दिनेश बस्नेत
कसैको कुभलो नचिताउने सिद्धान्तका खम्बा क्याप्टेन गङ्गाबहादुर खत्री । समाजसेवी, राजनीतिक निष्ठाका प्रतिमूर्ति र सफल अभिभावक पनि । परिवारको मात्र नभई, गाउँ, समाजका पनि अभिभावक । जति शब्द खर्चेर बयान गरे पनि उहाँका बारेमा अपर्याप्त हुन्छ । अब त उहाँ जीवनको उत्तराद्र्धमा पुगिसक्नुभएको छ । डिट्ठा तिलकबहादुर खत्री र मङ्गलीकुमारी खत्रीका कान्छो छोराका रूपमा उहाँकोे जन्म विक्रम संवत् १९९३ माघ १ गते भएको हो ।
विसं २००७ तिरको कुरा हो, क्याप्टेन गङ्गाबहादुर खत्री १४ वर्ष छँदा बुवाको पछि–पछि लागेर पोखरा बजार हेर्न जानुभएको थियो । यो बेला नेपाली काँग्रेसको नेतृत्वमा राणा शासनविरुद्ध जनआन्दोलन उत्कर्षमा पुगेको थियो । जिल्लामा आफ्नो पहिचान बनाउनुभएका उहाँका बुवा(डिट्ठा तिलकबहादुर खत्री) पनि नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । किशोर छोरासहित बुवा आन्दोलनमा सक्रिय हुनुभयो । २००७ साल पुस २६ गते बुवासँगै उहाँलाई पनि गिरफ्तार गरियो ।
जनआन्दोलन दबाउन उद्दत सरकारले तिलकबहादुरलाई कठोर र त्रूmर यातना दियो । त्यसबेलाको बन्दी जीवन सम्झँदै गङ्गाबहादुर भन्नुहुन्छ, ‘४२ दिनसम्म जेलमा राखियो । २००७ फागुन ७ गतेमात्र हामी जेलबाट रिहा भयौँ । यहीबेलादेखि मेरो मनमस्तिष्कमा राजनीतिले बीउ रोप्यो । अर्थात् बुवाको पछाडि लाग्दा जेलमा पुगेपछि म जानी नजानी काँग्रेस भएँ । काँग्रेसप्रतिको मेरो झुकाव उमेरको चेतना सँगसँगै बढ्दै गयो । तर, राजनीतिलाई आफ्नो पेसाका रूपमा बनाउन मन लागेन । अहिले आएर लाग्छ, राजनीतिलाई मात्र महŒव दिएको भए ‘म’ पनि ठूलै मान्छे हुन्थे हुँला । तर, विनाकुनै उद्यम, पेसा, व्यवसाय राजनीतिमात्रैको भरोसामा हिँड्दा ‘म’ पनि अहिलेका नेताहरूजस्तो बदनाम
पो हुन्थेँ कि ।’
एउटा लाहुरे हुन आवश्यक पर्ने शारीरिक बनोट उहाँमा थियो । स्कुल पढ्दाखेरि नै विभिन्न खेलमा रुचि राख्नुहुन्थ्यो । उहाँलाई देख्नेबित्तिकै कर्णेल गुप्तबहादुर गुरुङले सोधेछन्, ‘ओई केटा, लाहुरे हुने हो ?’ बुवासँग सिकार खेल्न आउँदा उहाँसँग चिनापर्ची भएको थियो । गङ्गाबहादुरले बुवालाई सोध्नुपर्छ भनेपछि कर्णेल गुप्तबहादुरले उहाँका बुवालाई सम्झाएर मनाएछन् र भर्ती गराउन लगेछन् । उहाँ भन्नुहुन्छ, ‘म र प्रेमजङ्ग खत्री एकैचोटि भर्ती भएका हौँ । महेन्द्र दल बटालियनमा प¥यौँ । पल्टनको आफ्नै काइदा कानुन थियो । अहिले सुन्दा अचम्म लाग्ला, हामी जुत्ता फुकालेर भान्छामा खाना खान जान्थ्यौँ । चौकामा जान पाइँदैनथ्यो । हाम्रो तलब २० रुपियाँ थियो । लालटिन पाकेटमारा चुरोट पाँच पैसामा एक पाकेट पाइन्थ्यो । गाउँमा आउँदा पाँच पाकेटजति चुरोट किनेर ल्याउँथे । घर आएपछि गाउँमा ‘नेपाली लाहुरेले चुरोट ल्याएको छ अरे खान पाइन्छ’ भनेर झुम्मिन्थे । पैसाको असाध्यै महŒव
थियो त्यतिबेला ।’
उहाँले चार वर्ष नेपाली सेनामा जागिर खानुभयो । २०१३ सालमा महेन्द्रको शुभराज्याभिषेकका लागि छनोट भएर पोखराबाट हिँडेर काठमाडौँ जानुभएको थियो । त्यतिबेला यातायातको साधन थिएन । पछि साथी सँगातीको लहैलहैमा भारतीय सेनामा भर्ती हुन पुग्नुभयो । भारतीय सेनामा पनि उहाँले आफ्नो क्षमता र साहस प्रदर्शन गर्न कुनै कसर बाँकी राख्नुभएन । कुनै पनि चुनौतीपूर्ण कार्यमा उहाँलाई नै अगाडि सार्थे । उहाँले सन् १९६५ र १९७१ को ठूला युद्ध लड्नुभयो । सन् १९६५ मा पाकिस्तान बोर्डर (सीमाक्षेत्र)मा र सन् १९७१ मा बङ्गलादेशलाई स्वतन्त्र बनाउनका लागि भारतीय सेनाको तर्पmबाट युद्धमा सामेल हुनुभयो । ती युद्धको सम्झना गर्दै उहाँ भन्नुहुन्छ, ‘हामीले देखाएको बहादुरीको प्रशंसा भारतीय सेनाका अधिकृतले पछिसम्म गरिरहन्थे । तिनै अधिकृतसँगको उठबसले मैले धेरैजना गाउँका युवालाई भर्ती गर्न सकेँ ।’
उहाँ २८ वर्ष लामो सेवापछि भारतीय सेनाबाट अवकाश हुनुभयो । अवकाशपछि पनि उहाँलाई भारतीय दूतावासले बागलुङमा डिस्ट्रिक सोल्जर बोर्डको सेक्रेटरीका रूपमा जिम्मेवारी वहन गर्नका लागि आग्रह ग¥यो । उहाँ फेरि जागिरमा जोडिनुभयो । सन् १९८६ देखि १९८८ सम्म भूपूसैनिकको हितमा कल्याणकारी कार्य गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘बागलुङमा धेरै विकट ठाउँमा खानेपानी, बाटोघाटो स्कुललाई आर्थिक सहयोग, छात्रवृत्तिजस्ता कल्याणकारी काममा सरिक हुने मौका मलाई दूतावासले दिएर जनतासँग प्रत्यक्ष साक्षात् हुने मौका पाएँ । ग्रामीण परिवेशका मानिस कतिसम्म अभाव, दुःख र पीडामा गुज्रेका हुँदारहेछन्, त्यसलाई आत्मसात् गर्ने मौका पाएँ ।’
त्यसपछिका दिन उहाँको मनोकामना अनुकूल बन्यो । अर्थात् नेपाली काँग्रेस पक्षधर राजनीतिमा समय दिन पाउनुभयो । केन्द्रीयस्तरका नेताहरूसँग उहाँको चिनापर्ची थियो । बागलुङबाट अवकाश लिएपछि उहाँलाई नेपाली काँग्रेस पार्र्टीले स्थानीयस्तरको जिम्मेवारी दियो । २०४७ सालबाट २०७० सालसम्म निरन्तर कास्कीको भलाम नेपाली काँग्रेस इकाइ समिति सभापतिका रूपमा उहाँले कार्यभार सम्हाल्नुभयो । पछि उहाँलाई जिल्ला सदस्य बनाइयो । उहाँ नेपाली कांँग्रेस, ज्येष्ठ राजनीतिज्ञसभाको केन्द्रीय सदस्यमा पनि मनोनीत हुनुभयो । राजनीति र समाजसेवा एउटै सिक्काको दुईटा पाटा ठान्नुहुन्छ र राजनीति सामाजिक भावनाबाट ओतप्रोत हुुनुपर्छ भन्नुहुन्छ उहाँ ।
गाउँमा कसैलाई अप्ठेरो पर्दा होस् या सन्धिसर्पन पर्दा होस्, पहिलो झमटमै सम्झने व्यक्तिमध्ये पर्नुहुन्छ उहाँ । गाउँमा न्यायनिसाफमा सरिक हुँदा उहाँले कसैको पक्ष लिनुभएन । सधैँ सत्य र न्यायको पक्षमा बोल्नुहुन्थ्यो । त्यसरी बोल्दा आफ्नो स्वार्थअनुकूल नबन्दा कसै–कसैले दुस्मनी साँध्ने गरेको अनुभव पनि उहाँसँग प्रशस्त छ । तर, उहाँ त्यसको कुनै पर्वाह गर्नुहुन्न । राजनीतिमा क्रियाशील धेरै व्यक्ति स्वार्थ र पदका लागि लालायित हुन्छन् । सैद्धान्तिक निष्ठा र इमानदारीलाई पनि गौण ठान्छन् । निजी स्वार्थ पूरा नहुँदा पार्टीको गुट उपगुटमा समावेश हुन्छन् । पार्टी परिवर्तन गर्नसमेत पछि पर्दैन । तर, उहाँले राजनीतिमा यस्तो विचारलाई कहिल्यै आउन दिनुभएन । पोखरा महानगरपालिका वडा नम्बर २० मा उहाँले धेरै सामाजिक कामको नेतृत्व लिनुभयो । हरिहर वन उपभोक्ता समितिको अध्यक्ष भएर २०४९ देखि २०७१ सालसम्म सेवारत रहनुभयो । भलाम प्रावि व्यवस्थापन समितिको अध्यक्ष २०४९ देखि २०५३ सालसम्म र पुनः २०५९ देखि २०६१ सालसम्म हुनुभयो ।
समाजबाट अपेक्षा गर्ने होइन, समाजलाई केही दिन सक्ने क्षमता राख्नुपर्छ भन्नुहुन्छ उहाँ । जीवनमा कसैको कुभलो नचिताएको र बेइमानीको कमाइ एक पैसा नभिœयाएकाले अहिले बुढेसकालमा उहाँलाई पछुताउनुपरेको छैन । कपुर राखेको कपडामा कपुर सकिए पनि बास्ना रहिरहन्छ, त्यस्तै बास्ना छोडेर जान सकियो भने जीवन सफल हुने उहाँको भनाइ छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)