउने काम त पशु र मानिसबीच समान कुरा हुन् । यति भए पनि मानिसमा एउटा विशेष गुण फरक हुन्छ, त्यो हो विवेक । विवेकशील मानिसले पशुले झैँ जथाभावी खाने, हिँड्ने, डुल्ने र जे पायो त्यही गर्ने गर्दैन । ऊ विचार गर्छ । जुक्ति लगाउँछ । विवेक प्रयोग गर्छ र अगाडि बढ्छ । यसरी अगाडि बढेमा मानिस सफल र असल बन्न सक्तछ । हामी मूलतः तीनप्रकारका आहारलाई महŒव दिएर अगाडि बढ्दा फाइदा पुग्छ । ती यसप्रकार छन्– हिताहार, ऋताहार र मिताहार ।
हिताहार
हिताहार भनेको शरीरलाई हित हुने आहार हो । जुन कुराले हाम्रो शरीरलाई हित गर्छ, त्यही कुरा खानु राम्रो हो । हरेक मानिसको शारीरिक बनोट र उसको सानैदेखिको अवस्थाअनुसार पनि आहार निर्धारण हुन्छ । आफ्नो शरीरबारे आफैँलाई बढी थाहा हुन्छ । त्यसैले विचार गरेर आफ्नो शरीरअनुकूल आहार गर्नुपर्छ । हितकारी आहार गर्नुपर्छ ।
ऋताहार
ऋताहार भनेको ऋतुअनुसारको आहार हो । १२ महिनामा छ ऋतु पर्छन् । हामीले जाडो, गर्मी, चिसो, तातो मौसमअनुसार आहारमा पनि विशेष ध्यान दिनुपर्छ ।
मिताहार
मिताहार भनेको मितव्ययी ढङ्गले अनुशासनपूर्वक गरिने आहार हो । आफ्नो रुचि र मात्राअनुसार वा आफूलाई कति खाँदा ठीक हुन्छ, त्यहीअनुसार आहार गर्नुपर्छ । आफूलाई चाहिनेभन्दा बढी मात्रामा भोजन गर्नुहुँदैन । हाम्रो पेटका चार भागमध्ये दुई भाग खाना, एक भाग पानी र एक भाग खाली राखेमा हामीलाई सहज हुन्छ । कुनै कुरा खाऊँखाऊँ लाग्दालाग्दै खान पूरा गर्नुपर्छ अर्थात् मीठो पाइयो भनेर पेट
चर्किनेगरी खानुहुँदैन ।
आहार पदको सामान्य अर्थ भोजन हो । भोजन शुद्ध हुनुपर्छ । भोजन बनाउने ठाउँ र भाँडा शुद्ध हुनुपर्छ । भोजन बनाउने मान्छेले पनि प्रसन्न भएर बनाउनुपर्छ । भोजन सामग्री किन्ने धन पनि इमानदारीपूर्वक कमाएको हुनुपर्छ । यसपछि बनाइएको भोजन ग्रहण गरेमा मन शुद्ध हुन्छ । त्यसैले भोजन सबै प्रकारबाट शुद्ध हुनुपर्छ (खप्तड स्वामी) ।
यसरी खाने तरिकामात्र राम्रो भएर, भव्य तरिकाले खाने काम गरेरमात्र पनि हुँदैन । हामीले खानेकुरा कहाँबाट कसरी आएको छ ? त्यो पनि पत्ता लगाउनुपर्छ । भ्रष्टाचार गरेर कमाएको खानेकुरा हाम्रा मुखमा प¥यो भने त्यसले क्षणिक सुखभोग त होला तर वास्तविक आनन्द प्राप्त हुने छैन ।
आफैँले गरेको भ्रष्टाचार व्यक्ति आफैँलाई त थाहा हुन्छ, समयक्रममा त्यो अरूले पनि बुझ्छन् । यसैले सादा जीवन, सादा खाना, सादा पहिरन, उच्च विचार, असल विचार, यही कुरालाई मूल मन्त्र बनाएर हाम्रो जीवन अगाडि बढाऔँ । सुखी होऔँ । खुसी होऔँ । खानेकुरामा आशक्त नबनौँ । स्वादे जिब्रोलाई नियन्त्रणमा राखौँ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)